प्रधानमन्त्री प्रचण्डको भनाई कोप-२८ मा नेपालको उल्लेख्य चर्चा भयो

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १८,

मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्बन उत्सर्जनमा नेपालको नगन्य सहभागिता रहे पनि समान रूपले जलवायु परिवर्तनका असर भोगिरहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको बताएका छन्। उनले पेरिस एग्रिमेन्टको सबैले पालना गर्नुपर्ने बताए। त्यसका लागि जलवायु परिवर्तनको असरलाई कम गर्न युवा पुस्तालाई सहभागी गराउनुपर्ने बताए। अति विकसित देशहरूका लागि प्रविधिमा लगानी गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको उनको भनाइ थियो। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८)मा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्यस्ता असर न्युनीकरणका लागि नेपालले वित्तीय लाभ लिनुपर्ने बताए। उनले यसपटक नेपालको धेरै नै चर्चा भएको बताए। नेपालले अध्यक्षता गरेको राउन्ड टेबल अन्तर्क्रियामा सहभागी सबैले नेपालको हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनका असरका विषयमा चर्चा गरेको उनको भनाइ छ। युएईस्थित नेपाली दूतावासको निरीक्षण गरी नेपाली श्रमिकका लागि प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिएको बताएका थिए। त्यस्तै नेपाली समुदायलाई सम्बोधन गर्दै आफूले देश विकासका निम्ति विदेशमा बस्ने नेपालीहरूको योगदान उच्च रहेको बताएका थिए। उनले नेपालमा प्रशस्त लगानीका सम्भावना रहेको भन्दै युएईका लगानीकर्तालाई आग्रह गरेको बताए। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले पनि अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री दाहालले बताए। ‘महासचिवको नेपाल भ्रमणपछि धेरै कुरा भइरहेको छ। यो सामान्य कुरा होइन। भोलिका दिनमा तपाईंहरूले प्रगति देख्नुहुन्छ,’ उनले भने। सम्मेलनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको बताए। प्रधानमन्त्री मोदीले भूकम्प पीडितका लागि सहयोग गर्न भारत हरदम तयार रहेको आश्वासन दिएको उनले बताए। उनले कार्बन उत्सर्जनमा नेपालको उल्लेख्य योगदान नभए पनि त्यसको असरबाट गुज्रिनुपरेको बताएका थिए। उनले जलवायुसम्बन्धी कोषबाट नेपालले लाभ लिनुपर्ने ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री दाहाल जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८) सहभागी हुन दुबई गएका थिए। उनले कोप-२८ सम्मेलनमा सम्बोधन गर्दै नेपाल जलवायु परिवर्तनका कारण गम्भीर असरमा परेको बताएका थिए।

Like