आज शनि प्रदोष व्रत, अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २४,

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। शनिबारका दिन प्रदोष व्रत परेकाले शनि प्रदोष व्रत भनिएको हो । प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने । प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ। पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस
हरेक वर्षको अप्रिल ६ तारीखको दिन खेलकुदले सामाजिक परिवर्तन, समुदायको बिकास र सबैमा शान्ति र समझदारीको भावना उजागर गर्न दिएको योगदानको सम्मान गर्दै अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइन्छ। जब किर्तिपुरको मैदानमा नेपाली क्रिकेट हेर्न खचाखच दर्शकहरुको भिड जम्मा हुन्छ, तब त्यो दर्शकको भीडमा कोहि धनि या गरीब हुदैन, कोहि ठुलो जातका या सानो जातका हुदैनन्, या भनौ कोहि पहाडका कोहि तराइका हुदैनन्। सबै एकै हुन्छन, सबै नेपाली हुन्छन। धेरैले याद गर्नु भएको होला, नेपालले कुनै पनि खेल जित्दा “नेपाल जिन्दाबाद”को नारा लगाउने भिडमा जति एकताको भावना सायदै कतै देखिन्छ। यो प्रभाव खेल को हो, विश्वलाई एक सुत्रमा बाध्ने विभिन्न खेलहरुको। समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा यूएनले विश्वव्यापी रूपमा मनाउने यो दिवस नेपालमा पनि मनाइँदै आएको छ। संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन शुरु गर्ने निर्णय गरेको हो। खेलकुद एउटा विश्वब्यापी भाषा हो, यो समाजमा हुनेगरेको सबै किसिमको भेदभावबाट मुक्त हुन्छ। खेलकुदले युवा महिला र पुरुष जनसङ्ख्या, व्यक्तित्व र समुदायहरूको साथसाथै स्वास्थ्य, शिक्षा र सामाजिक उद्देश्यहरूको सशक्ततालाई प्रोत्साहन पनि गर्दछ। खेलकुदका माध्यमबाट विश्वभर शान्ति, बिकास, गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो। यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेसनल युनिभर्सिटी स्पोर्टस, एफआईए फाउन्डेसन, इन्टरनेसनल काउन्सिल अफ स्पोर्टस साइन्स एन्ड फिजिकल एजुकेसनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले समेत यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए। खेलकुद सधै एउटा शुद्द खेल मात्र होस्, यसमा राजनीति नहोस् , भारत र पाकिस्तान बिचको सम्बन्ध जे जस्तो भएपनि यिनीहरुको आउन लागेको विश्वकपमा प्रतिष्पर्धा हेर्न विश्व उत्सुक छ। खेलमा जति सुकै प्रतिद्वन्दी भावना भएपनि खेल सकिएपछि खेलाडीहरुले एक अर्का सँग हात मिलाउने या फुटबलमा जर्सी साट्ने बानिले यसको शुद्दता बयान गर्छ। 2024 को विश्वव्यापी नारा हो, शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धनका लागि खेलकुद “Sport for the Promotion of Peaceful and Inclusive Societies”. ” जसले खेलकुदको प्रयोगलाई प्रगति र समद्धिको उपकरणको रूपमा प्रवर्द्धन गर्ने अवसर सिर्जना गर्दछ। मानव अधिकार र दिगो विकासको पैरवी गर्दै यस वर्ष विश्वका हरेक देशहरुले खेलकुदको महत्वलाई आत्मसाथ गर्नेछन् ।

Like