पर्यटनमन्त्रीको अध्यक्षतामा महाशिवरात्रि पर्वका लागि मूल समिति गठन

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १४,

मुलुकमा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्व मनाउन पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा ४१ सदस्यीय मूल समिति गठन भएको छ । विगतमा दुई सयभन्दा धेरै सदस्य रहने गरी ठूलो समिति गठन हुने गरेकोमा यो वर्ष चुस्त समिति बनेको छ । समितिको सदस्यहरूमा पर्यटन राज्यमन्त्री, सांसद गगन थापा, राष्ट्रिय योजना आयोगका सदस्य, काठमाडौं महानगरपालिकाका मेयर, पशुपतिनाथ मन्दिरका मूल भट्ट, पर्यटन मन्त्रालयका सचिव, गृह मन्त्रालयका सचिवलगायत विभिन्न सरकारी निकायका प्रतिनिधि छन् । परिषद्का सदस्य बाबुशरण सुवेदीको संयोजकत्वमा प्रचारप्रसार, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, हरिनाथ ढकालको संयोजकत्वमा साधु, सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, रेणुका पराजुलीको संयोजकत्वमा वातावारण, सरसफाइ तथा जुत्ताचप्पल व्यवस्थापन, शिक्षित पराजुलीको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था र डा.भरतप्रसाद बडालको संयोजकत्वमा मेला बजार तथा साजसजावट उपसमिति गठन गरिएको छ । त्यस्तै, आठवटा उपसमिति पनि बनेका छन् । सदस्यसचिव राजु खत्रीको संयोजकत्वमा सुरक्षा व्यवस्था, कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा स्वयंसेवक परिचालन, परिषद्का सदस्य रामेश्वर संगतको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रिकालीन व्यवस्था उपसमिति गठन भएको छ । यो वर्ष २५ फागुनमा महाशिवरात्रि रहेको छ । पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि भव्यताका रूपमा मनाउन तीव्र तयारी भइरहेको सदस्यसचिव खत्रीले बताए ।

Like