रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपाली नागरिकको नदेखिने लासको संख्या कहिलेसम्म गन्ने ?

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ०२,

मुलुकमा रुस–युक्रेनबीच भएको युद्धमा मारिने नेपाली युवाको संख्या दैनिक बढिरहेको छ । अरूको मुलुकको स्वतन्त्रताका लागि नेपाली युवाहरू भाडाको सैनिकका रूपमा लडिरहँदा त्यसलाई रोक्न असफल भएको सरकार नदेखिने लास गनिरहेछ । रुस सरकारले औपचारिक रूपमा थप सात नेपालीको मृत्यु भएको सूचना दिएपछि परराष्ट्रले विज्ञप्ति जारी गरेको हो । यसअघि, परराष्ट्रले रुसी सेनामा भर्ती भएका १२ नेपालीको मृत्यु भएको जनाएको थियो । सात जना थपिएसँगै रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या १९ पुगेको छ । एकपछि अर्को गर्दै नेपाली युवा मृत्यु हुनेको संख्या बढिरहँदा सरकारको कूटनीतिक पहल असफलसिद्ध भइरहेको छ । सरकारले मृतकको ग्राफ मात्रै सार्वजनिक गरिरहँदा लास होइन अस्तुसमेत ल्याउन नसकिरहेका बेला बिहीबार परराष्ट्र मन्त्रालयले थप सात जना नेपाली युवाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । रुस–युक्रेन युद्ध नरोकिएसम्म यो संख्या अझै बढ्ने अनुमान लगाउन गाह्रो छैन । किनकि, नेपाल सरकारले नेपाली युवालाई भर्ना नगर्न गरेको आग्रह मानिरहेको छैन । परराष्ट्रका अनुसार, पछिल्लोपटक रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने सात नेपालीमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । ‘यस मन्त्रालय दिवंगत नेपालीहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको परराष्ट्रले जनाएको छ । नेपालमा रोजगारीको अवसर नहुनु र धेरै पैसा कमाइने लोभमा संगठित मानव तस्करलाई १० देखि १५ लाखसम्म बुझाएर उनीहरू दुबई, भारत, कतार हुँदै रुससम्म पुगेका छन् । रुसी सेनामा भर्ना भई घाइते भएका १० भन्दा बढी नेपाली युवा उपचारका लागि काठमाडौं आएर उपचार गराइरहेका छन् । यहाँ उपचार गराउन आएकाहरूलाई नेपालस्थित रुसी दूतावासले सामाजिक सञ्जालको सम्पर्कबाट टाढा रहन भनेको एक घाइतेले बताए । एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको मृत्युको घटना यत्तिकैमा नरोकिने सजिलै अनुमान लगाउन सकिन्छ । युद्धमा मारिनेसँगै नेपालबाट भर्ना हुन जानेको संख्या पनि उत्तिकै रहेको छ । रुसले दोस्रो दर्जाका रूपमा राखेको भाडाका सैनिकमा भर्ती हुन जाने नेपालीमध्ये धेरैजसो माओवादीको सशस्त्र युद्धमा सामेल भएका पूर्वलडाकु र पूर्वसुरक्षाकर्मी छन् । मृत्यु हुनेमा अधिकांश निम्नमध्यम वर्गीय परिवारका धेरै छन् । लामो समयदेखि रुसमा नेपालीहरू मारिएको घटनाको विवरण आइरहँदासम्म सरकारले कूटनीतिक पहल गरेको बाहेक कुनै ठोस उपलब्धि गर्न सकेको छैन । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका करिब साढे दुई दर्जन नेपालीको शव रुसले नेपालमा रहेका परिवारलाई दिन मानेको छैन । नेपाल सरकार ‘अस्तु’ भने पनि पठाइदेऊ भन्दै अनुनय–विनय गरिरहेको छ । परराष्ट्र मन्त्रालयले बारम्बार पत्राचार गरी रुसी सेनामा भर्ती भएका नेपालीको विवरण माग्दा रुसले उपलब्ध गराएको छैन । नेपालको दबाबपछि युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन रुस तयार भए पनि सो रकम कहिले उपलब्ध गराउने भन्ने टुंगो लागेको छैन । रुसमा भर्ना भएका नेपालीहरूलाई विदेशी सञ्चारमाध्यमले भाडाका सैनिकमा भर्ना भएका भनेर खबरहरू प्रकाशित गरिरहेका छन् । अहिलेसम्म कति नेपाली रुसी सेनामा भर्ना भएका छन् भन्नेसम्म सरकारले देखाउनसक्ने अवस्था छैन । नेपालले पटकपटक नेपालीलाई सेनामा भर्ती नगर्न अनुरोध गर्दा पनि बेवास्ता गर्दै रुसले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गरी युक्रेनसँगको युद्धमा पठाउँदै आएको छ । नेपालले रुसी सेनामा भर्ती हुनुलाई अवैध र अन्तर्राष्ट्रिय कानुनविपरीत धारणा राख्दै आएको छ । तर, मानव तस्कर र एजेन्टहरूले अनेक प्रलोभन देखाई नेपालीलाई रुस पु¥याई सेनामा भर्ती गराउनेक्रम रोकेका छैनन् । रुसी सेनामा भर्ना भएका युवाहरूको परिवारले नेपाल सरकार र रुसी दूतावासलाई आफ्ना आफन्त फिर्ता गर्न हारगुहार गरिरहँदा पनि कुनै सुनुवाइ हुनसकेको छैन । झन्डै ५ सयबढी नेपालीका परिवारले सरकारसँग बारम्बार अनुनय गरिरहँदा पनि सरकारले रुसी समकक्षीसँग वार्ता गर्ने बाहेक कुनै उपलब्धि देखाउनसकेको देखिँदैन । ‘यस मन्त्रालयको १८ पुस २०८० को निर्णयानुसार रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गरिएकामा सो निर्णयबाट यसअघि नै बसोबास गरिरहेका एवं विभिन्न कामका सिलसिलामा नेपाल आई पुनः रुस फर्किन नेपालीहरूलाई असहज भएकाले सोको सहजीकरण गर्ने उद्देश्यले हाललाई रसियाका लागि स्थगन गरिएको श्रम स्वीकृति नवीकरण पुनः सुचार गर्ने सम्बन्धमा यस मन्त्रालयको ९ फागुन २०८० को निर्णय (सचिवस्तर) भएको हुँदा तहाँको जानकारी तथा आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ,’ श्रम मन्त्रालयले विभागलाई पठाएको पत्रमा उल्लेख छ । एकातर्फ रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता गर्न आह्वान गरिरहेको सरकारले अर्कोतर्फ नेपालीलाई श्रम स्वीकृति नवीकरण गरिरहेको छ । श्रम मन्त्रालयले गत ९ फागुनमा सचिवस्तरीय निर्णयबाट रुसका लागि श्रम स्वीकृति नवीकरण पुनः सुचारु गर्ने निर्णय गरेको छ । निर्णयको जानकारी मन्त्रालयले वैदेशिक रोजगार विभागलाई गराइसकेको छ । नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीहरूको शव पठाउन इन्कार गरिरहेको छ । रुसी सेनामा भर्ती भई मृत्यु भएका नेपालीको शव वा अस्तु पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत् हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकिएको छ । यता, पीडित परिवारले सरकारसँग आफ्नो सन्तानको सद्गत गर्नका लागि शव पठाउन नसके अस्तु भए पनि चाहियो भनिरहेका छन् । ‘दुईपटकसम्म रुसलाई पत्राचार गर्दा पनि जवाफ नपठाएपछि पछिल्लो समय ‘अस्तु पठाइदेऊ’ भनेका छौं, तर जवाफ अझै आएको छैन,’ मन्त्रालय स्रोतले भन्यो । ‘हामीले पटकपटक नेपालीको शव पठाउन अनुरोध ग¥यौं, तर रुसले हाम्रो कुरालाई गम्भीर रूपमा लिएन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तीनपटक त कूटनीतिक नोट नै पठाइसक्यौं, तर कुनै जवाफ आएको छैन ।’ एकपटक मस्कोस्थित नेपाली दूतावासमार्फत् रुसी विदेश मन्त्रालय र दुईपटक काठमाडौंमा रहेको रुसी दूतावासमार्फत नेपालले कूटनीतिक असन्तुष्टि जनाएको हो । रुसले नेपालीहरू रुसी सेनामा भर्नागर्दा मृत्यु भएमा वा मारिएमा शवको अन्त्येष्टि स्थानीय कानुनअनुसार गरिनेछ भनेर हस्ताक्षर गराउने गर्छ । सेनामा भर्ती भएपछि पालना गर्नुपर्ने नियम र मृत्यु भएमा रुसको परम्परानुसार सद्गत गर्ने कुरा उल्लेख भएको हुन्छ । सोही सहमतिपत्रकै आधारमा रुसले नेपालीहरूको शव नेपाल पठाउन इन्कार गरेको हो । यसअघि मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको परराष्ट्र मन्त्रालयले गत १६ मंसिरमा विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरेको थियो । गत १७ पुसमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिनुसार पछिल्लो समय तीन जनाको मृत्यु भएको थियो । ०७५७३७२८ नम्बर राहदानी भएका स्याङ्जाका हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ भएका धादिङका राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको थियो । २९ कात्तिकमा मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भएका इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रूपक कार्की र दोलखाका राजकुमार रोकाको मृत्यु भएको भन्दै ८ मंसिरमा परराष्ट्र मन्त्रालयमा पत्र पठायो । त्यसपछि नेपालले औपचारिक रूपमा रुसी सेनामा नेपाली भर्ती भएको स्वीकार गरेको थियो । ४ पुसमा परराष्ट्रले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनः अनुरोध गरेको थियो नेपालीहरूको मृत्यु हुनेक्रम बढेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर रुसमा नजान र आफ्ना नागरिकलाई रुसी सेनामा भर्ना नगर्न÷नगराउन आग्रह गरेको थियो । तर, रुसले नेपालीको आग्रहलाई इन्कार गर्दै सेनामा भर्ती गर्ने क्रमलाई निरन्तरता दियो । ४ पुसमा जारी विज्ञप्तिमै परराष्ट्रले पहिलोपटक युक्रेनले चार नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो । युक्रेनले युद्धबन्दी बनाएका चार नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन् । २४ फेबु्रअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युद्ध चलिरहेको छ, रोकिने लक्षण छैन । रुसले युक्रेनमाथि आक्रमण गर्ने बित्तिकै नेपालले विज्ञप्ति जारी गर्दै युक्रेनको पक्ष लिँदै रुसको आलोचना गरेको थियो । तर, सोही मुलुकमा सेना भएर युद्ध लड्न नेपाली लामबद्ध भइरहेका छन् । संयुक्त राष्ट्रसंघमा विभिन्न निकायमा भएका प्रस्तावमा पनि नेपालले युक्रेनलाई साथ दिएको थियो । राष्ट्रसंघमा नेपालले खुलेर युक्रेनको पक्ष लिएका कारण पनि रुस नेपालसँग असन्तुष्ट भएको देखिन्छ ।

Like