भारत, पाकिस्तानमासमेत कभर हुने गरि वीरगन्जमा कल सेन्टर खोलेर ठगी धन्दा गर्ने चिनियाँ गिरोह पक्राउ

Share to:

रासंसा/पर्सा, चैत्र १८,

मुलुकमा सामाजिक सञ्जाल र मोबाइल फोनमार्फत नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकका नागरिकलाई विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी गर्ने चिनियाँ गिरोहलाई वीरगन्जबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक र चिनियाँ भाषाको अनुवाद गर्ने दुई जना नेपाली छन्। तीमध्ये चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। अनुवादक दुई जना नेपालीको भने प्रहरीले परिचय खुलाएको छैन। पक्राउ पर्ने चिनियाँ नागरिकमा हुवान प्रान्तका ३३ वर्षीय लियु सियु साइ, हुबेइ प्रान्तका २६ वर्षीय वाङ्ग बोहान र हुबेइ प्रान्तकै ३६ वर्षीय छियाङ्ग छियो रहेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवास्थित साढे दुई तल्ले घर भाडामा लिएर कल सेन्टर स्थापना गरी अनलाइन ठगीको धन्दा चलाइरहेका चिनियाँ गिरोहलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। वीरगन्जमा दुई महिनादेखि कल सेन्टर कार्यालय नै स्थापना गरेर अनलाइन चिठ्ठा, अनलाइन सपिङलगायत विभिन्न प्रकारका प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना करिब डेढ महिना पहिले प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा शनिबार अपरान्ह प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा डेरा लिएर बस्दै आएका लियु र वाङ्गलाई तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ६ बाट छियाङ्गलाई नियन्त्रणमा लिएको थियो। पूरा घर नै भाडामा लिएर सञ्चालन गरिएको उक्त कल सेन्टरको कार्यालयबाट डेक्सटप कम्प्युटर १२० थान, मनिटर ११८ थान, ल्यापटप ४ थान, विभिन्न ब्राण्डका मोबाइल ३५ थान, भारतीय जियो मोबाइलको सिम १३ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाइफाइ राउटर २ थान, इन्भर्टर २ थान, विभिन्न बैंकको एटिएम कार्ड तीन थान, मलेसियन मुद्रा ३७ रिंगिट , कम्बोडियन मुद्रा ३ हजार पाँच सय र नेपाली रुपैयाँ ४३ हजार तथा पक्राउ परेका तीनै जना चिनियाँ नागरिककको पासपोर्ट तीन थान बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए। उनीहरूलाई नियन्त्रणमा लिएलगत्तै पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल नेतृत्वको प्रहरी टोलीले उनीहरूले कल सेन्टर स्थापना गरेको वीरगन्ज-१५ लक्ष्मणवास्थित नन्दु पटेलको घरमा पुगेर छापा मारेको थियो। त्यसक्रममा उक्त घरमा सञ्चालित कल सेन्टरबाट प्रहरीले ठूलो परिमाणमा विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल सेट, सिमकार्डलगायतका सामग्री बरामद गरेको थियो। त्यस्तै उक्त घरबाटै बीआर ०१ सिएक्स ५७९२ नम्बरको सेतो रंगको आई ट्वान्टी कार एक थान र प्र.२-०३-०११ प १३६७ नम्बरको एफजेड मोटरसाइकल १ थानसमेत बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताए। वीरगन्जको होटल भिस्वाबाट प्रहरीले थप दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो। तर, पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले अनुसन्धानका क्रममा थप दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिए पनि अनुसन्धानका क्रममा उनीहरूको संलग्नता नदेखिएको बताए। प्रहरीको अनुसन्धानका क्रममा ती दुई चिनियाँ नागरिक पर्यटकका रूपमा वीरगन्जमा घुम्न आएको खुलेकाले उनीहरूलाई आवश्यक प्रक्रिया पूरुा गरी रिहा गरिने बताए। त्यस्तै पक्राउ परेका चिनियाँ भााषका अनुवादक दुई नेपाली नागरिकलाई पनि तारिखमा रिहा गरिने ढुंगेलले बताए। आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले यो गिरोहमा संलग्न तीन जना चिनियाँ नागरिकलाई मात्र पक्राउ गरेको जानकारी दिए पनि प्रहरीले अन्य दुई जना चिनियाँ नागरिकलाई पनि नियन्त्रणमा लिएको छ। पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीन जना चिनियाँ नागरिकले पटेलको घर भाडामा लिएर दुई महिनादेखि कल सेन्टर कार्यालय स्थापना गरी कर्मचारीसमेत राखेर अनलाइन ठगी गर्दै आएका थिए। नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकमा रहेका व्याक्तिहरूसँग सामाजिक सञ्जाल र मोबाइल फोनमार्फत अनलाइन चिठ्ठा परेकोलगायतका प्रलोभनमा पारेर उनीहरूले ठगी गर्दै आएको खुलेको जानकारी ढुंगेलले दिए। नियन्त्रणमा लिइएका मोबाइल फोनमा रेकर्ड भएका संवाद चिनियाँ भाषामा रहेको र बयानका क्रममा उनीहरूले चिनियाँ भाषामै बोलिरहेकाले चिनियाँ भाषाविद् र अनुवादकलाई बोलाएर थप अनुसन्धान गरिने ढुंगेलले बताए। त्यसपछि मात्रै यो गिरोहका वास्तिवकता खुल्ने उनले बताए। पक्राउ परेका चिनियाँ नागरिकले विभिन्न देशका नागरिकबाट अनालइन ठगी गरेको रकम भारतका विभिन्न बैंकमार्फत कारोबार हुने गरेको देखिएको उनले बताए। उनीहरूले यो धन्दाका लागि नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकमा आफ्ना एजेन्ट पनि राखेको तथ्य अनुसन्धानका क्रममा खुलेको ढुंगेलले बताए।

Like