दबाबमा सुदूरपश्चिम र कर्णाली, जनकपुर र चितवनलाई बदला लिने मौका
रासंसा/काठमाण्डौ, पौष २,
मुलुकमा नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार क्वालिफायर र एलिमिनेटर खेलहरू हुँदैछन्। शीर्ष स्थानमा रहेका सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले क्वालिफायर खेल्दैछ भने चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्दैछ। एलिमिनेटरको खेलमा चितवन र कर्णाली याक्स भिड्नेछन्। यी दुई टिमको आँकडा लिग चरणको खेलमा हेर्ने हो भने चितवनले लिग चरणको ४ खेल जित्दा ३ खेल हारेको छ। चितवनले चार खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा रहँदै प्लेअफ खेलेको हो। चितवनले लिग चरणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिमपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजलाई पराजित गरेको हो। कर्णाली याक्स, लुम्बिनी लायन्स र विराटनगर किंग्ससँग भने यो टिमले हार व्यहोरेको थियो। एलिमिनेटरमा खेल्ने चितवन र कर्णालीमध्ये जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम उपाधि दौडबाट बाहिरिनेछ। यता, जनकपुर र सुदूरपश्चिमपश्चिममध्ये जित्ने टिम फाइनल पुग्नेछ भने हार्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायर जित्ने टिम फाइनल पुग्ने छ। यसरी हेर्दा चितवनलाई एलिमिनेटरको खेल कर्णालीसँग लिगको बदला लिने राम्रो मौका पनि हुनेछ। लिगको खेलमा अन्तिम बलमा आएर ६ विकेटले पराजित भएको चितवनको लागि क्वालिफाइ गर्ने राम्रो मौका हुनेछ। समान ८ अंकका साथमा कर्णालीले पनि प्लेअफ खेल्दैछ। पहिलो खेलमा जनकपुरसँग हार व्यहोरेको कर्णालीले दोस्रो खेलमा काठमाडौंसँग पनि हार्यो। त्यसपछि भने लगातार ४ जित निकालेको कर्णालीले चितवन, विराटनगर, पोखरा र लुम्बिनीलाई हरायो। अन्तिम खेलमा भने सुदूरपश्चिमपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भयो। खेलाडीको प्रदर्शन हेर्ने हो भने चितवनका रवि बोपारा र कप्तान कुशल मल्ल ब्याटिङमा ‘प्लेअर टु वाच’ हुन सक्छन्। सोहील तनवीर र रिजन ढकालको बलिङले यो प्रतियोगिताभर नै तहल्का मच्चाएको हो। उनी सर्वाधिक विकेट लिने बलरको लिष्टमा तेस्रो नम्बरमा छन्। उनले ७ खेलमा १३ विकेट लिँदै सुदूरपश्चिमपश्चिमका स्कट केग्गेलिन र ललित राजवंशीलाई पछ्याइरहेका छन्। अंक तालिकामा राम्रो रनरेटका कारण चितवन कर्णालीभन्दा अघि छ। तर, लिग चरणको खेल सकिइसकेको छ। दुवै टिमले एलिमिनेटरमा जित्नकै लागि खेल्नेछन्। नेपालका पूर्व प्रशिक्षक उमेश पटवाल भर्सेस एक समय उनकै चेलाका रूपमा राष्ट्रिय टिममा खेलेका ज्ञानेन्द्र मल्लले आफ्नो रणनीति बनाउनेछन्।त्यस्तै कर्णालीका लागि भने ट्यालेन्ट हन्टबाट आएका विपिन शर्मा निकै घातक सावित भइरहेका खेलाडी हुन्। नन्दन यादवको गतिले ब्याटरलाई उत्तिकै गाह्रो बनाउँछ। सोमपाल कामी आफैं निकै अनुभवी बलर हुन्। जिसन मक्सुद विलियन वासिस्टोजस्ता राम्रा विदेशी खेलाडीको साथ र नेपाली युवा अलराउन्डर गुल्सन झा टिमको तागत हुन्। यो प्रतियोगितामा भने गुल्सन त्यति चल्न सकेका छैनन्। उनको लागि आफ्नो क्षमता देखाउन एलिमिनेटरको खेल निकै महत्त्वपूर्ण हुन सक्छ। सुदूरपश्चिमले ७ खेलमा ६ खेल जित्दै लिगमा उत्कृष्ट लय कायम राखेको छ। बाहिरिने टिमका कप्तान तथा सदस्यहरूले पनि सुदूरपश्चिमलाई उपाधि विजेताका रूपमा हेरेका छन्। काठमाडौंका कप्तान करण केसीले सुदूरपश्चिमपश्चिम उपाधिको लागि सबैभन्दा बलियो दाबेदार रहेको बताएका थिए। ‘अहिलेसम्मको खेल हेर्दा सुदूरपश्चिमको टिम हालसम्मको सबैभन्दा राम्रो सन्तुलित टिमजस्तो देखिएको छ,’ लिगको अन्तिम खेलपश्चात् पत्रकारसँगको कुराकानीमा उनले भने। पहिलो क्वालिफायरमा सुदूरपश्चिमपश्चिम र जनकपुर भिड्नेछन्। बुधबार दिउँसो १ बजे हुने खेलमा निकै उच्च लयसँग लिगको खेल सकेको सुदूरपश्चिमपश्चिमलाई लय कायम राख्ने दबाब हुनेछ भने जनकपुरलाई लिगको हारको बदला लिने राम्रो मौका हुनेछ। जनकपुर बोल्ट्स भने प्लेअफअघि आफ्नो नियमित कप्तानलाई गुमाउने भएको छ। लिग चरणको अन्तिम खेलमा चितवनसँगको खेलमा अनिल शाह घाइते बन्न पुगे। उनको स्थानमा मार्की खेलाडीको रूपमा टिममा रहेका आसिफ शेखले टिमको कप्तानी गर्नेछन्। अनिल टिमको कप्तानमात्रै नभई राम्रो ब्याटर पनि हुन्। हालः जनकपुरको टिममा आसिफले लिग चरणको खेलमा राम्रो प्रदर्शन देखाउन सकेका छैनन्। त्यसबाहेक टिममा लाहिरु मिलान्था र जेम्स निशम पनि छन्, केही खेलमा हर्ष थाकरले पनि ब्याटिङमा स्टेपअप गरेका थिए। बलिङमा भने ललितको स्पिन जादु निकै आकर्षक छ। उनी हालसम्म उच्च विकेट लिने सूचीमा दोस्रो सथानमा छन्। सुदूरपश्चिमका स्कट केग्गेलिनले लिगका ७ खेलमा १५ विकेट लिएका छन्, त्यही ललितले १३ विकेट लिएका छन्। ललित र किशोर महतो र हर्ष थाकरले पनि जनकपुरलाई चाहिने बेला विकेट दिलाइरहेका हुन्छन्।
प्लेअफका बुधबार हुने खेल
चितवन राइनोज भर्सेस कर्णाली याक्सः बिहान ९ बजे
जनकपुर बोल्ट्स भर्सेस सुदूरपश्चिमपश्चिम रोयल्सः दिउँसो १ बजे