अमेरिकाले नेपाली सेनालाई हेलिकप्टर खरिदमा सहयोग गर्ने, अमेरिकी उपविदेशमन्त्री वर्मा दिनभर दौडधुपमा
रासंसा/काठमाण्डौ, श्रावण ३२,
मुलुकमा अमेरिकाले नेपाली सेनालाई हेलिकप्टर खरिदमा सहयोग गर्ने भएको छ । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमणका क्रममा शुक्रबार सो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । शुक्रबार नेपाल भ्रमणमा आएका उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटघाटमा उपविदेशमन्त्री वर्माले एमसीसी कार्यान्वयनमा नेपालले देखाएको तदारुकताको प्रशंसा गरेका थिए । नेपालस्थित अमेरिकी दूतावासका अनुसार उप–विदेशमन्त्री वर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि सहयोग गर्ने बताएका हुन् । अमेरिकी सहयोगमा सञ्चालित विभिन्न आयोजनाको प्रगतिमा मन्त्री वर्माले सन्तोष व्यक्त गरेका थिए । साथै हालै टीआरसी विधेयक पारित गरी शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने काम गरेकोमा पनि मन्त्री वर्माले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको प्रशंसा गरेका थिए । यसैगरी मन्त्री वर्माले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा एमसीसी नेपालका अधिकारीहरूसँग छलफल गरेका थिए । प्रगति छलफलमा एमसीसी कार्यान्वयन सन्तोषजनक रहेको प्रतिक्रिया दिएको दूतावास स्रोतले जनाएको छ । नेपालीहरूका लागि उज्ज्वल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीको विभिन्न विषयमा कुराकानी भएको दूतावासले जनाएको छ । उपविदेश मन्त्री वर्माले युएसएआइडी नेपालको साझेदार नेपाल टि कलेक्टिभ टोलीसँग पनि ठमेलमा छलफल गरेका थिए । त्यहाँ नेपाली चियाको स्वाद पनि उनले लिएका थिए । उनी बिहानै काठमाडौँ आएपछि अमेरिकी दूतावास गएका थिए । उनले दूतावासका अधिकारीहरूसँग छलफल गरेका थिए । त्यसैगरी उनले शुक्रबार नै नेपाली महिला उद्यमीहरूसँग पनि अमेरिका–नेपालबिच भइरहेको उद्योग व्यापारको विषयमा छलफल गरेका थिए ।