बिपीको समस्या समाधान गर्ने सिनेटको बैठकबाट स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता
रासंसा/सुनसरी, माघ ०५,
मुलुकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सिनेटको बैठक राखी समाधान गर्ने बताएका छन् । सिनेटको बैठकले शिक्षक कर्मचारीको पदोन्नतिका माग संशोधन हुनेसमेत उनले बताए । स्वास्थ्यमन्त्री बस्नेतले बिपी प्रतिष्ठानको विषयमा आफू अत्यन्त गम्भीर भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त बैठक बसेको बताउँदै मुख्य सचिवलाई माग सम्बोधन गर्न आवश्यक गृहकार्य गर्ने जिम्मेवारी दिइएको समेत उनले बताए । धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा आज वार्ता भएको थियो । छलफलका क्रममा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । राजनीतिक दलको प्रतिनिधि मण्डलले बिपी प्रतिष्ठान, धरानको सन्दर्भमा पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग भेटवार्ता गरी समस्या हल गर्ने विषयमा छलफल गरेको सभापति तामाङले सुनाए । टोलीमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीन विश्वकर्मा, प्रदेश सांसद विजय राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, धरान नगरपालिकाका पूर्व प्रमुख तिलक राई, कांग्रेस नगर सभापति श्याम पोख्रेल, लगायतको सहभागिता रहेको थियो ।