आज सोमबारदेखि काठमाडौं विमानस्थलमा उत्तरबाट जहाज अवतरण निषेध
रासंसा/काठमाण्डौ, चैत्र १९,
मुलुकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक मात्र धावनमार्गका दुवै विन्दुमा भइरहेको निर्माणका कारण यही अप्रिल–१ सोमबार देखि बौद्धतर्फको उत्तरी विन्दु (२०) बाट तीन महिनालाई जहाज अवतरण गराउन नपाइने भएको छ । नियमले काठमाडौंबाट आँखाको सहायताले हुने भिजुअल फ्लाइट रुल्स (भीएफआर) मा आधारित उडान उड्ने तथा त्यही विन्दुबाट अवतरण हुने पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । काठमाडौं विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर छ । उत्तरबाट अवतरण/उडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले चालकदलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी–वेबाट माथि जहाज लैजान पाउने छैनन् । उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेकाले सोमबारदेखि तीन महिनालाई उत्तरी विन्दुबाट जहाज अवतरण गर्न रोक लगाइएको विमानस्थलभित्र पूर्वाधारमा कार्यरत ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ का निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले जनाए । ‘९० दिनभित्र उत्तरतर्फको धावनमार्गमा समानान्तर ट्याक्सी–वे निर्माण सक्ने योजना छ । त्यसपछि काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुनेछ,’ उनले भने । पूर्वाधार विस्तारको सूचना अन्तर्राष्ट्रिय उड्डयन नियमअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि नै सार्वजनिक गरिसकेको छ । उसले धावनमार्ग विस्तार र छोटो हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रावधानअनुसार अन्तर्राष्ट्रिय प्रकाशन एआईपीमार्फत उड्डयनसँग सम्बन्धित प्रकाशन एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआईपी) मा प्रकाशन पनि गरिसकेको हो । यो सूचनापछि वायुसेवाहरूले ‘जानकारी पाइएन’ भन्न पाउँदैनन् । भवितव्य भए उनीहरू नै जिम्मेवार हुनुपर्छ । काठमाडौं विमानस्थलले वार्षिक १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ को एसियाली विकास बैंकको गुरुयोजनाअनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ वटा न्यारोबडी पार्किङ गर्न एप्रोन, तीन किलोमिटर लामो धावनमार्गका दुवै विन्दुबाट जहाज पस्न–निस्कन इन्ड–टू–इन्ड प्यारलल ट्याक्सी–वे, जहाज मर्मत गर्न ह्यांगरलगायतका भौतिक पूर्वाधार तथा निर्माणका काम भइरहेका छन् । गुरुयोजनाअनुसार विमानस्थलको स्तरोन्नतिको काम गर्न १५ अर्ब रुपैयाँ लागतमा तीन फरक–फरक विदेशी निर्माण व्यवसायीले काम गर्दै आएका छन् । ३ हजार ५० मिटर लामो धावनमार्ग तीन महिनाका लागि २ सय ३६ मिटर छोटो हुँदा साना विमानलाई नभई ३ सय हाराहारी यात्रु उडान क्षमता भएका एयरबस ए–३३० र बोइङ ७८७ विमान सञ्चालन गरिरहेका नेपाल वायुसेवा निगम, कतार एयर, टर्किस एयर, क्याथे प्यासिफिकलगायतका वायुसेवाको भारवहनमा असर पर्न सक्ने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन् ।