सिद्धबाबा सुरुङमार्ग पुसभित्रै छिचोलिँदै

Share to:

रासंसा/रुपन्देही, मार्ग २३,

मुलुकमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सिद्धबाबा सुरुङमार्गको पुसभित्रै ‘ब्रेक थु्र’ अर्थात् छिचोलिने भएको छ। सम्झौता अवधिभित्रै निर्माण पूरा गर्ने गरी ठेकेदार कम्पनीले २४सैं घण्टा काम गरिरहेको छ। सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले लिएको छ। ज्ञवालीका अनुसार परियोजनाको कुल लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ हो। पाँच वर्षभित्र निर्माण गर्न ०७८ फागुनमा परियोजनाको सम्झौता गरिएको थियो। सुरुङ मार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ। ‘सम्झौता अवधिभित्रै काम पुरा हुने देखिएको छ’, ज्ञवाली भन्छिन्, ‘१ सय ५० बढी कर्मचारीले काम गरिरहेका छन्।’ मंसिर १५ गतेसम्म सुरुङमार्गको भौतिक प्रगति ३३ दशमलव ५९ प्रतिशत पूरा भएको सुरुङमार्ग परियोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्। उनका अनुसार वित्तीय प्रगति ३२ दशमलव २ प्रतिशत छ। ‘पुसभित्रै ब्रेक थु्र गर्ने गरी रातिदन काम भइरहेको छ’, ज्ञवालीले भनिन्, ‘ब्रेक थ्रु भइसकेपछि पनि कम्तीमा दुई वर्ष काम हुन्छ।’ सुरुङमार्गको कुल लम्बाइ १ हजार १ सय २६ मिटर छ। त्यसमध्ये सुरुङ खन्नुपर्ने क्षेत्रफल १ हजार ८९ मिटर हो। हालसम्म ८ सय २४ दशमलव ८१ मिटर खनिएको छ। बाँकी रहेको २ सय ६४ दशमलव १९ मिटर खनेपछि ‘ब्रेक थु्र’ हुनेछ। दुवै तिरको भाग छिचोलिएपछि नाली निर्माण, भेन्टिलेसन, लाइट जडान, सडक कालोपत्रे र फाइनल लाइनिङको काम हुने उनले जानकारी दिइन्। बिस्फोटक पदार्थ प्रयोग गरेर काम गर्न थालिएपछि निर्माणले गति लिएको हो। बुटवल गुल्मी दैनिक जिप चलाइरहेका गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुर का २८ वर्षीय कृष्ण सुनार (बेले) ले सुरुङमार्ग निर्माणले खुसी बनाएको प्रतिक्रिया दिए। उनले यस क्षेत्रमा जीप चलाउन थालेको १० वर्ष बढी भयो। गुल्मीबाट बुटवल यात्रा गर्दा गन्तव्यमा पुग्न पाँच किलोमिटर बाँकी हुँदा जहिल्यै सिद्धबाबा सडकको त्रासले सताउने गरेको उनले गुनासो गरे। यात्रुहरूको चाँप हुँदा दसैं–तिहारमा उनले दिनहुँँ यात्रा गर्ने गर्छन्। बुटवलमा पहाडका ६ जिल्लामध्ये गुल्मीका बहुसंख्यक नागरिकहरू बसोवास गर्छन्। गुल्मीसहित अर्घाखाँची, प्यूठान, पाल्पा, रोल्पा, कपिलवस्तु, दाङ, स्याङजा, बागलुङ, पर्वतका नागरिकहरू बसोवास गर्छन्। सुरुङमार्ग सहितको सडक भएर पर्यटकीयस्थल पोखराका लागि पर्यटकहरू दिनहुँँ ओहोरदोहोर गर्छन्। लुम्बिनीदेखि मुक्तिनाथको यात्रा गर्नेहरूका लागि पनि मुख्य सडक यही हो। पश्चिम नेपालमा निर्माण भएको एकमात्र सुरुङमार्ग भएकाले पनि यस क्षेत्रका नागरिकहरू उत्साहित भएका छन्। बुटवल पाल्पा सीमाक्षेत्रमा निर्माण भएको सुरुङमार्गले लुम्बिनीसहित गण्डकी प्रदेशका नागरिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। बर्खाको समयमा मृत्युमार्गको रूपले चिनिने सिद्धबाबा सडक सुरुङमार्ग निर्माण त्यसको परिचय बदलिने छ। कडा चट्टान सहितको सडकमा बर्खाभरि दिनहुँँ पहिरो झरेर दुर्घटना हुने गरेको छ। भैरहवास्थित भारतीय सिमानाका नजिक भएकाले पनि यस क्षेत्र अन्य जिल्लाका नागरिकहरूको व्यापारिक थलो हो। बर्खाको समयमा यात्रुहरू त्रासैत्रासमा यात्रा गर्न बाध्य छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडककै कारण दुर्घटनाको जोखिम बढ्दो छ। कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा दुर्घटनामा परी १० जना नागरिकको अकालमै ज्यान गएको छ भने ५० जना घाइते भएका छन्। यस सडक भएर दैनिक करिव दुई हजार बढी सवारीसाधनहरू ओहोरदोहोर गर्छन्। सुरुमार्ग क्षेत्रबाहेक माथिल्लो र तलो सिद्धबाबा क्षेत्रको बुटवलतर्फ ९ सय ४ र पाल्पातर्फ १ हजार ४ सय ९४ मिटर सडकको समेत स्तरोन्नतिको काम अघि बढेको छ। पहिरो खस्ने क्षेत्रमा सडकमाथि छत (रक सेड) लगाउने योजना छ। नेपाल सरकारका अर्थमन्त्री रूपन्देहीकै संघीय सांसद् प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको निरन्तरको चासो र जोडबेलका कारण सुरुङमार्ग निर्माणको काम अघि बढेको हो। व्यापारिक एवं औद्योगिक हिसाबले बुटवल, भैरहवा क्षेत्र लुम्बिनी प्रदेशको प्रमुख थलो हो। लुम्बिनीका सबै र गण्डकी प्रदेशका केही जिल्लाका नागरिकहरूको पुरानो व्यापार गर्ने थलोसमेत हो बुटवल। सुरुङमार्ग निर्माणसँगै बुटवलमा चलिरहेका दुई लुम्बिनी र सिद्धार्थ केबलकारले यस क्षेत्रको चहलपहल बढाएको छ। पश्चिम नेपाल बस व्यवसायी संघ रूपान्त्रित प्रालि बुटवलका अध्यक्ष दधिराम खरेलले डराएर यात्रा गर्ने यात्रुलाई बन्दै गरेको सुरुङमार्गले आत्मबल बढाएको प्रतिक्रिया दिए। यो गाडीलाई मात्र नभएर पैदल यात्रीका लागि पनि त्रासको सडक हो। सिद्धबाबा सडक क्षेत्रमा माथिबाट ढुंगा खस्ने र पहिरोको धेरै जोखिम खेप्नुपरेको अनुभव सुनाए। पश्चिम नेपालअन्तर्गतका सवारीसाधनहरू पाँच÷पाँच मिनेटको अन्तरमा यसै सडक भएर विभिन्न जिल्लामा आउजाउ गर्छन्।

Like