आर्थिक प्रलोभन र धम्कीमार्फत् हत्या घटना मिलापत्र गर्न दवाव
रासंसा/सप्तरी, भाद्र २९,
मुलुकमा तीन महिना अघि एक पक्षको कुटपीटबाट मृत्यु भएका युवकका आफन्तजनले पीडकपक्षबाट प्रलोभन सहित घटना मिलापत्र गर्न धम्की आउन थालेको गुनासो गरेका छन । गत असार ३ गते मुस्लिम समुदायको महान पर्व बकरइदका दिन राजविराज ४ स्थित माछा हटियामा एक पक्षको कुटाईबाट गम्भिर घाइते भएका औरन्गजेवको २ दिन पछी उपचारका क्रममा विराटनगर स्थित नोबेल अस्पालमा मृत्यु भएको थियो । राजविराजमा शुक्रवार मृतक राजविराज ४ का ३२ वर्षिय औरन्गजेव मियाँका बुवा मो.हबिव, काका बबलु खान र भाई मो.तवरेज आलम लगायतले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो गुनासो पोखेका हुन । राजविराज ४ स्थित रोयल इनफिल्ड अटोमोबाईलका संचालक औरन्गजेवमाथी जनावरको कुर्वानी तथा मदरसालाई सहयोगका विषयमा विवाद हुँदा धारिलो घरेलु हतियारको प्रयोग गरी हत्या गरिएको परिवारजनको भनाई छ । उनीहरु सप्तरी जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागी राजविराज कारागारमा छन । घटनाका थप आरोपीत राजविराज नगरपालिका वडा २ का मो.असलम भन्ने तरवेज, वडा ३ का मो इमरान खान, मों इर्शाद र राजगढ गाउँपालिका ६ का मो.मिन्टु भन्ने हुसैन खान फरार छन । उनीहरुको ब्यापक खोजतलास भईरहेको प्रहरीको भनाई छ । प्रहरीेले उक्त घटनामा संलग्न रहेका ७ आरोपी मध्ये राजविराज नगरपालिका वडा ३ का मो.नसिर, वडा २ का मो.आशिक खान र राजगढ गाउँपालिका ६ का मो.लाल खान गरी तीन जनालाई पक्राउ गरीसकेको छ । पत्रकार सम्मेलनमा मृतक औरन्गजेवका बुआ मो.हबिबले पीडक पक्षले आर्थिक लेनदेन गरी घटना मिलाउन दबाव बढाउँदै लग्नुका साथै नमिले “तिम्रो परिवारमा यस्तो घट्ना फेरी दोहोरीन सक्ने” भन्दै चेतावनी समेत दिन थालेको सुनाए । अढाई वर्ष अघि बिहे भएका व्यवसायी औरन्गजेवका श्रीमती र २ काखे शिशु छन । औरन्गजेवको हत्या संगै उनीहरुको विचल्ली भएको छ । पीडक पक्ष पैसाको चलखेल गरी अपराध लुकाउने खेलमा लागेको भन्दै मुतकका आफन्तले सबै संग न्यायका लागी अपिल गरेका छन । उनीहरुले औरन्गजेवको हत्यामा संलग्न भइ हाल फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग समेत गरेका छन । घट्नाका फरार आरोपीतहरुको खोजी कार्यमा कुनै कसर बाँकी न राखिएको र छिट्टै पक्राउ पर्ने प्रहरीको भनाई छ ।