तेश्रो वृत्ति मार्ग-निर्देशन तथा राेजगार मेला २०८० शुरु
बिष्णु बहादुर खड्का/काठमाण्डौं, माघ १२,
मुलुकमा यहि माघ ११ गतेदेखि तेश्रो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला अर्थात बुढानीलकण्ठ करियर फेयर सुरु भएको छ ।
मेलाको प्रमुख अतिथि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्म कुमार भुसालले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बाेल्नु हुदै प्रमुख अतिथि डा. भिष्म कुमार भुषालले वृत्ति र रोजगारीको खोजिमा अलमलिरहेका युवा जमातको लागी निकै महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । नगरपालिका प्रशासनीक भवन परिसरमा २ दिनसम्म चल्ने मेलामा विभिन्न क्षेत्रका ४२ वटा स्टल रहेका छन् ।
बेरोजगार युवा, गृहीणी महिला तथा एस.ई.ई. र +२ दिएर बसेका विद्यार्थीहरुलाई आवश्यक तालिम र परामर्श प्रदान गर्दै रोजगारीमा स्थानन्तरण गर्ने उद्देश्यका साथ मेला आयोजना भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीले गर्नुभएको थियो । अन्य अतिथिहरुमा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, दिगो सम्मानीत रोजगारीका लागी सिप परियोजनाका डेप्युटि टिम लिडर कन्चन तामाङ, नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा/शाखा प्रमुख, विश्व शान्ति महाअभियानका अभियानता तथा मल्लखम्ब याेगका वल्र्ड च्याम्पियन याेग गुरु प्राे.डा. शान्तिदुत याेगयात्री विष्णुले मेलामा आफ्नो विचार सहित याेग,ध्यान,आयुर्वेद तथा प्राकृतिक चिकित्साको प्रस्तुतिकरण राख्नु भएको थियो भने
विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र नगरपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बुढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा भएको २ दिने मेलाको पहिलो दिनमा भ्रमण अवलोकनमा आएका ६३८० जनाले उपस्थिति दर्ता गराएको आयोजकले जनाएको छ । आयोजकका अनुसार १५ हजार भन्दा बढिलाई यस मेलामा सहभागि गराउने लक्ष्य रहेको छ । र बढी भन्दा बढी बेरोजगार व्यक्तिहरुलाई सिप र तालिम दिने जनाईएको छ ।
नगरप्रवक्ता नवराज भट्टराईले मेलाको पहिलो दिन नै ६ हजार पाँचसय भन्दा बढि युवाहरु मेलामा सहभागी भएका जानकारी दिनुभयो । उहाँले दुईदिन संचालन हुने मेलामा नगरले आँकलन गरेका भन्दा धेरै युवाहरुले सहभागिता जनाउनसक्ने अनुमान गरेको बताउनुभएको छ । यस मेला मार्फत नगरपालिकामा स्वरोजगारीको अवसरहरु सिर्जना गर्दै युवालाई वैदिशिक रोजगारीमा पठाउनु भन्दा स्वदेशमै उद्यमी तथा स्वरोजगार बन्न सक्ने सम्भावनाहरु मार्ग निर्देशन गर्ने र आवश्यकता अनुसार स्थानीय सरकारबाट उनिहरुको क्षमता अभिवृद्धि गर्ने अथवा विँउ पुँजी रकम सहयोग गर्ने बताउँनुभयो ।
आफ्नो व्यस्तताका कारण उद्घाटन कार्यक्रममा उपस्थित नहुनुभएका नगर प्रमुख मिठाराम अधिकारी र अनिता लामाले दिउँसो मेलाको अवलोकन भ्रमण गरी विद्यार्थी र स्टल संचालकहरु संग अन्तरक्रिया गर्नुभएको थियो ।
नगरप्रमुख मिठाराम अधिकारीले विदेशियका युवालाई देशमै केही गरौं भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले युवाहरु पढ्ने वा रोजगारीमा विदेश जाँदा ठुलो मात्रामा देशको आर्थिक हिस्सा विदेशिएको बताउनुभयो । जसका कारण पनि देशमा आर्थिक संकट आएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “देश छोडेका युवा विदेशमै पलायन हुने भएकाले देशमा विभिन्न समस्या भएको छ । पढ्न भनेर गएका युवाहरु नेपालमै फिर्किएर नयाँ काम गरेका छैनन् । त्यसैले युवालाई देशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्नेर उत्प्रेरणा दिन पनि नगरले कार्यक्रम आयोजना गरेको हो ।”
नगर उपप्रमुख अनिता लामाले नगरका युवालाई स्वरोजगार प्रदान गर्न र युवा शक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उदेश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले ज्ञान, सीप, क्षमता भएका सम्भावना बोकेका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राख्नुभयो । उपप्रमुख लामाले नगरको आ.व. ०८0/८१ को नीति कार्यक्रममा पहिला शिक्षालाई प्रथामिकता दिने र दोस्रो स्वरोजगारका समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको जनाउनुभयो ।
मेलामा ४२ भन्दा बढि रोजगार प्रदायक र सिपमुलक तालिम तथा परामर्श दिने संघ संस्थाहरुले स्टल राखिएका छन् । सम्पुर्ण स्टलहरुको व्यवस्थापन निःशुल्क गरिएको छ । साथै मेलामा प्रवेश शुल्क पनि निःशुल्क छ ।
मेला अवलोकन गर्न आएका विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा ‘मेरो भविष्य’ सम्बन्धीत विषय विज्ञहरुले सामुहिक परामर्श दिनुभएको थियो ।
अवलोकनमा आउनुभएका विद्यार्थी, युवा तथा गृहिणी महिलाहरुले सिप सिकाउने संस्था लगायत रोजगारदाताहरु सँग प्रत्यक्ष संवाद गरेका थिए । सहभागिहरुले यस मेलाबाट वृत्ति विकास सम्बन्धी परामर्श पाएकोमा र संस्थाहरु सँग प्रत्यक्ष संवाद गर्न पाँउएकोमा खुसि व्यक्त गरेका छन् । अधिकांशले तालिम प्रदायक संस्थामा तालिमका लागी फारम भरेका छन् भने रोजगारीमा ईच्छा देखाउनु भएकाहरुलाई केही संस्थाले रोजगारी समेत प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।
नगरपालिकाको अनुसार आर्थिक वर्ष २०७८/७९ मा बुढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक यस मेलाको सुरुवात गरेको थियो । उक्त मेलामा २५६० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्ये १५७० जनाले प्रत्यक्ष परामर्श पाएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।
यस्तै, यसको दोश्रो संस्करणमा १०४८० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्य ५०४० जनाले प्रत्यक्ष परामर्श पाएको र १७ जनाले रोजगारी समेत प्राप्त गरेका थिए ।
यस तेश्रो मेलामा करिब १५ हजार जनाले अवलोकन भ्रमण गर्ने थुप्रैले राेजगारकाे अवसर सक्ने आयोजकले अपेक्षा राखेको छ ।