आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार हो – प्रधानमन्त्री प्रचण्ड
रासंसा/काठमाण्डौ, फाल्गुण २८,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन्। ग्याल्बो ल्होसारको शुभकामना दिँदै उनले समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी भएको उल्लेख गरेका हुन्। पूर्वी हिमाली क्षेत्र लगायत देशका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको उनको शुभकामना सन्देशमा उल्लेख छ। शेर्पा समुदायको मौलिक परम्परा अनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहिआएको छ। ‘नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी हुन्।’प्रचण्डले भनेका छन्, ‘यी उपलब्धीको रक्षा एवं सुदृढीकरण गर्दै एक-अर्काको संस्कार र संस्कृतिको सम्मानसहित आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो।’ प्रचण्डले ल्होसारले आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वासका व्यक्त गरेका छन्।