आज पूर्णिमा व्रत, हनुमान जयन्ती, बालाजु बाइस धारा मेला, बैसाख स्नान प्रारम्भ, अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ३०,

श्रीगुरु चरन सरोज रज, निज मनु मुकुरु सुधारि। बरनऊं रघुबर बिमल जसु, जो दायकु फल चारि।। बुद्धिहीन तनु जानिके, सुमिरौं पवन-कुमार।
बल बुद्धि बिद्या देहु मोहिं, हरहु कलेस बिकार।। जय हनुमान ज्ञान गुन सागर। जय कपीस तिहुं लोक उजागर।। रामदूत अतुलित बल धामा। अंजनि-पुत्र पवनसुत नामा।। महाबीर बिक्रम बजरंगी। कुमति निवार सुमति के संगी।। कंचन बरन बिराज सुबेसा। कानन कुंडल कुंचित केसा।। हाथ बज्र औ ध्वजा बिराजै। कांधे मूंज जनेऊ साजै। संकर सुवन केसरीनंदन। तेज प्रताप महा जग बन्दन।। विद्यावान गुनी अति चातुर। राम काज करिबे को आतुर।। प्रभु चरित्र सुनिबे को रसिया। राम लखन सीता मन बसिया।। सूक्ष्म रूप धरि सियहिं दिखावा। बिकट रूप धरि लंक जरावा।। भीम रूप धरि असुर संहारे। रामचंद्र के काज संवारे।। लाय सजीवन लखन जियाये। श्रीरघुबीर हरषि उर लाये।। रघुपति कीन्ही बहुत बड़ाई। तुम मम प्रिय भरतहि सम भाई।। सहस बदन तुम्हरो जस गावैं। अस कहि श्रीपति कंठ लगावैं।। सनकादिक ब्रह्मादि मुनीसा। नारद सारद सहित अहीसा।। जम कुबेर दिगपाल जहां ते। कबि कोबिद कहि सके कहां ते।। तुम उपकार सुग्रीवहिं कीन्हा। राम मिलाय राज पद दीन्हा।। तुम्हरो मंत्र बिभीषन माना। लंकेस्वर भए सब जग जाना।। जुग सहस्र जोजन पर भानू। लील्यो ताहि मधुर फल जानू।। प्रभु मुद्रिका मेलि मुख माहीं। जलधि लांघि गये अचरज नाहीं।। दुर्गम काज जगत के जेते। सुगम अनुग्रह तुम्हरे तेते।।
राम दुआरे तुम रखवारे। होत न आज्ञा बिनु पैसारे।। सब सुख लहै तुम्हारी सरना। तुम रक्षक काहू को डर ना।। आपन तेज सम्हारो आपै। तीनों लोक हांक तें कांपै।। भूत पिसाच निकट नहिं आवै। महाबीर जब नाम सुनावै।। नासै रोग हरै सब पीरा। जपत निरंतर हनुमत बीरा।। संकट तें हनुमान छुड़ावै। मन क्रम बचन ध्यान जो लावै।। सब पर राम तपस्वी राजा। तिन के काज सकल तुम साजा। और मनोरथ जो कोई लावै। सोइ अमित जीवन फल पावै।। चारों जुग परताप तुम्हारा। है परसिद्ध जगत उजियारा।। साधु-संत के तुम रखवारे। असुर निकंदन राम दुलारे।। अष्ट सिद्धि नौ निधि के दाता। अस बर दीन जानकी माता।। राम रसायन तुम्हरे पासा। सदा रहो रघुपति के दासा।। तुम्हरे भजन राम को पावै। जनम-जनम के दुख बिसरावै।। अन्तकाल रघुबर पुर जाई। जहां जन्म हरि-भक्त कहाई।। और देवता चित्त न धरई। हनुमत सेइ सर्ब सुख करई।। संकट कटै मिटै सब पीरा। जो सुमिरै हनुमत बलबीरा।। जै जै जै हनुमान गोसाईं। कृपा करहु गुरुदेव की नाईं।। जो सत बार पाठ कर कोई। छूटहि बंदि महा सुख होई।। जो यह पढ़ै हनुमान चालीसा। होय सिद्धि साखी गौरीसा।।
तुलसीदास सदा हरि चेरा। कीजै नाथ हृदय मंह डेरा।। पवन तनय संकट हरन, मंगल मूरति रूप। राम लखन सीता सहित, हृदय बसहु सुर भूप।।

हनुमान एउटा बाँदर देवता हुन् । कलियुगमा श- शरीर उपस्थित हुनु भएक भगवान केवल हनुमान मात्रै हुन् । उनी रामायणको सबैभन्दा दयावान् अनि शक्तिशाली पात्रका रुपमा चिनिन्छन् । ऐतिहासिक रूपमा अझै उत्खनन र अन्वेषण गर्नुपर्ने हनुमान, धार्मिक रूपमा एउटा कोशेढुङगा अनि सामाजिक रूपमा मानिसले पुजेका जनावर देवता हुन् । आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए। त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् । हनुमानकी आमा अञ्जना एउटी अप्सरा हुन् । अन्जानेरी पर्वतमा जन्मिएकी अन्जना आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा बृहस्पतिका छोरा केशरी हुन् । त्यसबाहेक, हनुमानका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक ५ साना भाइहरू छन्। चकचके र चञ्चले स्वभावका हनुमानले साधु सन्तलाई दुःख दिने, ऋषिहरूको तपस्यामा बाधा पुर्याउने गर्थे । त्यसैले एकपटक एउटा ऋषिले उनलाई आफ्नो शक्ति बिर्सने र अरु कसैले सम्झाइ दिए मात्रै आफ्नो शक्तिको याद आउने श्राप दिन्छन् । वनबास आएको बेला पत्नी सीता हराएकी चिन्तामा भएका रामको भेट आफ्नो भक्त हनुमानसँग भयो । हुन त भगवान् श्रीरामको जन्म भएपछि बालक रामको दर्शन गर्न हनुमान महादेव मदारीको रुप धारण गरि अयोध्या गएका थिए । उनले त्यसबेला बालक रामलाई आफ्नो वानर नृत्य देखाएर फर्किएका थिए । हनुमान भगवान् रामका परम भक्त थिए । हनुमान प्रत्येक समय भगवान राम र सिताको सेवाको लागि तत्पर रहन्थे । उनको भक्ति भाव साह्रै अनुकरणीय छ । त्यसैले उनलाई भक्ति शिरोमणि भनिन्छ । त्यसबाहेक, हनुमानलाई बजरङ्गबली, केशरी नन्दन, पवन कुमार, मारुती, संकट मोचक आदि नामहरूले पनि चिनिन्छ । लङ्कामा मेघनाथ र लक्ष्मण बीच युद्ध हुँदा मेघनाथको वाण लागेर लक्ष्मण घायल भए । आफ्नो भाइको त्यो अवस्था देखेर श्रीराम विलाप गर्न थाले । त्यसपछि एकजना वैधले लक्ष्मणलाई बचाउने सञ्जीवनी बुटी पर्वतमा पाइने बताएपछि हनुमानले त्यो पर्वत पुगे । तर त्यहाँ सञ्जीवनी बुटी कुन हो भनेर पत्ता लगाउन भने सकेनन् । त्यसपछि हनुमानले त्यो पर्वत नै उठाएर लक्ष्मण भएको ठाउँमा लिएर आए । त्यो सञ्जीवनी बुटी लगाएपछि लक्ष्मण ठिक हुन्छन् । अंगद, जामवंतजस्ता वीरहरूले १०० योजन लामो समुन्द्र पार गर्न नसक्ने भएपछि श्री रामको आज्ञा मानेर समुन्द्रमा उफ्रिएर हनुमान पारि लङ्का पुगे, त्यहाँ पुगेर उनी लंकिनीहरुसँग बच्दै सीतालाई राखिएको अशोक वाटिका पुगे र श्रीरामको सन्देश सीतालाई दिए। त्यही अशोक वाटिकाको फलहरू तोडेर खाँदै गर्दा एकजना सैनिकले हनुमानलाई देखेर उनलाई बन्धक बनाएर रावणको अगाडि लागे । त्यहाँ रावणले सैनिकलाई हनुमानको पुच्छरमा आगो लगाउने आदेश दिए । हनुमानको पुच्छरमा आगो लागेपछि उनले त्यहीँ पुच्छरको आगोले एक ठाउँबाट अर्को ठाउँ उफ्रिदै गएर लङ्का जलाए । हनुमानले सीता माता बस्ने भएकाले अशोक वाटिका र श्री रामको नाम अंकित गरिएकाले विभीषणको घर भने जलाएनन् । लङ्कामा रावणको वध गरेर अयोध्या फर्किएपछि एकदिन सभामा माता सीताले हनुमानको शक्ति र उनले गरेको मद्दतको लागि उनलाई मोतीको हार दिन्छिन् । तर हनुमानले त्यो हार स्वीकार्दैनन् । हनुमानले यदि कुनै वस्तुमा राम नभए त्यो वस्तु आफूलाई स्वीकार्य नभएको बताउँछन् । त्यसपछि सभामा हनुमानको नशा नशामा राम नभए हनुमान नि बेकार भएको भनेर सबैले हनुमानलाई गिज्याउन थाल्छन् । त्यसपछि हनुमानले आफ्नो छाती चिरेर आफू भित्र भएको राम सिता सभामा भएका सबैलाई देखाइदिन्छन् । भगवान् हनुमानको पूजा नेपाल र भारतमा मात्र नभई बंगलादेश, म्यानमार, थाइल्यान्डमा लगायतका देशहरूमा गरिन्छ । थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा सुरक्षाको लागि भनेर हनुमानका दर्जनौँ मूर्ति राखिएका छन् । त्यहाँको स्थानीय भाषामा भने भगवान हनुमानलाई अर्कै नामले पुकारा गरिन्छ। रावणसँग युद्ध पश्चात् रामले बिदाइ गर्ने क्रममा हनुमानलाई उसको इच्छा सोध्दा हनुमानले संसारमा रामको नाम चलि रहुन्जेलसम्म आफू पृथ्वी लोकमै रही रहने इच्छा प्रकट गरेपछि भगवान् रामले वरदान दिनुभएको थियो । यसअर्थमा हनुमान जीवित देवताका रुपमा अझै पनि हामीमाझ छन् । लङ्काबाट अयोध्या फर्किएपछि सीताको सिउँदोमा सिन्दूर देखेर हनुमानले जिज्ञासा प्रकट गर्दछन् । सीताले यो विवाहित महिलाले आफ्नो पतिको जीवनको दीर्घायुको लागि लगाउने गर्छन् भनेर जवाफ दिनु हुन्छ । यो सुन्ने बितिक्कै हनुमानले पनि आफ्नो पुरै शरीरमा सिन्दूर लगाउँछन् । यो देखेर भगवान रामले प्रसन्न हुँदै भन्नु हुन्छ कि जो कोहीले हनुमानलाई सिन्दूर लगाइदिन्छन् उनीहरूको बाधा , कठिनाइ दुःखहरू जीवनबाट हट्ने छन् ।
शास्त्र अनुसार भगवान हनुमानको जन्म मङ्गलवार भएकाले मङ्गलवार हनुमानको पूजा गरिन्छ । त्यसबाहेक, भगवान् हनुमानको पूजा शनिवार पनि गरिन्छ ।
हनुमान चालिसा हनुमानको सम्पूर्ण चरित्रको वर्णन हो । यो गाएर सजिलै हनुमानको भक्ति गर्न सकिन्छ ।
वैसाख स्नान प्रारम्भ
न माधवसमो मासों न कृतेन युगं समम्।
न च वेदसमं शास्त्रं न तीर्थं गंगया समम्।।
अर्थात् वैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन र गङ्गाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट वैशाख स्नान सुरुवात भएको छ । आजबाट तीर्थमा जाने, जल कुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्नाले सम्पूर्ण पाप नास भइ मोक्ष प्राप्त हुने विश्वास रहेको छ । चैत्त शुक्ल पूर्णिमवाट बैशाख स्नान औपचारीक रुपमा सुरु भएको छ ।
बालाजु बाइस धारा मेला
काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनि बाइस धारा भन्ने ठाउँ छ । वास्तवमा नै २२ वटा धारा भएको यो ऐतिहासिक ठाउँलाई आजको मितिमा पार्कको संज्ञा दिइएको छ । बाइसधारा मेलाको आफ्नै धार्मिक र सामाजिक महत्व छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ बर्षेनी मेला लाग्ने गर्छ । यो दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउने गरेको उल्लेख छ । यस स्थानलाई नेवार समुदायले ल्हुति भन्ने गर्छन् । नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र उक्त फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले उक्त पानी औषधिय महत्वको रहेको विश्वास गरिन्छ । यस कारण पनि बाइसधाराको पानीमा नुहाउँदा चर्मरोग निको हुने विश्वास गरिन्छ । ल्हुति फलको यस अनुपम फाइदालाई आत्मसाथ गर्दै बाइसधारामा नुहाएर स्फूर्ति प्राप्त गर्ने हजारौं पुस्ताहरूको मुस्कान बाइसधाराको मुहानमा गाँसिएको छ । के मान्यता छ भने यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइसधारामा नुहाई–धुवाई गरेमा फलिफाप हुन्छ । किंवदन्ती अनुसार, विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूप उत्पत्ति भयो । यसैको सम्झनामा ल्हुतिपूर्णिमा मनाउने गरिएको हो । विश्वकै सबैभन्दा सानो मुद्रा प्रचलनमा ल्याउने राजा जयप्रकश मल्लले आफ्नो जीवनकालमा बालाजु ढुंगेधारा र गोकणेश्वरमा मन्दिर बनाए । त्यसबेला उनले बालाजुमा २१ वटा धारा बनाएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा ढुंगेधारा स्थापना गरे । यसरी मल्ल राजाको पालामा २१ र शाहवंशका राजाका पालामा एक गरी २२ वटा धारा भएको यस ठाउँलाई बाइस धारा भन्न थालियो । त्यसपछि वि.सं. २०१८ मा राजा महेन्द्रको पालामा यो पार्कको आधुनिक खाकासहित निर्माण शुरु भएर वि.सं. २०२१ सालदेखि सबैका लागि यो उद्यान सार्वजनिक गरिएको हो । राजा महेन्द्रको पालामा निर्माण भएका कारण यस उद्यानलाई महेन्द्र पार्क पनि भनिन्छ । तनहुँका आदिकवि भानुभक्त काठमाडौं आउँदा बालाजु देखे । त्यो बालाजुका उनले गरेका काव्यिक वर्णन यसप्रकार छ ।
यति दिनपछि बल्ल बालाजु देख्याँ
पृथ्वीतलमा स्वर्ग हो जानी लेख्याँ।
आज पनि बाइस धारा परिसरमा रहेको आदिकविको शालिकले यो क्षेत्रको सौन्दर्यको बयान गर्छ । चैत्र पूर्णिमामा यहाँ भव्य मेला लाग्छ । बाइसधाराले सबैको रोगव्याधहरू हरण गरोस् । यहाँको मुहान कहिल्यै नसुकोस् । शुभकामना ।
पूर्णिमा व्रत
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ । वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
आज भन्दा लगभग ६२ वर्ष अगाडिको हो । अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो। सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र सङ्घको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको हो । रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रूपमा मनाउँदछ भनेँ पूर्व सोभियतसंघका कतिपय राज्य र ठाँउहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ । आजको दिनले मानवअधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्त्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ। आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ। युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यस बेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो, उनले यही योगदानको लागी हिरो अफ सोभियत युनियनू शीर्षकले सम्मानित गरिएको थियो। संयुक्त राष्ट्र सङ्घको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको सङ्कलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ। आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ ।यसै गरी अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधिको सहायताले मानव आज मङ्गल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरू गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूको चर्चाका साथै चुनौतीहरूको समीक्षा पनि गर्दछ । आकाश पन्चतत्व मध्य एक विशाल अनि अन्वेषण गरिन बाँकी एउटा तत्त्व हो । आकाश अनि अन्तरिक्षले मानवको मस्तिष्कमा धेरै कौतुहलता र प्रश्नहरू उत्पन्न गरेको छ । चन्द्र छुने इच्छा, आकाश टेक्ने अनि बादलहरू माथिको कौतुहलता र तारापुञ्जहरुका चलायमानताका सूत्रहरू, मानवले सधैँ खोजिनै रहेको हुन्छ । यस वर्षको लागि विशेष नारा तोकिएको पाइएन यद्धपि अन्तरिक्षयात्री सुनिता विलियम्स र वच विलमोर करिब ९ महिना भन्दा बढि अन्तरिक्षमा रहेर फर्केका या फर्काउन सकिएको सन्दर्भमा केन्द्रित हुने अपेक्षा राखिएको छ । उनीहरु सन् २०२५ को मार्च १८ मा पृथ्वी फर्किएका हुन् । सन् १९८३ मा, नेपाल बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोग को लागि संयुक्त राष्ट्र समितिको सदस्य भएको हो । यस सङ्गठन बाह्य अन्तरिक्षको शान्तिपूर्ण अन्वेषण र प्रयोगमा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्न जिम्मेवार छ। सन् २०१२ मा, नेपालले आफ्नो पहिलो स्याटलाइट ग्राउन्ड स्टेसन काठमाडौँमा स्थापना गर्‍यो, रिमोटसेन्सिङ उपग्रहहरूबाट मौसम पूर्वानुमान, विपद् व्यवस्थापन र कृषि जस्ता विभिन्न अनुप्रयोगहरूको लागि डाटा प्राप्त गर्न यस स्टेसन स्थापना गरिएको थियो। सन् २०१९ मा नेपालको पहिलो भूउपग्रह नेपालीस्याट–१ जापानले अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान का नेपाली विद्यार्थीहरूले डिजाइन र निर्माण गरेको उक्त भूउपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आइएसएस बाट प्रक्षेपण गरिएको हो । अर्कोतर्फ सन् २०२५ मा नेपाली स्याट–१ लाई पृथ्वीबाट करिब ४०० किलोमिटर उचाइमा रहेको कक्षमा पठाएको ६ वर्ष पूरा भएको छ । दुई नयाँ उपग्रह अन्तरिक्ष प्रतिष्ठान नेपालका रिसर्च फेलोले बनाएको ‘डाँफे’ र उनीहरूले निर्देशन दिएका हाई स्कुलका विद्यार्थीहरूले बनाएका मुनाल नामका उपग्रहहरू हुन्। सन् २०२३ को पेरिफेरिमा चाँही त्रिभुज आकारको नेपाली झन्डाका सूर्य र चन्द्रमा सहितको नेपाली विद्यार्थीले डिजाइन गरेको भूउपग्रहहरू छिट्टै कक्षमा जाने भएका बताइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्यमा क्युब स्याटेलाइट परियोजनाअन्तर्गत अन्तरिक्षमा पठाइने यो दोस्रो सानो यान हो । यो परियोजना नेपालको आफ्नै इन(हाउस स्याटेलाइट क्षमता विकास गर्ने र भविष्यका अन्तरिक्ष इन्जिनियरहरूलाई तयार गर्ने प्रयासको एक हिस्सा हो। बेलाबखतमा आइरहने भूकम्प र बाढी जस्ता विपत्तिहरूको पूर्व सूचनाका लागि नेपाली भूउपग्रहहरूको उपयोगिता धेरै रहन्छ भन्ने आशा राखौँ ।

Like