आज बैकुण्ठ चतुर्दशी व्रत, विश्व मधुमेह दिवस, सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
रासंसा/काठमाण्डौ, कार्तिक २९,
वैकुण्ठचतुर्दश्यां यः पूजयेद् हरिशङ्करौ।
स याति परमं स्थानं मुक्तिं लभते नरोत्तमः॥
विष्णु वैकुण्ठ चतुर्दशी व्रत
कार्तिक शुक्ल चर्तुदशीलाई वैकुण्ठ चतुर्दशी भनिन्छ । यसदिन चतुर्दशी व्रत गर्ने चलन छ । बैकुण्ठ चतुर्दशीमा हरि (विष्णु) र शंकर (शिव) दुवैको पूजा गर्ने व्यक्तिले परमधाम प्राप्त गरी मोक्ष प्राप्त गर्दछ ।”शास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्दछ । महाभारतको युद्धमा जब भीष्म पितामह सूर्यको पर्खाइमा ओछ्यानमा सुतिरहेको बेला भगवान् कृष्ण पाँच पाण्डवहरूलाई लिएर उहाँकहाँ पुग्नुभयो ।युधिष्ठिरले भीष्म पितामहसँग कृपया हामीलाई राजधर्मको निर्देशन दिनुहोस् भनेर अनुरोध गरे । त्यसपछि भीष्म पितामहले पाँच दिनसम्म राजधर्म, वर्ण धर्म, मोक्ष धर्म आदिको उपदेश दिनुभयो। उहाँको उपदेश सुनेर श्रीकृष्ण जी सन्तुष्ट भएर “बाबा १ कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनमा तपाईँले दिनुभएको धार्मिक उपदेशबाट म धेरै खुसी छु। तपाईँको सम्मानमा म भीष्म पञ्चक व्रत स्थापना गर्छु। जसले यसो गर्छ, जीवनभर विभिन्न सुख भोगेर अन्त्यमा मोक्ष प्राप्त हुन्छ भनेर स्वयम श्री कृष्णले भन्नुभएको थियो । आजको कार्तिक चतुर्दशी तिथि यस हिसाबले पनि खुबै महत्त्वपूर्ण छ । एक पटक नारद भगवान् विष्णुकहाँ वैकुण्ठमा पुगे । विष्णुजीले नारदजीलाई आउनुको कारण सोध्नुभयो । नारदले भने, “प्रभु पृथ्वीमा हजुरलाई कृपा निधान भनिन्छ। तर तपाई का प्रिय भक्तहरूले मात्र कृपा पाँउदछन । त्यसैले कुनै यस्तो उपाय बताइदिनुस् जसद्वारा साधारण स्त्री पुरुष पनि तपाँइको कृपाको पात्र बन्न सक्नेछन् । त्यसमा भगवान्ले भन्नुभयो– “नारद कार्तिक शुक्ल चतुर्दशीका दिन व्रत बसी भक्तिपूर्वक मेरो पूजा गर्ने महिला तथा पुरुषले स्वर्ग प्राप्त गर्नेछन् । यसपछि विष्णुले जय विजयको आह्वान गरेर कार्तिक शुक्ल चतुर्दशीमा स्वर्गका द्वारहरू खोलिदिने आदेश दिनुभयो । भगवान्ले यो दिन अलिकति पनि मेरो नाम लिएर पूजा गर्नेलाई बैकुण्ठको वास हुने बताउनुभयो ।
विश्व मधुमेह दिवस
मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए । आज १४ नोभेम्बर । विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु पर्दैन ।
सन् २०२४ का लागि विश्व मधुमेह दिवसको नारा
यो वर्ष अर्थात् सन् २०२४ का लागि विश्व मधुमेह दिवसको नारा चाहिँ ‘Diabetes and well-being”’ रहेको छ । सन् २०२४ देखि २०२६ सम्म यही नारा अन्तर्गत शारीरिक, सामाजिक र मानसिक स्वास्थ्यको पैरवी गरिने आधिकारिक वेबसाइटमा लेखिएको छ । अर्थात्, भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्त्वलाई यस वर्ष उजागर गरिँदै छ । स्मरण रहोस्, जीवनशैली र वंशाणुगत कारणले बर्सेनि विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेका छन् ।
मधुमेह बारे केही तथ्यहरू
· मधुमेह वा डायबिटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ ।
· विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरूले डायबिटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् ।
टाइप वान डायबिटिज र टाइप टु डायबिटिज गरि डायबिटिज दुई प्रकारका हुन्छन् । ।
हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर, यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो ।
दोस्रो प्रकारको मधुमेहबारे । यो अहिले नेपालमा वा विश्वका मानिसहरूमा देखिने सबैभन्दा कमन डायबिटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबिटिज भनिन्छ ।
· हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ । हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ ।
· यो डायबिटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो । अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबिटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन् ।
· आधुनिक हुने नाममा हामीले गर्ने हेलचक्र्याइँका कारण पनि हामी डायबिटिजको सिकार हुने सम्भावना बढ्दै गएको छ । डायबिटिजको अर्को कारण हो, तनाव लिनु वा स्ट्रेस ।
· त्यस्तै, उच्च रक्तचाप भएका र कोलेस्ट्रोल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । त्यस्तै, वंशाणुगत रूपमा पनि मधुमेह सर्न सक्छ ।
· मधुमेह कुनै ठुलो रोग नभएको पछिल्लो उपचार पद्धतिले पनि प्रमाणित गरिसकेको छ । यसलाई समयमा नै उपचार गर्ने हो भने यसबाट हामीले छुटकारा पाउन सकिन्छ ।
· त्यसो त समय समयमा हामीले रगत जाँच गरेर समयमा नै यसको उपचार गर्ने हो भने यसलाई नियन्त्रणमा लिन त्यति सजिलो छैन । प्रिडायबेटिज भएको थाहा पाउँदा नै हामीले शरीरको तौल घटाउने हो भने विश्वभर भएका अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामीलाई मधुमेह नै हुँदैन ।
· प्रिडायबेटिज थाहा पाएपछि शरीरको तौल ७ प्रतिशत घटाएकाहरूलाई नै डायबिटिजको सम्भावना निकै कम भएको अध्ययनहरूले प्रमाणित गरेका छन् ।
यसको अर्थ हो, डायबिटिजबाट बच्न सबैभन्दा पहिले हामीले शरीरको तौललाई सन्तुलनमा राख्नु पर्ने हुन्छ । डायबिटिजको डर पनि हुने तर हामीले बजारमा पाइने जङ्क फुड, रक्सी तथा चुरोट पनि नछोड्ने हो भने मधुमेह सन्तुलनमा आउन निकै गाह्रो हुन्छ । त्यसो त धेरै जङ्क फुड खाने, चुरोट र रक्सी सेवन धेरै गर्नेहरूको हृदयाघातको सम्भावना पनि बढी हुन्छ । त्यसैले पनि मधुमेह नियन्त्रणमा ल्याउन चाहनेहरूले पनि यस्ता बानी तत्काल त्याग्नु पर्छ ।
· मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । मधुमेह भएका मानिसहरूले त खानामा विशेष ध्यान दिनु पर्छ । डायबिटिज भएको प्रमाणित भयो भने धूम्रपान र मद्यपान गर्नै हुँदैन ।
· सबैभन्दा पहिले हामीले प्रोसेस खानेकुरा खाने बानीलाई कम गर्नुपर्छ । बजारको प्रोसेस खानेकुरा भन्दा घरमा पकाइएका पौष्टिक तथा ताजा खानेकुराले हामीलाई स्वास्थ्य राख्न आवश्यक हुन्छ ।
· डायबिटिज भइसकेको प्रमाणित भएमा खाने कुरामा हामीले सकेसम्म कार्बोहाइड्रेट खानु हुँदैन । जस्तो कि हामीले दैनिक खाने भातमा कार्बोहाइड्रेट निकै धेरै हुन्छ । अनि योसँगै हामीले खाने तरकारीमा आलु राखिएको छ भने त यो झन् खतरनाक हुन्छ ।
· मधुमेह भएका मानिसहरूले पनि दैनिक एक पटक भात खाँदा त हुने चिकित्सकहरूले बताउँछन् । तर, यसका लागि पहिले चिकित्सकीय सल्लाह लिनु पर्ने उनीहरू बताउँछन् । त्यस्तै, फलफूललाई प्राथमिकतामा राखे पनि मधुमेह हुनेहरूले क्यान जुसहरू खानै नहुने बताउँछन् । त्यस्तै, डायबिटिज हुनेहरूले रातो मासु खानै नहुने पनि चिकित्सकहरूले सुझाव दिन्छन् ।
· मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मिर्गौला, कलेजो, मुटु, आँखालगायतका हाम्रा महत्त्वपूर्ण अङ्गमा ठुलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । यसका लागि समयमा नै चिकित्सकसँग सल्लाह गरौँ । विश्व मधुमेह दिवसको अवसरमा हाम्रो पात्रोको तर्फबाट तपाईंहरुलाई सुस्वास्थ्यको कामना । समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नु होला, मधुमेह र अन्य रोगबारे समयमा नै थाहा भयो भने यस्ता रोगहरूको उपचार सम्भव छ ।
सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइन्छ। यस दिवसले सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउँछ। हाम्रा सांस्कृतिक सम्पदा तथा धरोहरहरू हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक हुन्। तर दुर्भाग्यवश, यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा पर्छन्। २०२४ मा, यस दिवसमा सांस्कृतिक सम्पदाको संरक्षण र यसको अवैध व्यापार रोक्न अन्तर्राष्ट्रिय समुदायको संकल्पलाई बलियो बनाउने सन्देशलाई केन्द्रमा राखिएको छ। यसले विश्वभरि कानूनी र नीतिगत पहललाई प्रोत्साहित गर्दै सांस्कृतिक सम्पत्तिको संरक्षणमा सबैको साझा भूमिका रहेको कुरालाई पनि उजागर गर्छ। नेपालजस्तो देशमा, जहाँ पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्करीको मुख्य निशानामा पर्दछन्। हाम्रा काठ, ढुंगा, धातुका कलाकृतिहरू अन्तर्राष्ट्रिय बजारमा अवैध रूपमा व्यापारमा लागेर विदेश पुर्याइन्छन्, जसले हाम्रो सांस्कृतिक सम्पदा र इतिहासलाई कमजोर बनाउँछ। २०२४ मा यो दिवसले नेपाल लगायत विश्वभर सांस्कृतिक सम्पत्तिको संरक्षण, कानूनी पहलहरूलाई सुदृढ बनाउन र यसतर्फ सबैको सचेतना बढाउन विशेष जोड दिएको छ। यसले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा सरकारले कडा कानूनी नीति र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेको कुरा झल्काउँछ।