पोषणयुक्त चामल अब दुर्गममा

Share to:

रासंसा/सुर्खेत, फाल्गुण १३,

मुलुकमा कर्णालीको दुर्गम क्षेत्रका नागरिकले अब पोषिलो चामल (पौष्टिक तत्व मिसाएर स्तरोन्नति गरिएको चामल) पाउने भएका छन्। चाडबाडका बेलामा समेत चामल नपाउने समस्या बेहोर्दै आएका दुर्गमका नागरिकलाई अब पौष्टिक तत्व मिलाएर स्तरोन्नति गरिएको पोषिलो चामल उपलब्ध गराउन लागिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका ५ जिल्लामा पोषिलो चामल वितरण थालिएको जनाएको छ। यहाँका हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालीकोटमा यो चामल वितरण हुनेछ। यी जिल्लाले वर्षौंदेखि खाद्य संकट भोग्दै आएका छन्। खाद्यान्नको अभाव झेल्दै आएका यी जिल्लामा कम्पनीले अनुदानमा चामल ढुवानी गरेर बिक्री तथा वितरण गर्दै आएको छ। तर, ती जिल्लाहरूमा पौष्टिक तत्वको अभावमा कुपोषणको समस्या बल्झिएपछि त्यसलाई न्यूनीकरण गर्न पोषिलो चामल उत्पादन गरेर वितरण सुरु गरिएको कम्पनीले जनाएको छ। यो चामलको प्रयोगले दुर्गममा कुपोषणका कारण हुने बाल मृत्युदरलाई कम गर्न सहयोग पुग्ने जनाइएको छ। यस्तै गर्भवती, वृद्धवृद्धा र बालबालिकाका लागि यो चामल बढी उपयोगी हुनेछ। खाद्य कम्पनीका अनुसार २०७४ मा यो चामलको बाजुरामा परीक्षण भइसकेको छ। स्थानीयले यो चामललाई रुचाएको र सकारात्मक प्रभाव देखिएपछि कर्णालीका ५ जिल्लामा पनि वितरण गर्न थालिएको थापाले बताए। स्तरोन्नति गरिएको पोषिलो चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनलगायतका पौष्टिक तत्व मिसाइएको छ। पहिलो चरणमा सन् २०२४ को अक्टोबरसम्म ७ हजार मेट्रिकटन पोषिलो चामल वितरण गर्ने लक्ष्य कम्पनीको छ। कुपोषणको समस्यालाई न्यूनीकरण गर्न पहिलो चरणमा ५ जिल्लाका लागि ६ सय क्विन्टल पोषिलो चामल वितरण गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रमुख भीम थापाले जानकारी दिए। उनका अनुसार विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल उत्पादन गरिएको हो। ‘बर्दियाको राजापुरमा पौष्टिक तत्व मिलाइएको चामल उत्पादन सुरु भएको छ। चामलमा पौष्टिक तत्व मिलाउनका लागि मेसिन जडान गरेका छौं। भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाएपछि मेसिनबाट चामलजस्तै आकार र रङ हुने गरी उत्पादन हुन्छ। यही चामल दुर्गमका बासिन्दालाई उपलब्ध गराउने छौं’, विभागीय प्रमुख थापाले भने।

Like