अमेरिकी सञ्चारमाध्यमको इजराइलद्वारा इरानमाथि जवाफी आक्रमण भएको भनाइ
एजेन्सी,
विश्वमा इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ । सप्ताहन्तमा इरानले इजराइलमाथि सयौँ मिसाइल र ड्रोन प्रहार गरेपछि इजराइलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई रोकिएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार धेरै इरानी सहरमा हवाई रक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ । मुलुकको आधिकारिक प्रसारकले इस्फहान सहर नजिक विस्फोटको आवाज सुनिएको बताएको छ । इरानको फार्स समाचार समितिले कहजावरेस्तान, इस्फहान विमानस्थल र शेखरी सेनाको विमानस्थल नजिक ‘तीन वटा विस्फोट’ सुनिएको बताएको छ । इरानको अन्तरिक्ष एजेन्सीका प्रवक्ता होसेन डेलिरियनले भने ‘धेरै’ ड्रोनलाई ‘सफलतापूर्वक खसालिएको’ बताए । ‘मिसाइल आक्रमणको कुनै रिपोर्ट गरिएको छैन’, उनले सामाजिक सञ्जाल एक्समा भने। एबिसी र सिबिएस न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आक्रमण गरेको बताएका छन् । ह्वाइट हाउस वा पेन्टागनका तर्फबाट तत्काल कुनै टिप्पणी आएको छैन । सिएनएनले एक अधिकारीलाई उद्धृत गर्दै इजराइली आक्रमणको लक्ष्य आणविक नभएको बताएको छ । इजराइली सेनाले एएफपीलाई भनेको छ, ‘हामीसँग अहिले कुनै टिप्पणी छैन ।’ आधिकारिक आइआरएनए समाचार समितिले भनेको छ, ‘कुनै पनि हवाई खतराको प्रभावले कुनै ठूलो क्षति वा ठूलो विस्फोट नभएको रिपोर्टहरूले सङ्केत गरेका छन् ।’ इरानको तस्निम समाचार समितिले इस्फहानमा आणविक केन्द्रहरू ‘पूर्णरूपमा सुरक्षित रहेको’ रिपोर्ट गरिएको बताएको छ । सप्ताहन्तमा इरानले इजराइलमाथि आफ्नो पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो । इजराइलले आफ्ना सहयोगीहरूको सहयोगमा इरानले प्रहार गरेका तीन सय मिसाइल र ड्रोनमध्ये अधिकांशलाई रोकेको र कसैको मृत्यु नभएको बताएको छ । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि इरान समर्थित समूहहरूले राष्ट्रपति बशर अल–असदको सेनालाई बलियो बनाएका छन् । इरान प्यालेस्टिनी लडाकू समूह हमास र लेबनानको हिजबुल्लाहको पनि मुख्य समर्थक हो । इरानले सिरियाली राजधानी दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा अप्रिल १ मा भएको आक्रमणको प्रतिशोधमा इजराइलमाथि आक्रमण गरेको हो । वाणिज्य दूतावासमा भएको आक्रमणका लागि इरानले इजराइललाई दोषी मानेको थियो । उक्त आक्रमणमा इरानको रिभोल्युसनरी गार्डका दुई जनरलसहित सात जना मारिएका थिए । इजराइलमाथि इरानको आक्रमणपछि गाजा युद्धबाट ठूलो क्षेत्रीय प्रभावको आशङ्का बढेको छ । अक्टोबर ७ मा आक्रमण गरेर युद्ध सुरु गर्ने हमासलाई निमिट्यान्न पार्ने वाचा गर्नुभएका इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइलले इरानविरुद्ध ‘आफ्नो सुरक्षा गर्ने अधिकार सुरक्षित राखेको’ बताउनुभएको छ । युरोपेली सङ्घ (इयु) ले इरानको ड्रोन कार्यक्रमलाई प्रतिबन्ध लगाउने बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गर्दै भने, ‘हामी इरानलाई जवाफदेही बनाउँदैछौँ ।’ इजराइलको प्रमुख सहयोगी तथा सैन्य आपूर्तिकर्ता अमेरिकाले इरानमाथि प्रतिशोधात्मक आक्रमणमा सहभागी नहुने स्पष्ट गरेको छ । यद्यपि उसले इरानी आक्रमणमा परिचालन गरिएका ड्रोनको उत्पादनमा संलग्न मानिस र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको छ । इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले चेतानवी दिँदै इरानमाथि कुनै पनि आक्रमणका लागि इजराइलले ‘पश्चात्ताप’ गर्ने बताए। इरानमा यी विस्फोट सर्वोच्च नेता आयातुल्लाह अली खमेनीको ८५औँ जन्मदिनका अवसरमा भएको छ । शुक्रबार इरानका धेरै क्षेत्रमा उडानहरू रद्द गरिएको छ । युएईस्थित फ्लाईदुबई एयरलाइनले इरानका लागि उडानहरू रद्द गरेको छ ।