किताब बेचेरै कारखाना चलाउने आविष्कार केन्द्रको तयारी
रासंसा/पर्सा, पौष २१,
मुलुकमा राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक बिक्री गरे बापतको रकमले कृषि औजार कारखाना चलाउने तयारी गरेको छ । केन्द्रले हालसम्म ३५ हजार पुस्तक प्रकाशन गरिसकेको छ जसमध्ये २४ हजार ७२५ पुस्तक बिक्री भइसकेको जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक सदस्य डम्मरबहादुर नेपालीले थप २५ हजार पुस्तक छाप्ने तयारी भइरहेको बताए । ‘किताब बेचेर कारखाना चलाउन सम्भव देखेरै हामी सरकारको ऋण अस्वीकार गरेर पुस्तक प्रकाशन र बिक्री वितरणमा लागेका हौ, अहिलेसम्म २४ हजार ७२५ पुस्तक बिक्री भइसकेको छ थप २५ हजार प्रकाशनको तयारीमा छौ’ नेपाली भने । पुस्तकको खुद्रा बजार ७५० रुपैयाँ तोकिएको छ । सरकाले ऋण स्वरूप दिएको १ करोड रकम नलिने निर्णय गरेको राष्ट्रिय आविष्कार केन्द्रले पुनको पुस्तक बेचेर आएको आम्दानीले वीरगन्ज स्थित कृषि औजार कारखाना चलाउने तयारी गरेको हो । आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सरकारसँग एक रुपैयाँ नलिई कारखाना चलाएर देखाउने दाबी गरेका छन् । ‘सरकारलाई पैसाको दुख छ भने हामी एक पैसा लिँदैनौ, पुस्तक बेचेर कुनै हालतमा त्यो कारखाना चलाएर देखाइदिन्छौ’ पुनले भने ‘किताब बेचेर ५-१० करोड आयो भने थप थाप हुन्छ’ एक वर्षअघि अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच कृषि औजार कारखानाको पहिलो चरणको मर्मत सम्भार खर्च सरकारले बेहोर्ने सहमति भएको थियो । तर सहमति अनुसार सहयोग नगर्ने तर, कारखाना सञ्चालनका लागि १ करोड ऋण दिने अर्थ मन्त्रालयले निर्णय गरेपछि आविष्कार केन्द्रका सो रकम नलिने निर्णय गरेको हो । हालसम्म कृषि औजार कारखानाको सरसफाइ र मर्मत सम्भारमा १ करोड भन्दा केही बढी खर्च भएको पुनले जनाएका छन् । आविष्कार केन्द्रले अहिले कारखानामा साना औजारहरू निमार्णका काम सुरु गरिसकेको छ । कारखाना भित्र ठुलो मेसिन चलाउन विद्युत् भोल्टेज कम भएको भन्दै केन्द्रले ५ सय केभीको विद्युत् प्रसारण लाइन जडान गर्न प्राधिकरणलाई भदौमा पत्राचार गरेको । सो विद्युत् लाइन जडानका लागि ३० लाख रकम आवश्यक पर्ने भएकाले केन्द्रले पहिलो चरणमा १० लाख दिने र किस्ताबन्दीमा बाँकी रकम बुझाउने केन्द्रले जनाएको छ । अर्थ मन्त्रालय मातहतमा रहेको कृषि औजार कारखाना तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रबिच सम्झौता भएर आविष्कार केन्द्रले कारखाना सञ्चालनको जिम्मा लिएको हो । पुनले कारखाना सञ्चालनका लागि २ देखि ३ करोड लगानीमा नयाँ मेसिन पनि थप्नुपर्ने जनाएका छन् । ‘पुराना मेसिनहरूबाट मात्रै कारखाना सञ्चालन गर्न गाह्रो छ’ उनले भने । ३ दशक अघि बन्द भएको कृषि औजार कारखाना सञ्चालनको लागि आविष्कार केन्द्रले सहयोगका लागि समेत आवह्रान गरेको छ । यसअघि पुनको पुस्तक विक्रीको लागि बाराको सिमरामा पनि एक कार्यक्रमको आयोजना गरेर सहयोग स्वरूप किताब बिक्री खुला गरिएको थियो । ‘तत्कालीन अवस्थामा मर्मत सम्भार गर्न कति खर्च लाग्छ भन्ने टुङ्गो नभएकाले पहिलो चरणको मर्मत सम्भार खर्च सरकारले दिने र कारखाना सञ्चालन भएर नाफा कमाउन थालेपछि ५० प्रतिशत नाफा सरकारलाई दिने भन्ने सहमति भएको हो’ आविष्कार केन्द्रका प्रमुख पुनले भने ‘त्यति बेला मोटामोटी ५ देखि १० करोड लाग्छ होला भन्ने मौखिक कुरा हो, ठ्याकै कति लाग्छ भन्ने कुरा नभएर रकम खुलाएर लिखित सम्झौता गरिएन’ ‘सरकारले पैसा दिन्छ भनेर हामीले मर्मतको काम सुरु गरिहाल्यौँ, पछि सरकारले सहयोगको ठाउँमा तमसुक ऋणपत्रमा हस्ताक्षर गर्न बोलायो, त्यसमा १ करोड रुपैयाँ किस्ताबन्दीको भाका सहित राखेर तिर्नुपर्ने उल्लेख थियो’ पुनले भने ‘सरकारको कारखाना मर्मत गरेर चलाउन सरकारसँग नै हामीले ऋण लिएर किस्ताबन्दीमा तिर्नुपर्ने यो कति जायज कुरा हो ?’