एमाले र गठबन्धन दल यसरी उत्रिँदै छन् मैदानमा काठमाडौँमा चुनावी सरगर्मी

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २५,

मुलुकमा बिहिबार नेपाली काँग्रेसका काठमाडौंँ जिल्ला सभापति सबुज बानियाँ काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका सभापति, २० प्रदेशसभा सभापति, काठमाडौंका महानगरसहित ११ नगर सभापति र पार्टीका भ्रातृ संस्थाका काठमाडौं जिल्ला अध्यक्ष सहभागि काठमाडौ जिल्ला कार्यसमितिको बैठकमा छलफलमा व्यस्त थिए । चुनावको मिति नजिकिएसँगै बानियाँ जस्तै अन्य दलका नेताहरुको पनि व्यस्तता बढेको छ । बिहिबार नै एमालेका काठमाण्डौं जिल्ला सह-इन्चार्ज कृष्ण राई, नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्की, माओवादी केन्द्र काठमाडौँका जिल्ला इन्चार्ज उमेश स्थापितपनि पार्टीको कार्यक्रममा व्यस्त थिए । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आन्तरिक तयारीबारे सो बैठक केन्द्रीत थियो । काठमाडौंका स्थानीय तहमा काँग्रेसका उम्मेदवार छनोट, गठबन्धन दलसँग सहकार्य र यही चैत २६ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको तयारीको बारेमा बैठकमा छलफल गरे । हालसम्म गठबन्धन दल बनाउने वा एक्लै चुनाव लड्नेबारे निश्चय गरी नसकेको एमाले र काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आ–आफ्नो रणनीति अनुसार चुनावी गतिविधिलाई तीब्र पारेका छन् । काठमाडौंमा गठबन्धन दलहरु चुनावमा कसरी जाने भन्ने सन्र्दभमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच छलफल भएको उनले बताए । बानियाँले भने, ‘उम्मेदवार छनोट गर्दा बाहिर सार्वजनिक नगरी आन्तरिक रुपमा गर्नुस्, पछि गठबन्धन हुँदा कुनै स्थानमा छोड्नुप-यो भनेपनि त्यसका लागि तयार हुनुस् भनेका छौँ । पार्टीको माथिल्लो निकायमा गठबन्धन बनाएर जाने भन्ने सहमति भइसकेको छ, पार्टीको कार्यकर्ता भएपछि पार्टीको निर्देशन मान्नु परिहाल्यो । पार्टीको निर्देशन मान्दा पनि आफ्नो अस्तित्व राखेर हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा भएको छ ।’ काठमाडौंमा महानगरका लागि प्रमुख उपप्रमुखबाहेक अन्य पालिकाका उम्मेदवारहरू आन्तरिक तयार पार्ने काँग्रेसको रणनीति रहेको छ । काँग्रेस काठमाडौं सभापति बानियाँले गठबन्धनको रुपमा चुनावमा जाने संभावना भएकोले काठमाडौंँमा स्थानीय तहमा संभावित उम्मेदवार तयार गर्दा बाहिर सार्वजनिक नहुनेगरी आन्तरिक रुपमा गर्ने र पछि आवश्यक परेको स्थानमा उम्मेदवारी छोड्ने गरी अघि बढेको बताए । उनले पार्टीले गरेको परिपत्र अनुसार जिल्लामा रहेका सबै संगठनहरुलाई सक्रिय गराएर चुनावी कार्यक्रमहरुलाई अघि बढाएको उनले बताए । उम्मेदवार छनोट गर्दा सकेसम्म सर्व सहमति रुपमा छनोट गर्ने तयारीमा लागेको सभापति बानियाँले बताए । वडा तहमा उम्मेदवार छनोटका लागि आन्तरिक तयारी करिब–करिब सकिन लागेको मेयर र उपमेयर छनोटका लागि पार्टी केन्द्रबाट कस्तो निर्णय आउँछ त्यसलाई कुरेर बसेको उनको भनाइ छ । शर्माले भने–‘पालिका प्रमुख उपप्रमुख उम्मेदवार छनोट गरिसकेका छैनौँ, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरू आन्तरिक रुपमा छनोट गरिसकेका छौँ । अहिले हामीले संगठनात्मक काममा लागिरहेका छौँ । सबै वडाहरूमा हामीले चुनाव प्रचारका लागि कार्यालयहरु खोलिसकेका छौँ । गठबन्धन दलसँग पनि वार्ता र संवाद सुरु भएको छ । सैद्धान्तिक रुपमा हामी मिलेर जानुपर्छ भन्ने कुरामा हामी एकमत रहेका छौँ । यसले अहिलेसम्म मूर्त रुप लिएको छैन्, हामी छलफलमै छौँ । माओवादी केन्द्रले गरेको तयारीका सन्र्दभमा हामी अरु दलभन्दा एक हिसावले अगाडि बढेका छौँ ।’ माओवादी केन्द्रले काठमाडौंका स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्यहरुको उम्मेदवारको टुङ्गो लगाएको छ, यद्यपी सोको विवरण भने सार्वजनिक गरिएको छैन् । साथै गठबन्धन दलसँग कसरी चुनावी तालमेल गरेर जाने भन्ने बारेमा पनि छलफल भइरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं उपत्यका कमाण्ड सदस्य हिमाल शर्माले जानकारी दिए । उनले भने–‘पार्टीका नेताहरुले प्रदेश, केन्द्रीय सदस्यहरुलाई पालिका कमाण्ड गर्न पठाएका छौँ । प्रदेश कमिटी सदस्यहरुलाई वडा कमाण्ड गर्न पठाएका छौँ । साथै गठबन्धन बनाउनेबारे जिल्ला तहका नेताहरुबीच एकपटक औपचारिक छलफल भएको छ । सैद्धान्तिक रुपमा काठमाडौंमा गठबन्धन आवश्यक छ भन्ने कुरामा एकमत रहेका छौँ ।’ चुनाव प्रचारका लागि प्रत्येक वडा वडामा कार्यालय समेत सञ्चालनमा ल्याइएको उनले बताए । उनले भोलि यदी दलहरुबीचमा गठबन्धन नभएको अवस्थालाई परिपूर्ती गर्नेगरी पार्टीको कामलाई अघि बढाएको उल्लेख गरे । चुनावका लागि लक्षित गर्दै माओवादीले वडादेखि केन्द्रसम्म विभिन्न कमाण्डरहरु बनाएको छ । वडा कमाण्ड, नगर कमाण्ड, प्रदेश कमाण्ड बनाउँदै पार्टीको वर्तमान संरचनालाई कायम राखेर कमाण्ड पद्धतिबाट अघि बढेको शर्माले बताए । माधव कुमार नेपाल नेतृत्वको दल नेकपा एकीकृतले स्थानीय तहमा गठबन्धन दल कसरी अगाडि बढ्ने टुङ्गोमा पुगेपछि मात्रै उम्मेदवार छनोटको कामलाई अघि बढाउने भएको छ । नेकपा समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्कीले गठबन्धन दलबीच कसले कहाँ लिने, कहाँ छोड्ने भन्ने कुरा भइसकेपछि मात्रै आफ्नो दलको तर्फबाट उम्मेदवार तय गर्ने जानकारी दिए । कुराकानीमा कार्कीले भने–‘हामीले अहिलेसम्म उम्मेदवार तय गरेका छैनौँ । गठबन्धन कसरी बन्छ सोही आधारमा उम्मेदवार छनोटको काम सुरु गर्छौँ । अहिले नै उम्मेदवार छनोट गरेपछि साथीहरुमा अलि अलि आशा, महत्वाकांक्षा बढ्छ । त्यसकारण अहिले हामीले उम्मेदवार तय गरिसकेका छैनौँ । छलफलसम्म चलोस् भनेका छौँ ।’ उनले गठबन्धन दलबीच एकपटक औपचारिक छलफलमा गरेको र धेरै भन्दा धेरै अनौपचारिक बैठक बस्नुपर्छ भन्ने कुरामा एकमत रहेको बताए । उनले पार्टी केन्द्रको निर्णय कुरेर बसेको तर चुनावी तयारी भने अगाडि बढाइरहेको बताए । कार्कीले भने, ‘तल्लो तहसम्म पनि गठबन्धन दलसँग सुमधुर सम्बन्ध नबनाउनुस्, छलफल चलाउनुस् भनेका छौँ । पार्टीको केन्द्रबाट के निर्देशन आउँछ त्यसलाई कुरेर बसेका छौँ । साथीहरुको इच्छा के कस्तो छ बुझ्ने काम मात्रै गर्नुस् । गठबन्धन दलबीच सहमति नभईकम उम्मेदवार तय गर्ने, घोषणा गर्ने, मिडियाबाजी नगर्नुस् भनेर पार्टीले भनेको छ । हाम्रो पार्टीले कहिँपनि उम्मेदवार छनोट गर्ने काम गरेको छैन् ।’ आफू कमजोर रहेको स्थानमा जुनसुकै दलसँग पनि आवश्यकता अनुसार गठबन्धन हुन सक्ने उनले बताए । उनले भने, ‘काठमाडौंमा हामीले वडाको परिस्थिति कस्तो छ ? त्यसको आंकलन के छ हामीलाई दिनुस् भनेका छौँ । २८ गतेदेखि सबै वडामा उम्मेदवार छनोटका लागि बैठक सुरु हुन्छ । हामी एक्लै लड्दा पनि सजिलै जित्ने ठाउँमा सर्वसम्मत उम्मेदवार छनोट गछौँ । गठबन्धन दलले असर गर्छ भन्ने ठाउँको समस्या माथिल्लो तहमा आउँछ । अन्यथा उम्मेदवार छनोटको काम तल्लो तहमा नै टुङ्ग्याउने तय भएको छ ।’ यता प्रमुख प्रतिपक्षी दल एमालेले भने आफ्नो अवस्था थाहा पाउनका लागि वडा वडामा कार्यकर्ता परिचालन गरेर आफ्नो अवस्था थाहा पाउन मत सर्वेक्षण गरिरहेको छ । चैत २८ गतेसम्म त्यसको नतिजा आउने र सोही अनुसार दलले उम्मेदवार छनोट गर्ने एमालेको रणनीति रहेको छ । एमाले काठमाडौंका सह इन्चार्ज कृष्ण राईले कुरा गर्दै भने, ‘अहिलेसम्म पार्टीको नीति भनेको एक्लै चुनाव लड्ने भन्ने नै हो । गठबन्धन हुने कि नहुने भन्ने सन्र्दभमा संसदीय राजनीतिमा जोसँग पनि गठबन्धन हुन सक्ने अवस्था पनि हुन्छ ।’ उनले भने–‘चैत २८ गतेसम्म त्यसको विवरण आइसक्छ र कहाँ हाम्रो अवस्था कस्तो रहेको छ थाहा हुन्छ । त्यसपछि कहाँ एक्लै चुनाव लड्ने, कहाँ गठबन्धन गर्न आवश्यक पर्न सक्छ, कोसँग गठबन्धन हुन सक्छ त्यसपछि मात्रै निर्णय हुन्छ ।’ एमालेले यतिबेला टोलस्तरबाटै प्रारम्भिक मत सर्वेक्षणको काम गरिरहेको छ । तल्लो कमिटीका कार्यकर्ताहरूलाई मत सर्वेक्षणको जिम्मा दिइएको छ । अहिले आवश्यकता अनुसार एउटा पालिकामा पन्ध्र बिसवटासम्म टोल कमिटी गठन गरेर आन्तरिक रुपमा मत सर्वेक्षणको काममा लागेको राईले बताए । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौंमा गठबन्धन बनाएर जाने वा एक्लै चुनाव लड्ने भन्नेबारेमा निर्णय गरिसकेको छैन । उम्मेदवार छनोट गर्ने काम अझै सुरु नभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई बताए । यद्यपी राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकामा भने नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारहरूको नाम टुङ्गो लगाएर चुनावी प्रचारको काम समेत सुरु गरिसकेको छ ।

Like