देशकै शान, एनपीएलको भव्य समापन
रासंसा/काठमाण्डौ, पौष ०७,
मुलुकमा जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो। यसअघि टस जितेर ब्याटिङको निर्णय गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल तयार पारेको थियो। सुदूरपश्चिमका सैफ अली जैबको अर्धशतकीय पालिमा सुदूरपश्चिमले विशाल योगफल खडा गरेको हो। जैबले ४३ बलमा दुई छक्का र आठ चौकाको सहयोगमा ६९ रन बनाएका थिए। उनले अर्का ओपनर विनोद भण्डारीसँग पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरेका थिए। विनोदले ३१ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ४१ रन बनाएका थिए। यसैगरी ब्रेन्डन म्याकमुलन र हर्मित सिंहले समान १४ रन बनाउँदा स्कट केगुलेइनले १३ रनको योगदान दिए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। जनकपुरका मोहमद मोहसिन र किशोर महतोले तीन÷तीन विकेट लिए। यसैगरी जिमी निसम र ललितनारायण राजवंशीले एक÷एक विकेट हात पारे। सुदूरपश्चिमले दिएको एक सय ८५ रनको विशाल लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो। जनकपुरलाई च्याम्पियन बनाउन ओपनर लाहिरू मिलन्थाले महत्वपूर्ण योगदान दिए। आक्रामक ब्याटिङ गरेका उनले ४९ बलमा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रनको अर्धशतकीय पालि खेलेका थिए। यसैगरी कप्तान आसिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३३ रन बनाए। आसिफले १९ बलमा दुई छक्का र चार चौका तथा थाकरले दुई छक्का हिर्काए। यस्तै मोहमद मोहसिनले नौ, जिमी निसमले चार, आकाश त्रिपाठी र मायन यादवले समान चार रन बनाए। जनकपुरले सुरुवाती ६ ओभरको ब्याटिङ पावरप्लेमा बिना कुनै विकेट ७१ रन जोड्दै सानदार सुरुतात गरेको थियो। लाहिरू मिलान्था र आसिफ शेखले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, सैफ अली जैब, स्कट केगुलेइन र इशान पाण्डेले एक÷एक विकेट लिए।
जनकपुरलाई एनपीएलको पहिलो संस्करणको च्याम्पियन बनाउन अमेरिकाका विकेटकिपर ब्याटर लाहिरू मिलान्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। एनपीएलकै सर्वाधिक रनकर्तासमेत बनेका मिलान्थाको ८७ रनको पालिमा जनकपुर च्याम्पियन बनेको हो। आक्रामक ब्याटिङ गरेका उनले ४९ बलमा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रनको अर्धशतकीय पालि खेलेका थिए। मिलान्था एनपीएलकै सर्वाधिक रन बनाउने खेलाडी पनि बन्न सफल भए। उनले दुई अर्धशतकसहित १० खेलमा दुई सय ९३ रन बनाए। शनिबार सुदूरपश्चिम बनाएको ८७ रन मिलान्था एनपीएलकै सर्वाधिक हो। यसअघि उनले लिग चरणको खेलमा विराटनगर किङ्सविरुद्ध अविजित ७५ रन बनाएका थिए। मिलान्थाले कर्णाली याक्ससँगको दोस्रो क्वालिफायर खेलमा दुई, सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा १२, चितवन राइनोजसँग एक, काठमाडौं गोर्खाजसँग १६, लिग चरणमा सुदूरपश्चिमसँग सात, लुम्बिनी लायन्ससँग २४, पोखरा एभेन्जर्ससँग ४५ र कर्णालीसँग २४ रन बनाएका थिए। मिलान्था एनपीएलमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी पनि बने। उनले १० खेलमा ३५ चौका र नौ छक्का हिर्काएका थिए। शुक्रबार आयोजना गरिएको प्रिम्याच कन्फरेन्समा जनकपुरका कप्तान आसिफ शेखले अघिल्ला दुई खेलमा सुदूरपश्चिमसँग पराजय बेहोरे पनि फाइनलमा उत्कृष्ट खेल पस्किने बताएका थिए। ‘सुदूरपश्चिमसँगको अघिल्ला दुई खेल हाम्रो पक्षमा थिएन। यो कुरा हामीले राम्रोसँग बुझेका छौं। फाइनलमा पुगेपछि विगतको प्रदर्शनले खासै अर्थ राख्दैन। विगतमा जे भयो भयो। अब जसरी पनि उपाधि जित्न नयाँ रणनीतिसहित मैदानमा उत्रिने छौं’, आसिफले पत्रकार सम्मेलनमा भनेका थिए। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले फाइनल प्रतिद्वन्द्वी जनकपुर बोल्ट्ससँग आफूहरू सचेत रहेको शनिबारै बताएका थिए। ‘हामीले जनकपुरलाई यसअघि दुई चोटी हराएका थियौं। तर, पनि हामी जनकपुरलाई सहज रूपमा लिँदैनौं। जनकपुर पनि निकै बलियो टोली हो। लगातार दुई खेल पराजित गरेकाले हाम्रो मनोबल उच्च छ। हामी त्यही मनोभाव लिएर मैदान उत्रिने छौं’, दीपेन्द्रले भनेका थिए। जनकपुरले तेस्रो प्रयासमा सुदूरपश्चिमलाई पराजित गरेको हो। जनकपुरले यसअघि लिग चरण र पहिलो क्वालिफायरमा भोगेको हारको बदला मात्रै लिएन, उपाधिमाथि पनि कब्जा जमाउन सफल भयो। लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो। एक सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरलाई ५१ रनमा समेट्दै सुदूरपश्चिमले प्रभावशाली जित निकालेको थियो। यस्तै दोस्रोपटक पहिलो क्वालिफायरमा भेट हुँदा पनि सुदूरपश्चिमले आठ विकेटको जित निकालेको थियो। जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी र सुदूरपश्चिम रोयल्सका स्कट केगुलेइन संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भए। ललित र केगुलेइनले एनपीएलमा समान १७ विकेट चड्काएका थिए। शनिबार भएको फाइनलमा पनि यी दुवै खेलाडीले एक÷एक विकेट लिए। ललितले सुदूरपश्चिमका विनोद भण्डारीको विकेट लिँदा केगुलेइनले भने आक्रामक ब्याटिङ गरिरहेका लाहिरू मिलान्थालाई पेभेलियनको बाटो देखाएका थिए। तर, फाइनलमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले बलिङ आक्रमणको मोर्चा सम्हालेका थिए। यी दुवै खेलाडीले तीन÷तीन विकेट लिँदै सुदूरपश्चिमको रनको रफ्तारलाई रोकेका थिए। मोहसिनले चार ओभरमा ४० रन खर्चिएका थिए भने किशोरले किफायती बलिङ गर्दै तीन ओभरमा २५ रन मात्रै खर्चिएका थिए। मोहसिनले हरमति सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको विकेट लिएका थिए। यस्तै किशोरले सैफ अली जैब, स्कट केगुलेइन र नरेश बुढाऐरलाई आउट गरेका थिए। पहिलो संस्करणको एनपीएलको उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पायो। यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझायो। यसैगरी तेस्रो स्थान हात पारेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड पायो। विजेतालाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डसँगै गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरेका थिए। नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भएका छन्। सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई ओमोडाको ई–५ ईभी कार प्रदान गरिएको हो। आयोजक क्यानले सर्वोत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख मूल्यको ओमोडाको ई–५ ईभी कार प्रदान गर्ने घोषणा गरेको थियो। दीपेन्द्रले आठ खेलमा एक अर्धशतकसहित दुई सय २७ रन बनाएका छन्। उनले जनकपुरसँगको फाइनलमा नौ रन जोडेका थिए। उनी मोहमद मोसिनको बलमा पेभेलियन फर्किएका थिए। दीपेन्द्रले बल र ब्याटबाट मात्र नभई फिल्डिङ पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई फाइनलमा पु¥याएका थिए। कप्तान भएर पनि बिना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ, बलिङ र फिल्डिङमा आफूलाई प्रमाणित गर्न सक्ने खुबीकै कारण दीपेन्द्र सर्वोत्कृष्ट नेपाली खेलाडीको हकदार बनेका हुन्। पहिलो खेलमै विराटनगरविरुद्ध अविजित ५७ रन बनाएका उनले काठमाडौं गोर्खाजसँग ४३, लुम्बिनी लायन्ससँग ३९ रन जोडेका थिए। यसैगरी चितवनसँगको खेलमा एक रनमै पेभेलियन फर्किएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् भने पोखरा एभेन्जर्ससँग २०, कर्णाली याक्ससँग ३८ र क्वालिफायरमा जनकपुरसँग २० रन बनाएका थिए। यसैगरी दीपेन्द्रले आठ खेलमा आठ विकेट पनि लिएका छन्। पहिलो संस्करणको एनपीएलको प्लेयर अफ दी सिरिज भने सुदूरपश्चिमका सैफ अली जैब बन्न सफल भए। उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। सुदूरपश्चिमका ओपनर ब्याटर सैफले एनपीएलको नौ खेलमा दुई सय ७५ रन बनाएका थिए। उनले फाइनलमा अर्धशतकीय पालि खेलेका थिए। जैबले ४३ बलमा दुई छक्का र आठ चौकाको सहयोगमा ६९ रन बनाएका थिए। उनले १२ विकेट पनि लिएका थिए। यसैगरी एनपीएलको उत्कृष्ट बलर जनकपुरका ललितनारायण राजवंशी घोषित भए। उनले एक थान मोटरसाइकल पुरस्कार पाएका थिए। ललित र सुदूरपश्चिम रोयल्सका स्कट केगुलेइन संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका थिए। उनीहरूले एनपीएलमा समान १७ विकेट चड्काएका थिए। शनिबार भएको फाइनलमा पनि यी दुवै खेलाडीले एक÷एक विकेट लिएका थिए। ललितले सुदूरपश्चिमका विनोद भण्डारीको विकेट लिँदा केगुलेइनले भने आक्रामक ब्याटिङ गरिरहेका लाहिरू मिलान्थालाई पेभेलियनको बाटो देखाएका थिए। कर्णाली याक्सका विपिनप्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारे। उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाए। १६ वर्षीय विपिनले विश्वका चर्चित खेलाडीलाई पेभेलियनको बाटो देखाउँदै आफ्नो क्षमता प्रमाणित गरेका थिए। कर्णालीले विपिनलाई ‘आइकोनिक’ खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरेको थियो। जनकपुर बोल्ट्ससँगको उद्घाटन खेलमा बेञ्चमा बसेका विपिन दोस्रो खेलदेखि लगातार ‘प्लेइङ सेट’मा परेका थिए। टोलीले गरेको भरोसामा खरो उत्रिएका विपिनले आठ खेलमा १३ विकेट लिँदै आफूलाई प्रमाणित गरेका थिए। बायाँ हाते अर्थोडक्स स्पिन बलर विपिन सर्वाधिक विकेट लिने खेलाडीमा चितवन राइनोजका रिजन ढकालसँगै संयुक्त रूपमा तेस्रो स्थानमा रहे। कर्णालीबाट घरेलु क्रिकेट खेल्दै आएका विपिन ट्यालेन्ट हन्टमार्फत टोलीमा छानिएका हुन्। कर्णालीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनको प्रतिभा देखेर नै टोलीमा भिœयाएका थिए। कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो। त्यसपछि ‘आइकोनिक’ खेलाडीका रुपमा विपिनलाई अनुबन्ध गरेको हो। यस्तै इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट जनकपुरका जिमी निसम घोषित भए। उनले दुई लाख रुपैयाँ पुरस्कार पाए। बायाँहाते अर्थोडक्स स्पिन बलर शर्माले बिहीबार जनकपुरको तीन विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिंदै तीन विकेट लिएका थिए। विपिनले जनकपुरका शुभ कंसाकार, मोहमद मोसिन र जिमी निसमको विकेट लिएका थिए। विपिनले जनकपुर बोल्ट्ससँग तीन, चितवन राइनोजसँगको खेलमा एक, सुदूरपश्चिमसँग एक, लुम्बिनी लायन्ससँग एक, पोखरा एभेन्जर्ससँग एक, विराटनगर किङ्ससँग दुई, चितवन राइनोजसँग तीन र काठमाडौं गोर्खाजसँगको खेलमा एक विकेट लिएका थिए। उनले विश्व चर्चित मार्टिन गप्टिल, माइकल लेभिट, सोहेल तनभिर, बेन कटिङ, आन्द्रेस गौस, जान निकोलस लफ्टी इटन, जिमी निसम, मोहमद मोसिनलगायत विदेशी खेलाडीलाई सिकार बनाएका थिए। लिगमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। लिग चरणमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका खेलहरू विश्व चर्चित भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गत मंसिर १५ गतेदेखि प्रतियोगिता सुरु भएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेर एक लाख बढी दर्शकले प्रत्यक्ष खेल हेरेका थिए । क्यानले फाइनल अघिसम्म एक लाखभन्दा बढीले एनपीएलका खेल प्रत्यक्ष उपस्थित भएर हेरेको जनाएको छ। ‘एनपीएलका खेल अहिलेसम्म एक लाख बढी दर्शकले मैदानमै उपस्थित भएर हेरेका छन्। हामीले सोचेभन्दा दर्शकको उपस्थिति धेरै राम्रो छ’, क्यानका प्रवक्ता तथा केन्द्रीय सदस्य छुम्बी लामाले शुक्रबार पत्रकारसँग कुरा गर्दै भनेका थिए। क्यानले प्रतियोगिताका लागि चार प्रकारका टिकट दर निर्धारण गरेको थियो। जसमा उद्घाटन, लिग, प्लेअफ र फाइनलका भिन्दाभिन्दै दरमा टिकटको मूल्य तोकिएको थियो। उद्घाटन खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ सात सय रुपैयाँ तोकिएको थियो। यसैगरी अन्य लिग खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ मूल्य तोकिएको थियो। यस्तै प्लेअफका खेलमा पाँच सय र सात सय तथा फाइनलका लागि साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ मूल्य तोकिएको छ। यसैगरी दर्शकले चार हजार चार सय ८० रुपैयाँमा साधारण र आठ हजार दुई सय ४० रुपैयाँमा भीआईपीतर्फको सिजनल टिकटको व्यवस्था पनि क्यानले गरेको थियो। क्यानले टिकट बिक्रीको ५० प्रतिशत रकम एनपीएलमा सहभागी आठवटै फेन्चाइज टोलीलाई दामासाहीले वितरण गर्ने जनाएको छ।
विजेता (जनकपुर बोल्ट्स) : १ करोड १० लाख
उपविजेता (सुदूरपश्चिम रोयल्स) : ५१ लाख
तेस्रो (कर्णाली याक्स) : २५ लाख
चौथो (चितवन राइनोज) : १५ लाख
फेयर प्ले : लुम्बिनी लायन्स
दीपेन्द्रसिंह ऐरी : सर्वोत्कृष्ट नेपाली खेलाडी, ओमाडा ईभी कार
ललितनारायण राजवंशी : उत्कृष्ट बलर, मोटरसाइकल
सैफ अली जैब : प्लेयर अफ दी सिरिज, पाँच लाख
विपिनप्रसाद शर्मा : इमर्जिङ प्लेयर, ५० हजार नगद र एक लाखको छात्रवृत्तिा
जिमी निसम : इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट, दुई लाख
लाहिरू मिलान्था : सर्वाधिक चौका प्रहार, दुई लाख
