अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गर्दैन, प्रधानमन्त्रीलाई सभामुखले भने- भोलिसम्म सहमति गर्नुस्

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ५,

मुलुकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि बैठक अगावै सहमति गर्न आग्रह गरेका छन्। उनले संसद बैठक अगावै सहमति गर्न आग्रह गरेका हुन्। भोलि ११ बजे संसद बैठक बस्दैछ। नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश नजाने सभामुख घिमिरेको भनाइ छ। उनले अध्यादेशबाट बजेट नल्याउन पनि आग्रह गरेका छन्। ‘प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्। म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्ने चाहन्छु। जति बल गरेर संसद चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ। भोलि बिहान ११ बजेअघि नै सहमतिमा पुग्नुहोस्,’ सभामुखले प्रधानमन्त्री दाहाललाई भने। ‘सार्वजनिक सञ्चारमाध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन। अध्यादेशबाट बजेट ल्याउने, कानुन ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ,’ उनले भने।

Like