गृह प्रवेश भगवान् रामको हुँदैछ अयोध्यामा
एजेन्सी,
विश्वमा झन्डै पाँच सय वर्षपछि रामनगरी अयोध्या दुलहीझैं सिंगारिएको छ। राममन्दिरको पूर्वपट्टिको प्रवेशद्वार झकिझकाउ छ। हरेक दिन विशेष अनुष्ठान चलिरहेको छ। १ सय २१ जना ब्राह्मणहरूले अनुष्ठान गरिरहेका छन्। राममन्दिरको सिंगारपटारको त कुरै नगरौं। मन्दिरको गर्भगृहमा भगवान् रामको मूर्ति छ। पहिलो तलामा दरबार। भारत सरकारले १ हजार ८ सय करोड भारतीय रुपैयाँको लागतमा मन्दिरको निर्माण गर्दैछ। ४४ वटा द्वार (ढोका) हुने मन्दिरमा ३ सय ९२ पिलर छन्। तीन तलाको राममन्दिरको निर्माण सम्पन्नपश्चात् पूर्वपश्चिम दिशामा ३ सय ८० फिट लम्बाइको हुनेछ। २ सय ३५ फिट चौडाइ र र १ सय ८० फिट चौडाइ हुने जनाइएको छ। हरेक तला २० फिट उचाइको हुने छ। जमिनबाट गर्भगृहको चुचुरोको उचाइ १ सय ६१ फिट हुनेछ। पिलर र ढोकाहरूमा विभिन्न भगवान्का मूर्तिहरू कोरिएका छन्। यो बेला सूर्य उत्तरायणमा प्रवेश गरेका छन्। ज्योतिषहरूले शुभसाइत जुराएका छन्। यही शुभसाइतमा सोमबार राममन्दिरमा प्राणप्रतिष्ठा गरिँदैछ। मन्दिर उद्घाटनको दिन घरघरमा दीपोत्सव हुँदैछ। मन्दिरमा पाँचवटा मण्डप तयार हुँदैछन्। नृत्य मण्डप, रंग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप नाम दिइएको छ। सोमबार मध्याह्न १२ बजेर २० मिनेटमा प्राणप्रतिष्ठा सुरु हुनेछ। दिउँसो १ बजे प्राणप्रतिष्ठा समापन हुने अपेक्षा गरिएको छ। त्यस दिन भारत सरकारले आधा दिन छुट्टी दिएको छ। राममन्दिर ७० एकडमा निर्माण हुँदैछ। दैनिक ४ हजार ५ सय मजदुरले काम गरिरहेका छन्। परियोजना सम्पन्न हुँदासम्म २ हजार करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको छ। मन्दिर निर्माणका लागि ४ करोड मानिसले स्वेच्छाले चन्दा सहयोग गरेका छन्। कम्तीमा एक हजार वर्षको आयु रहने गरी बलियो ढंगले मन्दिरको निर्माण गरिएको छ। मन्दिर निर्माणमा फलामको प्रयोग गरिएको छैन। ग्रेनाइट पत्थरबाट मन्दिर बनाइँदै छ। प्राचीन नागर शैलीमा बनाइएको मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा बनेको छ। यसको लम्बाइ ३ सय ८० फिट र चौडाइ २ सय ५० फिट छ। मन्दिर क्षेत्रको ७० एकडमध्ये ३० प्रतिशत क्षेत्रमा मात्रै भौतिक संरचनाको निर्माण गरिने जनाइएको छ। बाँकी हरियाली क्षेत्र रहनेछ। मन्दिर निर्माणलाई तीन चरणमा बाँडिएको छ। मन्दिरको ग्राउन्ड फ्लोरको निर्माणलाई पहिलो चरण मानिएको छ। त्यो पूरा भएकाले मूर्ति स्थापना गर्न लागिएको बताइएको छ। डिसेम्बर २०२४ सम्ममा मन्दिरको सम्पूर्ण निर्माणकार्य पूरा हुने लक्ष्य राखिएको छ। त्यस्तै, २०२५ को डिसेम्बरसम्ममा मन्दिर परिसरको निर्माण सम्पन्न गरिनेछ। अयोध्यामा महर्षि वाल्मीकि विमानस्थल र अयोध्याधाम रेल्वे स्टेसनको उद्घाटन भइसकेको छ। प्रधानमन्त्री मोदीले दक्षिण भारतका केही अन्य मन्दिरको पनि भ्रमण गरेका छन्। केही दिन अघि केरलाको श्री रामास्वामी मन्दिरमा पूजा गरेका थिए। भारतीय प्रधानमन्त्री मोदीले अन्न त्यागेर नरिवल पानी लिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्राणप्रतिष्ठाको दिन उनले विशेष व्रत त्याग्ने छन्। प्रधानमन्त्री मोदीले यसअघि नै भारतका विभिन्न सहरबाट अयोध्यालाई जोड्ने कैयौं नयाँ ट्रेनहरूको शुभारम्भ गरिसकेका छन्। यी सबै परियोजनाका लागि १५ हजार करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान छ। मन्दिर निर्माणसँगै सत्तारूढ भारतीय जनता पार्टीले अयोध्याको चौतर्फी विकासका विभिन्न परियोजना अघि बढाएको छ। सडक फराकिलो गर्ने, विमानस्थलको निर्माण, रेल्वे स्टेसनको आधुनिकीकरणलगायत ५० बढी प्रोजेक्टमा काम भइरहेको छ। प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व्रत बसिरहेका छन्। कम्बल मात्र प्रयोग गर्छन्। नरिवल पानी पिउँछन्। भुइँमा सुत्छन्। पछिल्ला केही दिनमा प्रधानमन्त्री मोदीले भारतका विभिन्न मन्दिरमा पूजाआजा गरेका छन्। उनले महाराष्ट्रको कालाराममन्दिरको पनि दर्शन गरे। त्यसपछि रामकुण्ड पुगे। जनवरी १६ मा उनले आन्ध्र प्रदेशको वीरभद्र मन्दिरमा पनि पूजा गरेका थिए। प्रधानमन्त्री मोदीले जटायुसँग सम्बन्धित कथा पनि सुनेका थिए। प्राणप्रतिष्ठा समारोहलाई ऐतिहासिक अभूतपूर्व बनाउने गरी पूर्वतयारी गरिएको छ। भारतीय प्रधानमन्त्री मोदी मात्र नभई विभिन्न मुलुकका व्यक्तित्वहरूको उपस्थित हुँदैछ। कार्यक्रममा सहभागी हुने साढे ६ हजारभन्दा बढी विशेष अतिथिलाई निमन्त्रणा पठाइएको छ। पूर्ण रूपमा तयार भएपछि पूर्व–पश्चिम दिशामा ३ सय ८० फिट लामो, २ सय ३५ फिट चौडा र १ सय ६१ फिट चौडा हुनेछ। मन्दिरको प्रत्येक तल्ला २० फिट अग्लो हुनेछ। यसमा जम्मा ३ सय ९२ वटा स्तम्भ र ४४ वटा गेट हुनेछन्। अयोध्यामा विशेष सुरक्षा व्यवस्था कडा छ। सुरक्षार्थ ब्ल्याक कमान्डो परिचालन गरिएको छ। जनकपुरबाट सजाइएका गाडीहरू अयोध्यातर्फ गइसकेका छन्। यसअघि नै नेपालबाट शिला, जल र विभिन्न उपहार पठाइएका थिए। सन् १५२६ मा मुगल सम्राट् बाबर भारत आएको दुई वर्षपछि उनका सुभेदार मीरबाकीले राम जन्मभूमिमा मस्जिद निर्माण गरेका थिए। १९औं शताब्दीमा, मुगल शासन कमजोर भयो। ब्रिटिस शासन बलियो भयो। यस अवधिमा हिन्दूहरूले भगवान् रामको जन्मस्थल मन्दिर भत्काएर मस्जिद बनाएको मुद्दा उठाएका थिए। त्यसपछि रामलीलाको जन्मभूमि फिर्ता लिन कानुनी लडाइँ सुरु भयो। १८५९ मा ब्रिटिस शासकहरूले विवादित स्थलमा बार लगाए। मुस्लिमहरूलाई भित्री र हिन्दूहरूलाई बाहिरी भागमा प्रार्थना गर्न अनुमति दिइयो। राममन्दिर–बाबरी मस्जिदसम्बन्धी मुद्दाले भारतीय राजनीतिलाई समेत प्रभावित पाथ्र्यो। अदालतले दशकौं पुरानो मुद्दालाई सौहाद्र्रपूर्ण तरिकाले समाधान ग¥यो। तर, धेरैको कौतुहल थियो, ‘मन्दिर निर्माणको कार्ययोजना कस्तो होला ?’ तत्कालीन प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षता रहेको पाँच सदस्यीय संवैधानिक इजलासले सर्वसम्मतिमा राममन्दिर–बाबरी मस्जिद मुद्दामा अन्तिम फैसला सुनाएको हो। फैसला १०३५ पृष्ठ लामो छ। यो विवाद अन्ततः अदालत पुग्यो। पहिलो मुद्दा सन् १८८५ मा दर्ता भयो। जुन १३४ वर्षपछि २०१९ नोभेम्बर ९ मा सर्वोच्च अदालतको निर्णयबाट टुंगिएको थियो। ४० दिनसम्म चलेको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै भारतीय सुप्रिम कोर्ट (सर्वोच्च अदालत) ले गरेको फैसलाले मन्दिर निर्माणको द्वार खोलेको हो। अदालतले २०७६ कात्तिक २३ (२०१९ नोभेम्बर ९) मा फैसला गरेको थियो। अदालतको फैसलापछि २०२० अगस्ट ५ मा भूमिपूजनको साथ राममन्दिरको निर्माण सुरु भयो। साढे दुई वर्षमा मन्दिरको पहिलो तलाको काम सम्पन्न भयो। फैसलामा ट्रस्ट बनाएर राममन्दिर निर्माण गर्नका लागि तीन महिनाभित्र विस्तृत कार्ययोजना बनाउनसमेत अदालतले आदेश दिएको थियो। फैसला सुनाउने दिन नेपाल भारतको सीमा बन्द गरिएको थियो। पूरै उत्तरप्रदेशको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। स्कुलहरू समेत बन्द थिए। सर्वोच्च अदालत आसपासको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको थियो। भारतीय प्रधानमन्त्री मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फैसलालाई हारजितका रूपमा नलिन अपिल गरेका थिए। अदालतले मस्जिद निर्माणका लागि अन्यत्र ५ एकड जमिन उपलब्ध गराउनसमेत आदेश दिएको थियो। फैसलापछि प्रधानमन्त्री मोदीले ५ अगस्ट २०२० मा मन्दिरको शिलान्यास गरेका थिए। मिथिलाञ्चको परम्परा हो, छोरीको घरबाट ज्वाईंको घरमा उपहार पठाउने । सोही परम्परालाई निरन्तरता दिँदै चाँदीको धनुष, चाँदीकै खराउ, सुन एवम् चाँदीका गरगहना, ठेकुुुवा, विभिन्न किसिमका मिठाई, चामल, दाल, फलफूल अयोध्या पठाइएको छ। ती उपहारहरू महोत्तरीको जलेश्वरको हुलाकी राजमार्ग हुँदै कलैया पुगेका थिए। वीरगन्जमा रात्रि विश्राम गरी श्रद्धालुहरू रक्सौल, बेतिया, गोपालगन्ज, गोरखपुर हुँदै उत्तरप्रदेशको अयोध्या पुगेका थिए। यो त्यही मार्ग हो, जहाँबाट श्रीराम र सीता जनकपुर पुगेका थिए। जनकपुरवासीमात्र नभई अन्य ठाउँका बासिन्दा पनि आ–आफ्नो तरिकाले उपहारहरू लिएर गएका छन्। सीता माताको जन्मभूभि जनकपुरधामबाट १ हजार १ सय भन्दा बढी उपहारहरू पठाइँदै छ। सजिसजाउ गाडीमा विभिन्न किसिमका उपहारहरूले भरेर पठाइएका थिए। ५ बस, ४ ट्रक र २० भन्दा बढी साना गाडीहरूमा उपहारहरू पठाइएको छ।मुस्ताङको प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड र मुक्तिनाथबाट बग्दै आउँछ, कालीगण्डकी नदी। कालीगण्डकीलाई कृष्णगण्डकीको उपमाले चिनिन्छ। यस पवित्र नदीको किनारका शिलालाई शालिग्रामका रूपमा लिइन्छ। शालिग्राम भगवान् विष्णुको अवतार मानिन्छ। यही नदीमा मात्र शालिग्राम शिला पाइने बताइन्छ। २०७९ माघ १ गते शिला उत्खनन गरिएको थियो। उत्खनन गर्नुपूर्व क्षमापूजासहित शिलापूजा गरिएको थियो। बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदीकिनारमा गण्डकी प्रदेशका तत्कालीन प्रमुख पृथ्वीमान गुरुङले शुभसाइतमा धार्मिक विधिअनुसार क्षमापूजा गरेका हुन्। ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुई थान शिला म्याग्दीबाट दुईवटा लहरीमा लगिएका थिए। २०७९ माघ १९ गते जनकपुर जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई एक समारोहबीच हस्तान्तरण गरेका थिए। हस्तान्तरणका बेला विधिवत् पूजापाठ र मन्त्रोचारण गरिएको थियो। उक्त समारोहमा पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपालबाट गएका सयौं श्रद्धालुको सहभागिता थियो। मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालीगण्डकी नदीबाट शिला (ठूलो पत्थर) अयोध्या पुर्याइएको छ। दुईवटा शिलाको पहिचान, नापजाँचको काम सकिएपछि पठाउनुअघि क्षमापूजा गरिएको थियो। शिलाको तौल १८ र १६ मेट्रिकटन छ। देव शिलाको नाम दिइएका दुई शिला एक हजार वर्षभन्दा बढी टिक्ने विज्ञहरूले बताएका छन्। राममन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको छ। जुन जल नेपालका विभिन्न नदीबाट संकलन गरिएकोले विशेष महŒवको मानिएको छ। विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा विभिन्न नदीबाट जल संकलन गरी जनकपुरबाट अयोध्या पुर्याइएको हो। पहिलो चरणमा ३ सय ४७ प्रहरी अयोध्यामा सुरक्षार्थ खटिएका थिए। अन्य सैनिक-सुरक्षाकर्मी पनि त्यहाँ पुग्ने क्रम जारी छ। सोमबार पहिलो चरणमा ३ सय ४७ प्रहरी अयोध्या पुगेका थिए। दोस्रो चरणमा जनवरी १२ मा र तेस्रो चरणमा १८ जनवरीमा ५३ सय सैनिक अयोध्या पुग्ने जनाइएको छ। अन्य सैनिक पनि आउने क्रम जारी छ। सर्वसाधारणका लागि खुल्ला भएपछि राममन्दिरमा दैनिक डेढ लाख भक्तजन आउने अपेक्षा गरिएको छ। प्राणप्रतिष्ठा समारोहमा सम्पूर्ण अयोध्या सुरक्षा कवचमा रहनेछ। रामनगरीका विभिन्न क्षेत्रमा सात ठूला सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन्। प्रदेशका अन्य जिल्लाबाट १ सय डीएसपी, ३ सय इन्स्पेक्टर, ८ सय सबइन्स्पेक्टर र ४ हजार ५ सय प्रमुख हबल्दार र हबल्दारको व्यवस्था गर्न माग गरिएको छ। यसबाहेक, पीएसी, आरएएफ, सीआरपीएफ, एसटीएफ, एटीएस, एनआईए, एनडीआरएफका जवानहरूले रामनगरीमा सुरक्षा दिइरहेका छन्। भगवान् रामको जन्मस्थल अयोध्या धार्मिकमात्र नभई राजनीतिक र कानुनी मुद्दाको विषय बनेको थियो। सन् १५२८ मा भगवान् रामको जन्मस्थलमा अयोध्यामा मस्जिदको निर्माण भएको थियो। त्यसपछि सन् १८५३ मा पहिलो पटक धार्मिक हिंसा भएको थियो। सन् १८५९ मा ब्रिटिस सरकारद्वारा तारबार लगाएको थियो । भित्री स्थलमा मुस्लिमलाई प्रार्थना अनि बाहिरी भेगमा हिन्दूलाई पूजा गर्न अनुमति दिइयो। सन् १९४९ मा मस्जिदभित्र भगवान् रामका मूर्ति राखेको आंशकामा मुस्लिम समुदायद्वारा विरोध भएको थियो। हिन्दू र मुस्लिम दुवै पक्षद्वारा अदालतमा मुद्दा दायर गरिएको थियो। सन् १९८४ मा विश्व हिन्दू परिषद्को अगुवाइमा हिन्दूहरूले समिति गठन गरेका थिए। जसलाई भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीद्वारा अभियानलाई नेतृत्व प्रदान गरे। सन् १९९२ मा विश्व हिन्दू परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकहरूले मस्जिद तोडफोेड गरेका थिए। त्यसलगत्तै भएको हिन्दू–मुस्लिम दंगामा दुई हजारभन्दा धेरैको ज्यान गएको थियो। सन् २००२ फेब्रुअरीमा अयोध्याबाट फर्किरहेका हिन्दूहरू चढेको रेलमा गोधरामा आगजनी भएको थियो। आगजनीमा परी कम्तीमा ५८ जनाको मृत्यु भएको थियो। सन् २००२ अप्रिलमा उच्च अदालतमा मुद्दाको सुनुवाइ सुरु भएको थियो। सन् २००३ जनवरीमा अदालतको आदेशमा पुरातत्वविद्हरूद्वारा विवादित स्थलमा भगवान् रामको मन्दिर रहे-नरहेकोबारे सर्वेक्षण सुरु गरिएको थियो। सन् २००३ अगस्टमा पुरातात्विक सर्वेक्षणमा त्यहाँ मस्जिदमुनि मन्दिर रहेको प्रमाण भेटिएको जानकारी दिइएको थियो। मुस्लिमहरूले विरोध गरेका थिए। हिन्दू अभियानकर्मी रामचन्द्रदास परमहंसको अन्तिम संस्कारका बेला बोल्दै बाजपेयीले अयोध्यामा राम मन्दिर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सन् २००३ सेप्टेम्बरमा बाबरी मस्जिद ध्वस्त पार्न उक्साएको आरोपमा सात हिन्दू नेताविरुद्ध मुद्दा चलाउन एक अदालतले आदेश दिएको थियो। सन् १९८६ मा जिल्ला न्यायाधीशद्वारा विवादित मस्जिदको ढोका खोलेर हिन्दूहरूलाई पूजा गर्न अनुमति प्रदान गरिएको थियो। त्यसको विरोधमा मुस्लिमहरूद्वारा बाबरी मस्जिद एक्सन कमिटी गठन गरेका थिए। सन् १९८९ मा विश्व हिन्दू परिषद्को अभियानले तीव्रता पायो। विवादित मस्जिदसँगैको भूमिमा राम मन्दिरको जग निर्माण सुरु गरिएको थियो। सन् १९९० मा परिषद्का कार्यकर्ताद्वारा मस्जिदमा आंशिक क्षति भएको थियो। विवादको वार्ताद्वारा हल गर्ने तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको वार्ताद्वारा समाधान गर्ने प्रयास विफल भएको थियो। सन् २००४ अक्टोबरमा आडवाणीले अयोध्यामा मन्दिर बनाउने संकल्प अविचलित भएको अडान व्यक्त गरेका थिए। सन् २०१० मा इलाहावाद उच्च अदालतद्वारा विवादित जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम, हिन्दू र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्माेही अखडालाई दिनुपर्ने आदेश भएको थियो। सन् २०११ मा सर्वोच्च अदालतद्वारा उच्च अदालतको फैसला स्थगन गर्ने आदेश भएको थियो। सन् २०१९ नोभेम्बरमा भारतको सर्वोच्च अदालतको फैसला पछि अयोध्यामा राम मन्दिर निर्माण गर्न बाटो खुला भएको थियो। सन् २०२० अगस्ट ५ मा विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशिला राख्ने साइत तय भएको थियो। सन् २०२४ जनवरी २२ मा मन्दिरमा प्राण प्रतिष्ठा गरिन लागेको हो।