घरबारविहीनको संख्यामा अमेरिकामा उल्लेख्य वृद्धि

Share to:

एजेन्सी,

संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको संख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको शुक्रबार सार्वजनिक एक सरकारी प्रतिवेदनले देखाएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी र सन् २००७ मा तथ्यांक संकलन सुरु भएयताकै सबैभन्दा बढी हो। अमेरिकी आवास तथा सहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर ६ लाख ५३ हजार १०० भन्दा बढी मानिस घरबारविहीन भएका छन्। यहाँ अफ्रिकी–अमेरिकीहरू कुल जनसंख्याको १३ प्रतिशत छन्। तर, घरबारविहीन भएकामध्ये ३७ प्रतिशत अफ्रिकी–अमेरिकीहरू नै रहेका छन्। सन् २०२२ देखि २०२३ को बीचमा पहिलो भाषाका रूपमा स्पेनी भाषा प्रयोग गर्ने व्यक्तिमा घरबारविहीन हुनेको संख्या २८ प्रतिशत अर्थात् ३९ हजार १०६ जनाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। जनवरीमा घरबारविहीन भएका ६ लाख ५३ हजार १०० मध्ये हरेक १० जनामा ६ जना आश्रयस्थल वा अन्य अस्थायी आवासमा थिए भने चारजना मानव बस्तीका लागि नबनेको ठाउँमा थिए। सन् २०१२ देखि नै घरबारविहीन अवस्थामा रहेका बालबालिकाको संख्या पनि १६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१ हजार ३९९, न्युयोर्कमा एक लाख तीन हजार २००, फ्लोरिडामा ३० हजार ७५६, वासिंटनमा २८ हजार ३६, टेक्सासमा २७ हजार ३७७ र ओरेगनमा २० हजार १४२ जना घरबारविहीन छन्। विशेषज्ञहरूका अनुसार संयुक्त राज्य अमेरिकामा घरबारविहीनताको संकटलाई गरिबी, मानसिक स्वास्थ्य र आवासको अभावलगायत धेरै कारकहरूले बढावा दिइरहेको छ।

Like