नगरपालिकाको होडिङ बोर्ड फिल्मी शैलीमा चोरी गर्ने तीन पक्राउ

Share to:

रासंसा/झापा, माघ २९,

मुलुकमा भद्रपुरमा फिल्मी शैलीमा फलामे होडिङ बोर्ड चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। आइतबार साँझ भद्रपुर नगरपालिका–४ स्थित रंगियाडाँडादेखि ज्ञानेचोकसम्म सडक किनारमा नगरपालिकाले राखेको फलामे होडिङ बोर्ड चोर्दाचोर्दै उनीहरूलाई भद्रपुर नगर प्रहरीले पक्राउ गरेको हो। उनीहरूले मे १ च ६३७६ नम्बरको पिकअप गाडी चढेर होडिङ बोर्ड चोर्न भद्रपुर आएका थिए। फिल्मी शैलीमा उनीहरूले रंगियाडाँडादेखि ज्ञानेचोकसम्मका ८ वटा होडिङ बोर्ड फलाम काट्ने ह्याक्सोले काटेर पिकअपमा हालिसकेका थिए। पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१४ का ३१ वर्षीय अमित राजवंशी, मेचीनगर– १० का अन्दाजी १८ वर्षीय राजीव उराव र एक जना पिकअप चालक रहेको नगर प्रहरीका असई चन्द्र प्रधानले जानकारी दिए। स्थानीयले होडिङ बोर्ड काट्दै गरेको अवस्थामा उनीहरूसँग सोधपुछ गर्दा पुरानो भइसकेको र अब नयाँ लगाउने भन्ने जवाफ फर्काएका थिए। उनीहरूमाथि शंका लागेपछि स्थानीयले तत्काल नगर प्रहरीलाई खबर गरेका थिए। यता वडा प्रहरी कार्यालय भद्रपुर इन्स्पेक्टर सञ्जीव बोगटीसँग आरोपी तीन जनाको नाम माग्दा आफू बाहिर रहेको र घटनाबा बारेमा अनुसन्धान भइरहेको जवाफ फर्काए। उनले घटनाको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्तासँग लिन आग्रह गरे। नगर प्रहरी तत्काल घटनास्थल पुगेर उनीहरूलाई पिकअप र होडिङ बोर्डसहित नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाउन लैजाँदै गर्दा भद्रपुर बजार पुग्दा तीनै जना पिकअपबाट ओर्लिएर भागे। उनीहरूलाई नगर प्रहरीको टोलीले खेदाउँदै पुनः नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरलाई बुझाएको असई प्रधानले जानकारी दिए।

Like