फेरी खुल्यो शरणार्थी प्रकरणको फाइल, थप ‘हाई–प्रोफाइल’ नेक्सस खुल्ला ?

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १६,

मुलुकमा प्रहरीले हाई–प्रोफाइल व्यक्तिहरू मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल एकवर्षपछि फेरी खोलेको छ। जिल्ला प्रहरी परीसर काठमाडौंले दुईजना फरार अभियुक्त पक्राउ गरेर एकवर्षपछि दोस्रोपटक फाइल खोलेको हो। उक्त कुराको समाचार बाहिरिएपछि अनुसन्धानलाई सघाउन आफू तयार रहेको भन्दै विज्ञप्ति समेत निकालेका थिए। जब प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लियो। त्यसपछि भने उनी फरार भए। पक्राउ पर्नेमध्ये एक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक छन्। प्रतीक बुबा गृहमन्त्री हुँदा स्वकीय सचिव थिए। अघिल्लो पटककै अनुसन्धानमा प्रहरीले उनको संलग्नता पाएको थियो। यस दौरानमा उनी नेपाल र भारत ओहोर–दोहोर गरिरहेको प्रहरी स्रोतले बतायो। शुक्रबार उनी बौद्धमा रहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रतीकलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गर्ने काठमाडौं प्रहरीको तयारी छ। पक्राउ पर्ने अर्का व्यक्ति बेचन झा हुन्। उनलाई पश्चिमी सीमाना कञ्चनपुरबाट पक्राउ गरेको प्रहरी स्रोत बताउँछ। उनी यो प्रकरणमा देखिएका एक शंकास्पद् पात्र रहेको प्रहरीस्रोत बताउँछ। झाले गिरोहका एकजना सदस्य रामशरण केसीसँग दुई करोडको चेक लिएको पाइएको छ। केसीले मुख्य योजनाकार सानु भण्डारीले भनेअनुसार हिमालयन बैंकको चेक झालाई प्रहरीसँगको बयानमा भनेका छन्। ‘उहाँविरुद्ध पहिले नै अनुसन्धानमा धेरै कुरा खुलिसकेको छ। अभियोजन पनि भइसकेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त रजौरेले भने, ‘अदालतको आदेशअनुसार थप प्रक्रिया अगाडि बढ्छ।’ उक्त रकम झाले शरणार्थी प्रकरणमा मन्त्रिपरिषद्बाट ‘आवश्यक निर्णय गराउन’ भनेर बुझेको अनुसन्धान अधिकारीहरूले बताउने गरेका छन्। उक्त कुरा मुख्य योजनाकार सानु भण्डारीले नै भनेका छन्। अघिल्लो अनुसन्धान झाको त्यसभन्दा बढी पहिचान खुलेको थिएन। उनको ठेगानासमेत स्पष्ट हुननसक्दा प्रहरीले अदालतसमक्ष सोही व्यहोरा राखेको थियो। जिल्ला अदालत, काठमाडौंले उनी पक्राउ परेका बखत थप अनुसन्धान गर्न प्रहरीलाई सहमति दिएको थियो। यसपटक झा पक्राउ परेसँगै आइतबार उनलाई अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ। प्रतीक र बेचन पक्राउ परेपछि शरणार्थी प्रकरणमा थप ‘हाई–प्रोफाइल’ को संलग्नता खुल्ने आशा प्रहरीलाई छ। ‘उनीहरूलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार प्रहरीसँग छ। त्यही भएकाले नै अदालतले पक्राउ पुर्जी दिएको हो,’ प्रहरी प्रधान कार्यालयका एकजना वरिष्ठ अधिकृतले भने,‘थप उहाँहरूको सम्बन्ध, विगतको पोजिसन र यो प्रकरणमा खेलेको भूमिका केही अगाडिसम्म लैजानसक्ने पर्याप्त सम्भावना देखिन्छ नै।’ नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा भएको छलफलमा प्रतीकले ‘काम अगाडि बढ्छ, पैसा जम्मा गर्नुस् भनेर’ समेत भनेको जाहेरीमा उल्लेख छ। थापाले भनेअनुसार नै पैसा दिएको जाहेरीमा उल्लेख छ। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकले शरणार्थी प्रकरणमा संलग्नताको पर्याप्त प्रमाण नै नरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताउने गरेका छन्। सोही प्रकरणमा ठगिएका एक पीडितले गरेको जाहेरीमा नै मुख्य योजनाकार केशवप्रसाद दुलालसँग प्रतीक एक रेष्टुरेन्टमा बसेको अवस्थामा भेटिएका थिए। अर्का मुख्य योजनाकार सानु भण्डारीले प्रतीकले भनेअनुसार नै उनकी आमा नैनकला थापालाई पैसा दिएको वयान नै दिएका छन्। तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीकमात्र होइन्, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, राईका छोरा निरजको समेत शरणार्थी प्रकरणमा संलग्नता खुलेको थियो। सल्लाहकार राई पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन्। छोरा निरज भने अझै पनि फरार छन्। उनीहरूले तत्कालीन गृहमन्त्री थापाको सचिवालयमै बसेर शरणार्थी प्रकरणमा काम गरेको पाइएको अनुसन्धान अधिकारी बताउँछन्। यस्तोमा तत्कालीन गृहमन्त्री थापा भने अहिलेसम्म जोगिएका छन्। उनीविरुद्ध हालसम्म कुनैपनि बलियो प्रमाण फेला नपरेको प्रहरीको दाबी छ। प्रहरीसँगको बयानमा रामशरण केसीले ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषद्बाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ।’ भनेका छन्। अहिले प्रतीकको पक्राउले उनको समेत ‘नेक्सस कनेक्सन’ पाइनसक्ने सम्भावना रहेको प्रहरी अधिकारीहरू बताउँछन्। उता बेचनले मन्त्रीपरिषद्मा निर्णय नै गराउने भनेर दुई करोड लिएको प्रहरीले भेट्टाएको छ। केसीले बुझाएको चेकको फोटो समेत प्रहरीले फेला परेको छ। बेचन पक्राउ पर्दा मन्त्रिपरिषद्का तत्कालीन सदस्यसँग कुनै सम्बन्ध भए/नभएको विषयमा प्रहरीले अनुसन्धान गर्नसक्ने देखिन्छ। ‘बेचनलाई गिरोहले त्यत्तिकै त्यत्रो रकम दिएको होइन भन्नेमा प्रहरी ढुक्क छ। उनको सम्बन्ध कुनै न कुनै भिभिआइपीसँग भएकैले उनीहरूले विश्वास गरेर रकम दिएको हो,’ अनुसन्धानमा खटिएका एकजना प्रहरी अधिकारी भन्छन्,‘पक्राउ परेर आफू फँस्ने अवस्था आए केही कुरा ओकल्नसक्छन्।’ नेपाल प्रहरीका सह–प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारी भने यो अर्को चरणको अनुसन्धान नभएको बताउँछन्। ‘यो अघिल्लो पटकको अनुसन्धानको निरन्तरता नै हो। जसको मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ,’ उनले भने,‘अघिल्लो पटक अनुसन्धान गर्दा पक्राउ परेका व्यक्तिहरू फरार थिए। अहिले पक्राउ परे। अब उनीहरूसँग पनि अनुसन्धान गरेर सोही मुद्दाकै अंगका रुपमा अदालतमा प्रस्तुत हुन्छ।’ दुवैजनासँग थप अनुसन्धान हुँदा केही न केही नयाँ नेक्सस खुल्ने आशा प्रहरीलाई भएपनि राजनीतिक स्तरबाट आउनसक्ने सम्भावित दबाब भने चिन्ताको विषय रहेको प्रहरी अधिकारीहरू बताउँछन्। उनीहरूसँग अनुसन्धानबाट खुल्ने नयाँ नेक्ससहरूलाई पनि अनुसन्धान गरेर अभियोजन गर्ने प्रक्रियामा प्रहरी जाने उनले बताए।

Like