अब खुल्ने भयो भ्रष्टाचारका गम्भीर फाइल
रासंसा/काठमाण्डौ, मार्ग २२,
मुलुकका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाउने तयारी भइरहेको बताएका छन्। ‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध अभियान थालनी गरेको छ। अहिले पनि अभियान रोकिएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाउने तयारीमा छौँ। माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उनले भ्रष्टाचारविरोधी र सुशासन प्रवर्द्धनको अभियानमा यो सरकार नरोकिने बताएका हुन्। उनले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए। ‘नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्याइएको छ। नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन,’ उनले भने, ‘पहिलोपटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ। अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ।’मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिए। पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुवात गरेको उनको भनाइ थियो। ‘यसअघि स–साना काम भए, अब ठूला-ठूला परियोजना निर्माणको थालनी गरिनेछ,’ प्रधानमन्त्रीले भने। मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तर्क्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रधानमन्त्री प्रचण्डले बताए। योसँगै कर्णाली चिसापानी, बुढीगण्डकीलगायत ठूला परियोजना निर्माण सुरु गरिने उनले जानकारी दिए। आज मात्रै बसेको मन्त्रिपरिषद् बैठकबाट बुढीगण्डकी आयोजनाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आयोजनाको छिट्टै शिलान्यास हुने विश्वास दिलाए। आफ्नो विदेश भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको गौरव बढेको उनको भनाइ थियो।