पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

Share to:

रासंसा/मोरङ, माघ ५,

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए। शनिबार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। “पूर्वमुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किंदै हुनुहुन्थ्यो। बाटोमा हातपात भएछ। ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।” “हामी निवास फर्किंदै थियौँ, सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्‍यो।” पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा १ झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए। आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ। विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन्। प्रहरीले आक्रमणस्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ।

Like