सुनसान पोखरा, ‘एक हजारमै डिलक्स रुम पाइन्छ’ सस्तो अफर हुँदा पनि अझै छैनन् पर्यटक
रासंसा/कास्की, माघ २८,
सुनसान पोखरा, ‘एक हजारमै डिलक्स रुम पाइन्छ’ सस्तो अफर हुँदा पनि अझै छैनन् पर्यटक । आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो र प्रमुख गन्तव्य हो, पोखरा । प्राकृतिक सुन्दरता, साहसिक खेल र सफा सहरका कारण पर्यटकको प्रमुख गन्तव्य रहेको पोखरा यतिबेला सुनसान छ । पोखरा पुग्ने पर्यटकको प्रमुख आकर्षण रहने प्याराग्लाइडिङ, ढुङ्गा सयर आदि सुनसान जस्तै छन् । होटल र रेष्टुरेण्टहरुमा एक दुई जनाबाहेक अन्य ग्राहक भेट्न मुस्किल छ । फेवाताल वरिपरिको लेकसाइड भएर गुड्ने सवारीसाधन खाली खाली नै गुड्छन् । पर्यटकका लागि भन्दै खोलिएका पसलहरू समसाँझै बन्द हुन्छन् । अधिकांश समय व्यस्त रहने लेकसाइडका सडकमा पर्यटक देख्नै मुस्किलजस्तै छ । साँझ परेपछि जाग्न सुरु गर्ने पोखरा यतिबेला रात पर्दा नपर्दै सुनसान हुन्छ । आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने पोखरामा यतिबेला पर्यटक देख्नै मुस्किल छ । बाटोमा न त धेरै सवारीसाधन गुड्छन् न त पर्यटकहरू देखिन्छन् । भण्डारी भन्छन्, ‘पहिले हामीले औसतमा १ सय प्लेट थकाली खाना बेच्थ्यौँ । अहिले औसतमा ८ प्लेट खाना बेचिरहेका छौँ । यस्तो भएको ठ्याक्कै एक महिना भयो । अहिले रेष्टुरेण्टमा खाना खान आउने ग्राहकको त कुरै छाडौँ, सडकमा पनि पर्यटक देखिँदैनन् । किन यस्तो भएको हो, अचम्म लागिरहेको छ । विदेशी पर्यटक नआए पनि नेपाली पर्यटक त आउने गर्थे । अहिले त नेपाली पर्यटक पनि पोखरा आएका छैनन्, किन हो त्यसको कारण बुझ्न सकिरहेको छैन ।’ कुनै समय दैनिक करिब १ सय प्लेट थकाली खाना बेच्ने चौतारी भान्छा घर लेकसाइडका कर्मचारी ध्रुव भण्डारी पोखरामा पर्यटक देख्नै मुस्किल भएको बताउँछन् । आफ्नो भान्छा घरमा ग्राहक कुरिरहेका भण्डारी भान्छा घर खोल्नुभन्दा बन्द गर्नु नै अहिलेको लागि हितकर भएको बताउँछन् । बन्द गर्दा ग्राहकहरूमा नराम्रो सन्देश जाने भएकाले बाध्य भएर भान्छा घर खोले पनि यसले रेष्टुरेण्टको भाडा तिर्न पनि नपुग्ने बताउँछन् । पोखरामा रहेका अधिकांश रेष्टुरेण्टहरुको हालत यस्तै छ । रेष्टुरेण्टमा खानका लागि कुनै व्यक्ति वा समूह गयो भने उनीहरू मात्रै हुन्छन् रेष्टुरेण्टहरुमा । अधिकांश रेष्टुरेण्टका टेबुल खाली हुन्छन् । वेटरहरू ग्राहक कुरेर त बसेका छन्, तर सधैँ व्यस्त रहने सडक नै सुनसान रहेपछि ग्राहक आउने कुरै भएन ।
भण्डारीका अनुसार यतिबेला पोखरामा पर्यटक आगमन शून्य जस्तै छ । काम परेर आउने एकाध व्यक्तिबाहेक घुम्न भनेर पोखरा आउने ग्राहक भेट्नै मुस्किल हुने गरेको भण्डारीले बताए । उनी भन्छन्, ‘कहाँबाट किन आउनुभएको भनेर कसैलाई सोधियो भने कामले गर्दा आएकाहरू छन् । घुम्नकै लागि भनेर पोखरा आउने ग्राहक भेट्नै मुस्किल छ ।’
पहिले दैनिक ५ सय जनाजतिले फेवातालमा डुङ्गा सयर गर्ने गर्दथे । तर अहिले फेवातालमा डुङ्गा चलाउनेहरू आफै एक अर्कोको डुङ्गामा बसिरहेका हुन्छन् । फेवातालमा डुङ्गा सयर गर्नेहरूलाई टिकट बेच्ने काम गर्दै आएका सन्देश गिरी अहिले पहिलेको तुलनामा २० प्रतिशत पनि पर्यटक नआएको बताउँछन् । टिकट काउण्टरभित्र मोबाइलमै केही खेलेर बसिरहेका सन्देश अहिले दैनिक १ सय जना पर्यटक पुग्न नि मुस्किल भएको बताउँछन् । पोखरामा किन पर्यटक आएनन् भन्ने प्रश्नमा सन्देश कारण नै थाहा नभएको बताउँछन् । सन्देश भन्छन्, ‘अब कोरोनाको कारणले भनौं भने सबैले भ्याक्सिन लगाइसके । अहिले त ओमिक्रोन पनि हटिसक्यो भने नि हुन्छ । कोरोनाको डरले हो भन्ने पनि लाग्दैन । तर पनि मानिसहरू घुम्नका लागि आएकै छैनन् । कोरोनाकै कारण मानिसहरूसँग खर्च गर्ने पैसा नभएर पो हो कि ?’ सन्देश भन्छन्, ‘पहिले दैनिक ८० देखि ९० वटा डुङ्गा चल्थ्यो । अहिले दैनिक १५ वटाको हाराहारीमा मात्रै पालो आउँछ । १५ वटा भनेको त्यही ९० देखि १ सय जना हो, जबकि पहिले दैनिक करिब ५ सय जनाले डुङ्गा चढ्थे ।’
विगत ४ वर्षदेखि पोखरामा प्याराग्लाइडिङको उडान भरिरहेकी प्याराग्लाइडिङ पाइलट क्रिशु पौडेल अहिले प्याराग्लाइडिङ चढ्ने मान्छे आउनै छाडेको बताउँछिन् । पोखरामा पर्यटकको आगमन नै घटेको भन्दै यसको कारक कोरोनाको नयाँ भेरियण्ट ओमिक्रोन कारक हुन सक्ने बताउँछिन् । क्रिशुले थपिन्, ‘मैले काम गर्ने कम्पनी भनेको ब्लू होराइजन प्याराग्लाइडिङ हो । उक्त कम्पनीले पहिले दैनिक औसतमा १५ वटाजति फ्लाइट गथ्र्यो । तर अहिले एक सातामा ५ वटाजति उडान गरिरहेको छ । कुनै समय ६ हजार ५ सय भएको शुल्क अहिले आधाले घटेको छ । तर शुल्क घटेपनि पर्यटक बढेका छैनन् । यही पेसामा अब कसरी बाँच्ने भनेजस्तो भएको छ । ग्लाइडरदेखि, हेल्मेट, गोप्रो आदि सबै पाइलटले नै किन्नुपर्छ । एकपटक यी सबै सामान किन्ने हो भने पाँच लाख रुपैयाँ पर्छ । तर यसबाट हुने आम्दानी अति नगन्य हुन थालेको छ । अब त पेसामै बस्न सकिँदैन कि जस्तो लाग्न थालेको छ । हामीले पाउने भनेको ६० प्रतिशत रकम मात्रै हो । अनि यत्रो रकम खर्च गरेर व्यवसायमा कसरी टिक्न सकिएला र ।’ पौडेलले भनिन्, ‘पहिले हामीले प्रतिव्यक्ति ६ हजार ५ सय शुल्क लिएर आधा घण्टासम्मको उडान भर्ने गरेका थियौँ । अहिले पर्यटकको सङ्ख्यामा कमी आएसँगै हामीले मात्रै ३ हजार ५ सयमा उडान भरिरहेका छौँ । यो शुल्क भनेको ग्राहकलाई होटलदेखि नै पिकअप र ड्रप, फोटो तथा भिडियो र इन्सुरेन्ससहितको पैसा हो । यो पैसाले गरेको लगानीसम्म उठ्न सक्दैन । तर पनि ग्राहक नभएपछि सस्तोमै सेवा दिने भनेर शुल्क घटाइएको थियो । तर शुल्क घटाए पनि अहिले प्याराग्लाइडिङ गर्न आउने पर्यटक नै छैनन् ।’
कुनै समय कोठा पाउन मुस्किल हुँदा एउटै सामान्य कोठामा ३ हजार रुपैयाँसम्म शुल्क लिने पोखराका होटलहरुमा अहिले औसतमा एक हजार रुपैयाँमै कोठा पाउन थालिएको छ । होटलहरुले ग्राहक नै नहुनुभन्दा बरु सस्तोमै ग्राहकलाई राखेर आफ्नो खर्च जुटाउने भन्दै आधाभन्दा सस्तो मूल्यमा कोठा बेचिरहेको होटल व्यवसायी संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । सुवेदीका अनुसार नन स्टार होटलहरुले पहिले ३ हजार रुपैयाँमा बेच्ने कपल डिलक्स रुम अहिले एक हजार रुपैयाँमै बेचिरहेका छन् । संघका अध्यक्ष सुवेदीका अनुसार पर्यटक आगमनमा कमी आएसँगै अहिले होटलहरुले अति सस्तो अफर दिन थालेका छन् । स्टार होटलहरुले भ्यालेण्टाइन अफर भन्दै ७० प्रतिशतसम्मको छुट दिएका छन् । सर्भिस चार्ज र भ्याटसमेत जोडेर औसतमा ९ हजार पर्ने ब्रेकफास्टसहितको डिलक्स रुमको शुल्क यतिबेला ४ हजार ५ सयदेखि ५ हजार ५ सय रुपैयाँमा आइपुगेको छ । सुवेदीले भने, ‘पोखराको होटलको मूल्य त अहिले ६० प्रतिशतभन्दा बढीले सस्तो छ । तपाईंले अहिले कपल डिलक्स रुम एक हजार रुपैयाँमै पाउनुहुन्छ भनेपछि कति सस्तो भएको होला आफै अनुमान गर्नुहोस् । आजको मितिमा तपाईंले स्ट्याण्डर्ड रुम मात्रै पाँचसय रुपैयाँमा पाउन सक्नुहुन्छ । स्टार होटलहरुले १२ हजारसम्म लिने रुमको शुल्क घटेर अहिले ३ हजार ५ सय रुपैयाँमा आएको छ । यो भन्दा सस्तो कहिले भएको थियो र । पोखरामा होटलको शुल्क त ६० प्रतिशतभन्दा बढीले घटेको छ ।’
पोखरामा रहेका अधिकांश होटलको हालत पनि उस्तै छ । कुनै समय होटलमा कोठा पाउन मुस्किल हुने पोखरामा यतिबेला आधा सस्तोमा होटलका कोठा पाइरहेका छन् । होटलको कोठाको मूल्य आधा सस्तो भएपनि पर्यटक नभएका कारण अकुपेन्सी भने १० प्रतिशतको हाराहारीमा मात्रै रहेको लेकसाइडस्थित होटल ल्याण्डमार्कका सञ्चालक ओम पाण्डेले बताए । पहिले आफ्नो होटलमा औसतमा ८० प्रतिशत अकुपेन्सी रहने गरेको भएपनि अहिले त्यो घटेर १० प्रतिशतमा रहेको पाण्डेले गुनासो गरे । उनले भने, ‘हामीले नेपाली नागरिकलाई नै १५ हजार रुपैयाँसम्म बेचेको सुइट रुमको शुल्क अहिले ७ हजारको हाराहारीमा दिइरहेका छौँ । १० हजारमा बेच्ने गरेको डिलक्स रुमको शुल्क सर्भिस चार्ज र भ्याट सहित जोडेर ५ हजार ५ सय रुपैयाँमा दिइरहेका छौँ । त्यति शुल्क पनि बुफे ब्रेकफास्ट सहितको शुल्क हो । यो भनेको हाम्रोजस्तो स्टार होटलका लागि खर्च धान्ने मात्रै हो । तर पनि होटलमा कम्तीमा ५० प्रतिशत अकुपेन्सी नहुँदा खर्च धान्न सकिँदैन । सस्तो मूल्यमा दिँदा पनि होटलका रुम खाली हुँदा मासिक लाखौँको घाटा हुन्छ । अहिले हामीले भ्यालेण्टाइन डे अफर भनेर अति सस्तोमा कोठा दिइरहेका छौँ । आशा गरौँ, फेब्रुअरी १४ ताका केही सुधार होला कि ।’ पोखरास्थित होटल ल्याण्डमार्कमा ९० वटा डिलक्स, सुपर डिलक्स र सुइट रुमहरू रहेका छन् । तर जनवरी १० पछि औसतमा ८ वटा कोठा मात्रै बुक हुने गरेको होटलका सञ्चालक ओम पाण्डेले बताए । सरकारले सेमिनार, सभा र सम्मेलन गर्न रोक लगाएसँगै आफ्नो होटलको ग्राहक घटेको पाण्डेले बताए ।
कुनै समय पोखराका लागि उडान भर्ने विमान कम्पनीहरूले औसतमा २ हजार रुपैयाँमा उडान गर्ने गरेका थिए । तर अहिले त्यो भाडा बढेर औसतमा २ हजार ८ सय रुपैयाँ पुगेको छ । अझ एयरलाइन्स कम्पनीहरूले अफर दिँदा पोखराको उडान मात्रै १ हजार ५ सय रुपैयाँमा पनि गर्ने गरेका थिए । कुनै समय यति एअरलाइन्सले औसत भाडा नै १ हजार ८ सय रुपैयाँ बनाएको थियो । तर अहिले सबै विमान कम्पनीहरूले सस्तो भाडा नै २ हजार ६ सयभन्दा बढी बनाएका छन् । सुवेदी जस्तै पोखराका होटल व्यवसायी ओम पाण्डे पनि हवाई भाडा वृद्धिले पनि पर्यटक आगमनमा असर गर्ने बताउँछन् । पाण्डे भन्छन्, ‘प्रति उडान एक हजार रुपैयाँले भाडा बढ्दा दुई जना व्यक्ति आउँदा र जाँदा ४ हजारको फरक पर्छ । ४ हजार रुपैयाँको फरक पर्दा त्यो रकम अन्य स्थानमा खर्च गर्न पाउँदा ठूलो रकम हुन्छ । हवाई भाडा वृद्धिले पनि केही असर गरेकोचाहिँ पक्कै हो ।’ होटल व्यवसायी संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पोखरामा पर्यटकको कमी हुनुको एक प्रमुख कारक हवाई भाडामा वृद्धि पनि रहेको बताउँछन् । सुवेदी भन्छन्, ‘अहिले ओमिक्रोनको डर भन्दा पनि हवाई भाडामा भएको वृद्धि पनि एउटा कारण हो । हुन त विमान कम्पनीहरूले पनि आफ्नो कस्ट क्याल्कुलेसन गरेर भाडा बढाएका होलान् । तर करिब एक हजार रुपैयाँले भाडा बढ्दा पनि पर्यटकहरू डाइभर्ट हुने सम्भावना रहन्छ । त्यो पनि एक कारक हुन सक्छ ।
पोखरामा पर्यटक आगमनमा सुस्तता छाउनुको प्रमुख कारण भने रात्रिकालीन व्यवसायमा लागेको रोक नै हो । युवापुस्ताले ज्यादै रुचाउने क्लबहरू करिब एक महिनादेखि बन्द नै छन् । क्लबहरू बन्द भएपछि रात्रिकालीन जीवनमा रमाउने युवापुस्ता पोखरामा आएका छैनन् । धेरै मानिसहरू एकपटक पोखरा आइसकेको हुनाले नयाँ स्वाद वा आकर्षण नभई त्यसै पोखरा आउन चाहँदैनन् । तर मनोरञ्जनको वातावरण नभएको कारण पनि युवापुस्ता पोखरामा नआएको धेरै व्यवसायीको गुनासो छ । पोखरामा पर्यटक आगमनमा शून्यता छाउनुको कारण रात्रिकालीन व्यवसायमा लागेको प्रतिबन्ध नै रहेको धेरै व्यवसायीको गुनासो छ । अब फागुन १ गतेपछि रात्रिकालीन व्यवसाय खुला भएसँगै पर्यटक आगमनमा पनि वृद्धि हुने व्यवसायीको आशा छ ।