भाजपा थप सशक्त भारतमा चार राज्यको चुनाव
एजेन्सी,
भारतमा चार राज्यमा भएको चुनावको मतगणनाको नतिजा अन्तिम चरणमा पुग्दा केन्द्रमा सत्तासीन भारतीय जनता पार्टी (भाजपा)ले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरुमा बहुमतसहितको जित हासिल गर्दैछ । जारी मतगणना अनुसार मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गर्दैछ ।मध्यप्रदेशमा आफ्नो सरकारलाई जोगाएको मात्रै छैन । त्यहाँ थप जित हात पारेको छ । मिजोरम बाहेकका चारवटा प्रदेशको मतगणना आइतबार एकैसाथ भएको हो । मतगणना भएका चारवटा राज्यमध्ये तीनवटामा भाजपा र दक्षिणी राज्य तेलंगानामा कांग्रेसले जित हासिल गर्दैछ । साढे ५ महिना पछि अर्को वर्ष २०२४ को मई महिनामा केन्द्रीय चुनाव हुँदैछ । त्यस्तै, राजस्थान र छत्तीसगढ राज्यमा पनि जित हात पारेको छ । ती दुवै राज्यमा कांग्रेसको सरकार थियो । नोभेम्बरमा चरणबद्ध रुपमा मध्यप्रदेश, राज्यस्थान, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यमा चुनाव भएको छ । त्यसअगाडि भएका राज्य तहका विधानसभाहरुको चुनावलाई केन्द्रीय चुनावको तस्बिरको रुपमा हेरिँदै आएको थियो । विपक्षी दल कांग्रेसले सरकार चलाईरहेको राजस्थान र छत्तीसगढमा पनि जित हासिल गरेको भाजपा यतिबेला उत्साहित देखिएको छ । सम्बन्धित प्रदेश र देशैभरका भाजपा पार्टी कार्यालयहरुमा कार्यकर्ताहरुले खुसी मनाएका छन् । चुनाव भएका प्रदेशहरु मध्ये सबैभन्दा बढी विधानसभा क्षेत्र रहेको राज्य मध्यप्रदेश हो । २ सय ३० सिटको विधानसभामा भाजपाले १ सय ६६ सिट जित्दै छ । १७ सिटमा जितिसकेको भाजपा १ सय ४९ सिटमा अगाडि छ । जारी गणनाअनुसार अघिल्लो चुनावभन्दा ३९ सिट बढी भाजपाले जित्दै छ । कांग्रेस जम्मा ६३ सिट जित्दैछ । कांग्रेसले अघिल्लो चुनावभन्दा ३३ सिट गुमाउने स्थितिमा देखिएको छ । कांग्रेस नेता राहुल गान्धीले गतवर्ष गरेको ‘भारत जोडो यात्रा’ वा उनका अन्य विभिन्न प्रयासहरुको जादू हिन्दी भाषी प्रदेशमा देखिएन । यसअघि दक्षिणी राज्य कर्नाटकमा जित हात पारेको कांग्रेसले पुनः त्यही क्षेत्रको तेलंगानामा भने सफलता पाएको छ । त्यहाँ क्षेत्रीय पार्टी बीआरएसको सरकार थियो । मिजोरमको मतगणना सोमबार हुने छ । त्यहाँ ‘हंग पार्लियामेन्ट’ हुनसक्ने अनुमान गरिएको छ । त्यहाँ अहिले नेसनल फ्रन्ट पार्टीको सरकार छ । कांग्रेसले राजस्थान गुमाएको छ । १ सय ९९ सदस्यीय विधानसभामा बहुमतका लागि एक सय सिट आवश्यक पर्छ । जारी गणनाअनुसार भाजपाले १ सय १५ सिटमा जित हात पार्दैछ । त्यहाँ कांग्रेसको सरकार थियो । तर, पछिल्लो पाँच वर्ष पार्टी भित्रको अन्तरकलहले कांग्रेस समस्यामा थियो । कांग्रेसले विगतकोभन्दा ३९ सिट गुमाएर ६९ सिट जित्दैछ । राजस्थानमा प्रत्येक चुनावमा सत्तासिन पार्टीलाई विपक्षमा पुर्याउने परम्परालाई यसवर्षपनि मतदाताले कायम राखेका छन् । १ सय १९ विधासनभा क्षेत्र रहेको तेलंगानामा भने त्यहाँको सत्तारुढ पार्टी बीआरएसलाई कांग्रेसले पराजित गरेको छ । बहुमतका लागि ६० सिट आवश्यक रहेकोमा कांग्रेस बहुमतको नजिक देखिन्छ । जारी गणनाअनुसार कांग्रेस ६३ सिट जित्ने देखिदैंछ । बीआरएस पार्टी ४० सिटमा खुम्चिँदैछ । भाजपाले ९ सिट जित्ने सम्भावना छ । त्यस्तै, छत्तीसगढ पनि कांग्रेसले गुमाएको छ । ९० सिटको विधानसभामा सरकार बनाउन ४६ सिट आवश्यक पर्छ । जारी गणनाअनुसार भाजपा ५६ सिटमा अगाडि छ । त्यस्तै, कांग्रेसले विगतको भन्दा ३७ सिट गुमाउने देखिदैंछ । जम्मा ३४ सिटमा कांग्रेस अगाडि छ ।