प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच मध्यरातसम्म छलफल

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १४,

मुलुकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गएराती छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग छलफल गर्न मंगलबार बेलुका पौने १० बजे सभापति देउवा गएका हुन्। मंगलबार दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो। त्यसपश्चात कांग्रेसका अन्य नेता लिएर सभापति देउवा बालुवाटारमा प्रचण्डलाई भेट्न गएका हुन्। भेटमा देउवाले आन्तरिक रुपमा गम्भीर छलफल नगरी गठबन्धन परिवर्तन गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको छ। स्रोतले भन्यो, ‘प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा पौने १० बजे आउनुभएको थियो। भेटमा टीआरसी विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भयो।’ नयाँ गठबन्धन बनेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक छलफल भएको हो।उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। इलाम-२ र बझाङको प्रदेशसभा–१ मा बैशाख १५ गते निर्वाचन हुँदैछ। एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई र बझाङको प्रदेशसभा–१ मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। अन्य दलले हालसम्म उम्मेदवार तय गर्न सकेका छैनन्।

Like