अब पाठेघर मुख क्यान्सरविरुद्ध खोप नियमित
रासंसा/काठमाण्डौ, बैशाख २७,
मुलुकमा चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ। महाशाखा प्रमुख डा. लालका अनुसार गाभीले दु्ई साताअघि नै प्रतिबद्धता पत्र पठाइसकेको छ। प्रतिबद्धता पत्र आएपछि खोप अभियानका लागि लाग्ने आवश्यक बजेटका लागि नयाँ बजेटमा प्रस्ताव गरी स्वास्थ्य मन्त्रालयलाई पठाइसकेको उनले बताए। खोप आपूर्ति गर्ने अन्तर्राष्ट्रिय खोप अभियान (गाभी) ले पर्याप्त मात्रामा खोप दिने प्रतिबद्धता पत्र पठाएपछि खोप नियमित हुने देखिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले बताए। ‘खोप अभियानका लागि थप बजेट आवश्यक पर्छ, त्यसका लागि बजेट माग गरेका हाैं’, उनले भने। प्रतिबद्धता पत्रअनुसार सबै किशोरीलाई पुग्ने गरी नयाँ आवभित्रै खोप आउने देखिएको छ। डा. लालका अनुसार यो खोप अभियानका लागि नेपाल सरकारको प्रयासस्वरूप गाभीले पठाउन लागेको हो। पाठेघरको क्यान्सरविरुद्धको खोप चालु आवमा भने सरकारले खरिद गरेर लिएको थियो। तर एकै पटक पठाउने या किस्ता–किस्तामा पठाउनेबारे स्पष्ट गरी पत्रमा उल्लेख नगरिएको डा. लालले बताए। तर नयाँ आवभित्र सबै किशोरीलाई पुग्ने गरी नै खोप आउने गाभीको पत्रबाट बुझिएको उनले जानकारी दिए। दुई डोजका दरले दिइएको सो खोप २० हजार डोज थियो र करिब १० हजार जना किशोरीलाई दिइएको थियो। निःशुल्क दिइएको सो खोप सरकारले ४० लाख रूपैयाँ खरिद गरेको थियो। ‘नियमित खोप कार्यक्रममा समेट्ने गरी नै हामीले गृहकार्य गरिसकेका छौं,’ उनले भने। अन्य खोपकोे तुलनामा एचपिपिभी खोप खरिद मूल्य महँगो मानिन्छ। आगामी वर्षदेखि चरण–चरणमा अभियानको रूपमा खोप दिइने र त्यसपछिका वर्षमा १० देखि १४ वर्षभित्रका किशोरीले नियमित लगाउने गरी सरकारले व्यवस्थापन गर्ने परिवार कल्याण महाशाखाले जनाएको छ। तर महिलामा भयावह रूपमा बनेको पाठेघरको मुखको क्यान्सरविरुद्धको काम यसले गर्ने हुनाले सरकारले महँगो भए पनि नियमित खोपमा समावेश गर्न लागेको डा. लालले बताए। ‘यो खोप पूरा डोज लगाउँदा महँगो पर्छ तर खोप खरिद गर्न लाग्ने खर्चभन्दा पाठेघरको मुखको क्यान्सर भएमा लाग्ने खर्च अत्यन्त बढी भएकाले नियन्त्रणमै खर्च गर्नु उचित देखिएको हो,’ उनले भने। ग्लोक्यानका अनुसार नेपालमा प्रतिदिन ६ जनाको पाठेघरको मुखको क्यान्सर पहिचान हुने गरेको छ। प्रजनन उमेर समूहका महिलामा असुरक्षित यौन सम्पर्कका कारण सर्ने भएकाले यो भाइरस यौनाङ्गमा पुग्नुअघि नै दिइन्छ। चिकित्सकका अनुसार एचपिपी खोपले पाठेघरको मुखकाे क्यान्सर लाग्नबाट बचाउँछ। सन् २०२२ को तथ्यांकअनुसार नेपालमा दुई हजार २४४ जनामा पाठेघरको मुखको क्यान्सर भएको थियो। नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप नियमित दिने तयारी भएको हो। यसअघि सरकारले सन् २०१६ र २०१७ मा चितवनमा नमुना खोप कार्यक्रम सञ्चालन गरेको थियो।