पर्यटन बोर्डको सीइओमा दिपकराज जोशी नियुक्त
रासंसा/काठमाण्डौ, भाद्र २२,
मुलुकमा नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी नियुक्त भएका छन्। बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिए। यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो। उपसमितिले बोर्डका पूर्व सीइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो। जोशी यसअघि पनि बोर्डको सीइओ भइसकेका छन्। उनले सन् २०१५-२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरिसकेका छन्। नियुक्त भइसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफूले फेरि पनि बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएको बताए। ‘परिस्थितीको प्रतिकुलता, स्रोतको शिथिलता र आफूप्रतिको पर्यटन क्षेत्रको अपेक्षाका बीचमा प्रतिफल देखाउनुपर्ने दायित्व छ’, उनले भने, ‘यो चुनौती पनि हो र मेरा लागि प्रेरणा पनि हो।’