पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ पक्राउ, १४ किलो सुन प्रकरण

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १४,

मुलुकमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुन प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ पक्राउ परेका छन्। दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे अनुसन्धान हुनुका साथै मुद्दा चलिरहेको छ। जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ। सुन तस्करीमा संलग्न रहेको अभियोगमा सोमबार बिहान सामाखुसीबाट गुरुङलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार सीआईबीको टोलीले गुरुङलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा दुबईबाट सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो। पर्वत जिल्ला घर भएका गुरुङविरुद्ध भन्सार कार्यालयले थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट प्रक्राउ पुर्जीसमेत जारी गरेको छ। उनी डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्षसमेत हुन्। गुरुङलाई पक्राउ पुर्जी जारी भएपछि फरार थिए। गुरुङलाई भन्सार कार्यालय बुझाइसकिएको सीआईबीका प्रवक्ता बोगटीले बताए।

Like