उपप्रधान तथा गृहमन्त्री नारायण काजि श्रेष्ठ गङ्गालाल हस्पिटलमा भर्ना, स्वास्थ्य अवस्था स्थिर
रासंसा/काठमाण्डौ, मार्ग २०,
मुलुकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि मङ्गलवार साँझ अस्पताल पुगेका थिए । अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । श्रेष्ठज्यू चीनको भ्रमणमा रहेको बेला गत असोज ३० देखि कार्तिक १ सम्ममा मुटुमा एक्युट मायोकार्डियल इन्फेक्सन भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो । उनको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध देखिएको थियो । आंशिक अवरोध रहेको भागमा डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।