आज कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन, थारु गुरिया पर्व, दक्षिणायन आरम्भ

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १,

मुलुका श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान् शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान् शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिव लिङ्गमा जल तथा बेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात् गङ्गा नदी लिएर हिँडेका भगवान् शिव आफै जल हुनुभएको उल्लेख गरिएको छ । असार सकिएर श्रावण अथवा साउन महिना सुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ । यसै हिसाबले पनि यस महिना शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बाग द्वार, महोत्तरीको सोनामाईथान र सिद्धानाथ, सिराहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरूको भीड लाग्ने गर्दछ । तराईमा यो महिना भरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउन्जेल खुट्टामा चप्पल समेत नलगाई चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्रा कोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डाैको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँट घाट धाम लगायतको विभिन्न शिवालयहरूमा काँवरहरूको ठुलो घूँइचो रहने गर्दछ । श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट सङ्क्रान्ति लाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्त्व रहिआएको छ । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाँग, धतुरो तथा बेली पुष्प समर्पण गरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रही आएको छ । यो रङ्गिन महिनाको सुरुवात भनेकै कर्कट सङ्क्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका अलावा परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि रङ्गिन चुराहरू लाउने गरिन्छ । श्रावणसम्ममा बारीका मकैहरू पनि ठुलै घोगा भइसकेका हुन्छन्, श्रावणको झरीमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । गाउँघरका हिलो गोरेटोमा प्याट्ट प्याट्ट चप्पल पड्काउँदै लड्दै चिप्लीदैँ हिँडेको बाल्यकालका यादहरू पनि श्रावण महिनाको एउटा सम्पत्ति हो, यस श्रावणले हामी सबैको जय होस !
श्रावण महिनामा सूर्य कर्कट राशिमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरी पर्नुभएकाले मान्छेहरू आव-जावत गर्दा पानीमा रुझ् सक्ने संभावना हुन्छ । त्यसमाथि कृषि अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिट्टिनु लगभग सामान्य झैँ हो । यसर्थ गर्मी र वर्षाको यो असरले वर्षाको महिनाहरूमा चर्म तथा छालासँग सम्बन्धित रोगहरू जस्तै लुतो, दाद, घमौरा या खटिराहरू आउन सक्ने सम्भावना अत्यधिक हुन्छ । साउने सङ्क्रान्ति लाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रूपमा पनि लिइन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । यस दिन नदी किनारमा गई शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ भने कसैले भन्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ।
थारु गुरिया पर्व
गुरिया या गुरहि भनेको कपडाको पुतली या खेलौना हो, छोरी मान्छेको प्रतिबिम्ब हुने गरि कपडा या अन्य घरेलुकुराले बनाइएको आकृति नै गुरिया मानिन्छ । अर्कोतर्फ गुरही भनेको पातलो पखेटा भएको पुतली जस्तै देखिने एक उड्ने किरा हो । कैलाली, कंचनपुर, बर्दिया, बाँके र देउखुरीमा यो किरालाई गुरही भन्दछन् । दाङ्गमा यसलाई झिङ्गौरा, नेपाली भाषामा गाइने किरा भन्दछन् । थारु सुमदयाको बसोबास रहेको नेपालका पश्चिमी जिल्ला, स्थानमा यसलाई गुरही पर्व भन्ने गर्दछन् भने कतिपय जिल्ला, स्थानमा यसलाई गुरिया पर्व भन्ने गर्दछन् । गुरही गुरिया एक बाल पर्व हो भन्ने आशय त गुरिया को अर्थ बाटै स्पष्ट छ । यस पर्वमा दाजुभाइ र दिदीबहिनीबिचको प्रेमलाई उजागर गराउँछ । भाइ बहिनीबिचको माया प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदिबहिनीहरुले गुरिया फाल्ने गर्छन् र दाजुभाइले उक्त गुरियालाई लट्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन् । यस हिसाबमा यस पर्वमा गुरियाका रूपमा नराम्रा बानी र दुख्न कष्टलाई फाल्ने र एक आपसमा माया र स्नेह दर्साउने गरिन्छ ।

Like