शीतलहरले जनतालाई कष्ट , जनप्रतिनिधि गरे बेवास्ता
रासंसा/काठमाण्डौ, माघ ०४,
मुलुकमा नवलपरासीमा घाम नझुल्केको १० दिन भयो। जतिबेलै बाक्लो हुस्सु लाग्छ। शीतलहर चलेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का रामधलव कहारको परिवारलाई जाडोमा रात कटाउनै मुस्किल हुन्छ। कहारको परिवारमा ७ जना छन्। सबैलाई सुत्न खाट छैन। भुइँमा सुत्न बाक्लो र न्यायो कपडा पनि छैनन्। त्यसैकारण परालको चाङमाथि परिवारले रात गुजारिरहेका छन्। ‘सबैजना रातिसम्म आगो तापेर बस्छौं’, कहारले भने, ‘जसोतसो दिन गुजारिरहेका छौं।’ शीतलहर बढेर जनजीवन प्रभावित हुँदासमेत स्थानीय सरकारले जिम्मेवारी महसुस नगरेको नेपाली कांग्रेस नवलपरासीका कार्यवहाक जिल्ला अध्यक्ष विक्रम यादवले बताए। लोसपाका नवलपरासी जिल्ला अध्यक्ष मुकुरजी गिरीले पालिकाहरूले विपद् व्यवस्थापनमा लाखौं रुपैयाँ छुट्ट्याउने गरे पनि परेका बेला खर्च नगर्ने गरेको आरोप लगाए। कहारको झिंगटीले छाएको घर छ। बारबेर गरी बनाएको झुपडीले जाडो छेक्ने कुरै भएन। आगोको सहारामा परिवारले दिन कटाइरहेको छ। पुसको अन्तिम सातादेखि तराईमा निरन्तर हुस्सु लागिरहेको छ। दिनदिनै चिसो बढ्दो छ। विपन्न र गरिब परिवारलाई दैनिकी गुजार्नै समस्या छ। स्थानीय सरकारका प्रतिनिधिहरू एसीजडित गाडीमा हुइँकिने गरे पनि गरिब र विपन्न समुदायका पीडामा भने फिटिक्कै ध्यान नदिएको गुनासो छ। केही स्थानीय तहले दाउरा बाँड्ने निर्णय गरे पनि उक्त निर्णय कागजमै सीमित छन्। ‘विपद् व्यवस्थापनका लागि हरेक पालिकाले प्रत्येक वर्ष १४ देखि ६६ लाखसम्म कोषमा रकम विनियोजन गर्दै आएका छन्’, जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले भने । शीतलहर बढेको एक सातापछि मात्र जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ। पूर्वतयारीका लागि बैठक बस्न ढिला भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। ढिलै भए पनि चिसोबाट प्रभावितका लागि दाउराको व्यवस्था गरेर वितरण गर्न लगाइएको उनले बताए। चिसोबाट बच्नका लागि समितिमा गत वर्ष बाँकी रहेका केही न्यानो कपडा वितरणका लागि प्रहरी र रेडक्रससँग समन्वय गरिरहेको प्रजिअ पन्थीले बताए। ‘विनियोजित रकमबाट आवश्यक सामग्री खरिद गरी पूर्वतयारीका कार्यक्रम गर्न जिल्लाका स्थानीय तह चुकेका छन्। विपद् आएपछि राहतमा मात्र केन्द्रित भएको देखिएको छ। जिल्लाका स्थानीय तहसँग विपद्ले कति जनसंख्या प्रभावित हुन्छन् भन्नेसमेत यकिन तथ्यांक छैन। पूर्वतयारी नगरी परेको बेला मात्र निर्णय गर्ने परिपाटीले रकम लक्षित वर्गमा पुग्न सक्दैन’, उनले भने। ‘बुधबारको दिन यस हिउँदकै चिसो दिन मापन भएको छ’, जल तथा मौसम विज्ञान विभाग अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले भने, ‘जाडोको सिजन अझै बाँकी छ। यसभन्दा पनि कम मापन हुन सक्छ।’उनले यसअघि पुस २६ गते न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री र अधिकतम तापक्रम १२ दशमलव १ डिग्री मापन भएको बताए। ‘त्यस दिन पनि अत्यधिक जाडो महसुुस भएको थियो। तर, मंगलबार त्यसको पनि रेकर्ड ब्रेक भयो’, चौधरीले भने। धनगढीमा बुधबार हिउँदकै सबैभन्दा बढी जाडो मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग अत्तरियाले बुधबार धनगढीको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री मापन भएको जनाएको छ। ५ दशमलव ६ डिग्री तापक्रम यस हिउँदकै सबैभन्दा कम मापन हो। मंगलबारको अधिकतम तापक्रम पनि अहिलेसम्मकै कम ११ दसमलव ७ डिग्री मापन भएको छ। हुस्सुका कारण सुदूरपश्चिम क्षेत्रको हवाई सेवा पनि प्रभावित भएको छ। हुस्सुुका कारण एकै छिनमा विमानस्थल खुल्ने र बन्द हुने गर्नाले दैनिक जसो जहाजहरू डाइभर्ट गर्नुपरेको धनगढी विमानस्थलका टावर प्रमुख दीपक भट्टले बताए। चिसोका कारण रुघाखोकी, निमोनिया जस्ता सिजनल फ्लुुका बिरामीहरू बढ्ने गरेको गेटा अस्पतालका फिजिसियन डा. चेतराज भट्टले बताए।
चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन्। ‘चिसोले गर्दा साइकल कुदाएर काममा जान सकिँदैन, हिँडेर जान सम्भव छैन’, सोही स्थानका मनोज ऋषिदेव भन्छन्, ‘यस्तो बेलामा हामीहरूलाई स्थानीय सरकारले सहयोग गरिदिए त हुने हो।’ चिसो ह्वात्तै बढेपछि मोरङका रंगेली, सुनवर्षी, रतुवामाई, पथरीशनिश्चरे, उर्लाबारी, बेलबारी, सुन्दरहरैंचालगायत क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। चिसोबाट बालबालिकाको स्वास्थ्यमा समस्या आइरहेका कारण आफ्ना बालबालिकालाई चिसोबाट जोगाउन बाल तथा बाल क्यान्सर रोग विशेषज्ञ डा. सुभास मेहताले सुझाव दिए। विराटनगर महानगरपालिका–१९ ऋषिदेव टोलका चन्द्र ऋषिदेव चिसोका कारण मजदुरी गर्न जान सकेका छैनन्। बाक्लो शीतलहरले काममा जान नसक्दा उनलाई आफ्नो परिवारको साँझ–बिहानको गर्जो टार्न हम्मेहम्मे भइरहेको छ। मोरङको बुढीगंगा गाउँपालिका–३ का फेकनी ऋषिदेव अहिले दिनभरी घुर बालेर शीतलहरबाट जोगिने गरेकी छन्। परिवारका ७ जना सदस्यसहित ५५ वर्षीय ऋषिदेव बिहान ४ बजेदेखि बेलुकीसम्मै नहरको डिलमा घुरकै सहारमा बाँच्ने गरेका छन्। न्यानो लुगाको अभावले चिसोबाट जोगिन नहरको डिलमा घुुर बालेर बस्ने गरेको उनले बताइन्। घुरका लागि उनले पराल र भुस मागेर ल्याउने गरेका छन्। उनीजस्तै ५० वर्षीय हरिनारायण ऋषिदेव पनि चिसोमा कहाँ जाने र के गर्ने भन्ने अन्योलमा छन्। नहरको डिलमा ऐलानीमा बसेका करिब १ सय ५० घर सुकुम्बासीको दिन चर्या पनि उनकै जस्तो छ।