त्रिवि उपकुलपति पदपूर्तिको दरखास्त आह्वान सूचना
रासंसा/काठमाण्डौ, पौष २२,
मुलुकमा त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको जनाएको छ। उपकुलपति पदपूर्तिका लागि निकालिएको दरखास्तसम्बन्धी सूचना पनि आफू अनुकूलका व्यक्तिलाई भर्ना सहज हुने गरी मापदण्ड बनाइएको भन्दै आलोचना भइरहेको छ। विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो। ‘रिक्त रहेको पदमा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको दरखास्त आव्हानसम्बन्धी मिति २०८०/०९/२० को सूचना रद्द गरिएको छ’, सूचनामा भनिएको छ। यो सूचना समितिको शनिवारको बैठकले रद्द गरेको जानकारी दिइएको छ। पदपूर्तिको दरखास्त आव्हानसम्बन्धी सूचना रद्द भएको कारण भने खुलाइएको छैन। शुक्रवार प्रकाशित सूचनामा ‘समितिले विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्नु पर्ने उल्लेख गरेको थियो। यसैलाई लिएर विभिन्न क्षेत्रबाट विरोध भएको थियो। साथै पदपूर्ति समितिकै गठन र तीनका सदस्यहरू माथि पनि प्रश्न उठाइएको छ। यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने उपकुलपतिको पदपूर्ति कुनै पनि हालतमा खुला प्रतिस्पर्धाबाट गराउने र राजनीतिक भागबन्डामा नपार्ने प्रतिवद्घता व्यक्त गर्दै आएका छन्।