गुटेरेसले दुबईबाट सम्झिए नेपाल, नेपालको माया बिर्सन सकेनन
एजेन्सी,
दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) को उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले नेपालको नाम उल्लेख गरेपछि सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले खुसी व्यक्त गरेका छन्। उद्घाटन सत्रमा महासचिव गुटेरेसले बोलिरहँदा सभास्थलमा अगाडि रहेका प्रधानमन्त्री दाहालले त्यसलगत्तै नेपाल पेभिलियनमा आफ्नो संक्षिप्त प्रतिक्रिया राख्ने क्रममा महासचिवको अभिव्यक्तिप्रति खुसी व्यक्त गरेका हुन्। सम्मेलनअन्तर्गत शुक्रबार सुरु भएको दुईदिने वल्र्ड क्लाइमेट एक्सन समिटको उद्घाटन सत्रमा महासचिव गुटेरेसले भने, ‘केही दिनअघि मात्र म अन्टार्टिकाको पग्लिरहेको हिउँमाथि थिएँ। धेरै अघि होइन, मैले नेपालका पग्लिरहेका हिमनदीलाई पनि साक्षात्कार गरेको थिएँ। यी दुई स्थान भूगोलका हिसाबले टाढा छन् तर समान संकटमा छन्।’ ‘उद्घाटन मन्तव्यमा महासचिव गुटेरेसले नेपाल र अन्टार्कटिकाको चर्चा गरेका छन्, यो खुसीको कुरा हो,’ प्रधानमन्त्री दाहालले भने। प्रधानमन्त्री दाहालले उच्चस्तरीय सम्मेलनमा नेपालको चिन्ता र चासोलाई प्रस्ट रूपमा राख्ने बताएका छन्। दाहालले उच्चस्तरीय सम्मेलनलाई शनिबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ। यसैबीच प्रधानमन्त्री दाहालले सम्मेलनका क्रममा हुने द्विपक्षीय र बहुपक्षीय वार्ता तथा साइडलाइन बैठकमा गम्भीरताका साथ प्रस्तुत हुन नेपाली टोलीलाई निर्देशन दिएका छन्। ‘हाम्रा समस्या र चुनौतीलाई राम्रोसँग राख्नुस्। हामीले यो सम्मेलनलाई अवसरको रूपमा लिनुपर्छ। जलवायु न्यायलाई अधिकारको विषय बनाउनु पर्छ,’ निर्देशन दिँदै उनले भने। नेपाल पेभिलियनमा बोल्ने क्रममा प्रधानमन्त्री दाहालले जलवायु संकटलाई सम्बोधन गर्न नेपाली युवाले पहलकदमी लिनुपर्ने बताए। ‘हाम्रा युवा पनि कम छैनन्। युवालगायत सबै सरोकारवालाले जलवायु न्यायको माग सशक्त रूपमा राख्न आवश्यक छ,’ उनले भने। वर्ल्ड क्लाइमेट एक्सन समिटलाई शुक्रबार सम्बोधन गर्ने क्रममा विश्वका विभिन्न देशका नेताले बढ्दो जलवायु संकटलाई सम्बोधन गर्न सहकार्यको आवश्यकता औंल्याएका छन्। सम्मेलनको सुरुमै राष्ट्रसंघका महासचिव गुटेरेसले विश्वका नेताले इमानदारीपूर्ण प्रयास गरे पृथ्वीलाई दुर्घटनाबाट जोगाउन सकिने धारणा राखे। उनले विश्वव्यापी हरित ग्यास उत्सर्जनमा ८० प्रतिशत हिस्सा लिएका जी–२० राष्ट्रले यो अभियानको नेतृत्व गर्नुपर्ने बताए। बेलायतका राजा चार्ल्स तृतीयले जलवायु संकट समाधानमा विश्व लिकबाहिर (अफट्र्याक) रहेको र यो संकट डरलाग्दो बिन्दुतर्फ उन्मुख रहेको बताए। उनले भने, ‘पृथ्वीलाई हामी होइन, हामीलाई पृथ्वी आवश्यक छ।’ उनले सम्मेलनको पहिलो दिनमै हानि–नोक्सानी कोष सञ्चालनमा भएको घोषणालाई सकारात्मक सुरुवात भन्दै प्रशंसा गरे। ‘यो अजेन्डालाई अत्यन्त छिटो अनुमोदन गराउन सफल भएकोमा कोप–२८ अध्यक्षलाई बधाईं दिन चाहन्छु,’ उनले भने। यसैगरी विश्वका १३० नेताले ‘कृषि, खाद्य तथा जलवायु कार्य घोषणा’ मा हस्ताक्षर गरेका छन्। यो घोषणालाई कार्यान्वयन गर्न संयुक्त अरब इमिरेट्स र विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले साढे दुई अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएका छन्। दुई सातासम्म चल्ने कोप–२८ बिहीबारदेखि सुरु भएको छ।