सर्लाहीको बरहथवामा कर्फ्यु लाग्यो
रासंसा/सर्लाही, पौष २०,
मुलुकमा अस्पतालको विषयलाई लिएर प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा कर्फ्यु लगाएको छ । शुक्रबार अपराह्न प्राथमिक अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर खोले पनि स्थिति नियन्त्रणभन्दा बाहिर जान लागेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ‘क’ को १ र ३ बमोजिम कर्फ्यु लगाइएको प्रशासनको आदेशमा उल्लेख छ । शुक्रबार साँझ ५ बजेर ३० मिनेटदेखि शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । ‘सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढा लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकाले बरहथवाको बजार क्षेत्र (पूर्वमा शितापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती पुल) क्षेत्रभित्र कर्फ्यु आदेश भएको छ,’ आदेशमा उल्लेख छ । आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले अश्रुसेल र हवाई फायर खोलेका थिए । त्यसक्रममा एक युवकको ज्यान गएको छ । मृतकको पहिचान खुलेको छैन ।