बार्षिक १५ लाख बढीको खुकुरी उद्योगबाट कारोवार
रासंसा/संखुवासभा, मार्ग १०,
मुलुकमा संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका –१ स्थित बुद्ध चोकमा रहेको राज खुकुरी उद्योगले पुर्खौली पेसालाई आधुनिकीकरण गरेरलाख रुपैयाँ बढीको कारोवार गरिरहेको छ । राज खुकुरी उद्योगले पुख्र्यौली पेसालाई उद्योगका रूपमा विकास गरेको हो । राज खुकुरी उद्योगले खुकुरी उत्पादन गरेर बजारमा बेचेर बार्षिक १५ लाख रुपैयाँ लाख रुपैयाँ बढीको कारोवार गरिरहेको छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ। संखुवासभामा उत्पादित खुकुरी, धरान, विराटनगर, काठमाडौ र चीन सम्म निर्यात हुने गरेको सञ्चालक दर्नालले बताए । कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी उद्योगलाई राज्यले लगानी गर्नु पर्ने उद्योग सञ्चालक दर्नालले बताए । उद्योगमा राज्यले लगानी नगर्दा पछिल्लो समय युवाशक्ति विदेश पलायन हुने लहर चलेको उनको भनाइ छ । करिव ३० बर्ष अघि स्थापना भएको राज खुकुरी उद्योगले चित्लाङे,सिरुपाते खुकुरी, खुडा, तरवार जस्ता विभिन्न खुकुरी उत्पादन गरिरहेको राज दर्नालले बताए । देश, विदेशमा पहिचान बनाएको खुकुरीले दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या भएको सञ्चालक दर्नालले बताए । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजार पाँच सय देखि अधिकतम रु २० हजारसम्म पर्ने गर्दछ । चीन निर्यात हुने खुकुरी नाका बन्द भएपछि ठप्प भएको उनको भनाइ छ । कोरोना पछि आर्थिक मन्दीले खुकुरीको ब्यापार समेत घटेको ब्यवसायीको भनाइ छ । राज खुकुरी उद्योगमा दैनिक चार पाँच जनाले रोजगारी समेत पाएका छन् । यहाँ उत्पादित खुकुरी कोशेलीको रुपमा सेना, प्रहरी लगायत सुरक्षा निकायहरूमा बिक्री हुने गरेको छ ।