सोलुखुम्बु दूधकोशी क्षेत्रमा ताल फुट्दा बाढीको खतरा

Share to:

रासंसा/खोटाङ, श्रावन ३२,

मुलुकमा जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशीको शिरमा रहेको ताल फुटेर भीषण बाढी आएको भन्दै सचेत रहन आग्रह गरेको छ । दूधकोशी नदीको उपल्लो भागमा रहेको ताल फुटेर भीषण बाढी आएको जानकारी दिँदै प्रशासनले आसपासका क्षेत्रका नागरिकहरूलाई सचेत रहन आग्रह गरेको हो ।सोलुखुम्बु जिल्लाको थामे खोलाबाट सुरु भएको बाढी क्रमशः दूधकोशीतर्फ बढ्दै गएको छ, जसले खोटाङ र ओखलढुंगाको कोशीकिनारमा जोखिम बढाएको छ । जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय खोटाङ, हलेसी तुवाचुङ नगरपालिका, ऐंसेलुखर्क गाउँपालिका र रावाबेंसी गाउँपालिकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रशासनले जरुरी सूचना जारी गर्दै दूधकोशी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । घटनाको मूल कारण अझै यकिन नभए पनि, हिमताल फुटेको वा हिमपहिरोको कारणले बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । खोटाङ क्षेत्रमा बाढी आइपुग्न केही घण्टा लाग्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिएअनुसार, दूधकोशी आसपासका स्थानीयलाई सुरक्षित रहन सचेत गराउन प्रहरी परिचालन गरिएको छ । डीएसपी खड्काले दूधकोशी नदी र यसका तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई चनाखो रहन र सुरक्षित उपायहरू अपनाउन आग्रह गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले नगरपालिकाको १० नम्बर वडा अर्खौले र ७ नम्बर वडा हलेसी महादेवस्थानबाहेक नगरपालिकाका सबै वडा प्रभावित क्षेत्रमा पर्ने जानकारी दिँदै सम्पूर्ण नागरिकलाई सचेत रहन अपिल गरेकी छन् । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट शुक्रबार दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँको एउटा होटल र दुई घर बगाएको छ भने १४ घरमा क्षति पुगेको छ । प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न ५ घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे । थामे गाउँमा बाढीले क्षति पु¥याएको र दूधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । उनले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताइन् । स्थानीयले टासीलाप्चा आधार शिविरमा रहेको हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेआसपास ठूलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेले अर्को सूचना नभएसम्म उच्च सतर्कतासाथ सुरक्षित रहन अनुरोध गरेको छ ।

Like