चुच्चे नक्सा अब सयको नोटमा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २२,

मुलुकमा चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ। अहिलेसम्म सय रुपैयाँ नोटको अग्र भागमा नेपालको पुरानै नक्सा रहँदै आएको छ। त्यसमा अतिक्रमित भूभाग लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्र समेटेर बनाइएको नक्सा फेरिएको थिएन। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सय रूपैयाँको नोटको पृष्ठभूमिको अग्र भागमा रहेको नेपालको पुरानो नक्साका ठाउँमा आगामी दिनमा चुच्चे नक्सा राख्ने निर्णय गरिएको जानकारी गराइन्। अहिले चलनचल्तीमा रहेका नोटहरूमध्ये सय रुपैयाँको नोटमा मात्र नेपालको नक्सा राखिएको छ। तर चुच्चे नक्सा जारी भएको चार वर्षसम्म सयको नोटमा पुरानै नक्सा प्रयोगमा छ। नेपालको चुच्चे नक्सा २०७७ सालमा संसद्बाट पारित भएको थियो। त्यसको चार वर्षपछि सरकारले सय रुपैयाँको नोटमा राखिएको पुरानो नक्सा विस्थापित गरी नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको हो। बिहीबारको मन्त्रिपरिषद् बैठकले सयको नोट डिजाइन परिवर्तन गर्न स्वीकृति दिएको हो। भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता गणेश भट्टले पहिलो पटक नेपाली नोटमा चुच्चे नक्सा राख्न लागिएको बताए। मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले डिजाइन परिवर्तन गर्न स्वीकृति दिएपछि नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको नोट छाप्नेछ। बंैकले अहिलेसम्म पुरानै नक्सा राखेर सय रूपैयाँको नोट छाप्दै आएको छ। सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा (चुच्चे नक्सा) सार्वजनिक गरेको थियो। त्यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। लिम्पियाधुरा महाकाली नदीको मुहान भएको ठहर गरी त्यसैलाई आधार मानेर लिम्पियाधुरा, लिपुलेक तथा कालापानीको क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्न समितिले सरकारलाई तीन पटकसम्म निर्देशन गरेको थियो। अहिले ओली प्रधानमन्त्री नभए पनि उनको पार्टी एमाले सरकारमा छ। वर्तमान सत्ता गठबन्धन निर्माणमा प्रमुख भूमिका खेलेका ओली अहिले सरकारको नेतृत्वमा नभए पनि निर्णयकजस्तै छन्। चुच्चे नक्सा जारी गर्नुअघि तत्कालीन ओली नेतृत्वको सरकारलाई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले २०७६ कात्तिकमा लिम्पियाधुरासहितको क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको थियो। नापी विभागका अनुसार विभागका प्राविधिकले स्केल, प्रोजेक्सन सिस्टम र कोअर्डिनेट सिस्टम मिलाएर नयाँ चुच्चे नक्सा तयार गरेका हुन्। नयाँ नक्सामा सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको नेपालको भूमि समेटिएको विभागका एक प्राविधिकले बताए। सरकारले चुच्चे नक्सा सार्वजनिक गरे पनि त्यसले आगेटेको आधिकारिक क्षेत्रफल भने अझै भारत अधीनस्थ छ । २०७६ कात्तिक १८ गते भारतले नेपालको भूभागसमेत समेटेर आफ्नो देशको नक्सा सार्वजनिक गरेपछि त्यसको व्यापक विरोध भएको थियो। त्यसको एक सातापछि कात्तिक २५ गते संसद्को राज्य व्यवस्था समितिको बैठकले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो। सरकारले जारी गरेको चुच्चे नक्सामा भारतद्वारा अतिक्रमित करिब ३३५ वर्गकिलोमिटर भूमि समेटिएको छ। नयाँ नक्सामा गुन्जी, नाभी र कुटी गाउँ समाविष्ट छन्। २०३२ सालमा जारी नक्सामा नेपालले दाबी गर्दै आएको लिम्पियाधुरा क्षेत्रको करिब ३३५ वर्गकिलोमिटरको भूभाग समेटिएको थिएन।

Like