अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

मंसिर ७ गर्ने भनेको आन्दोलन के हो ?

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १,

मुलुकमा विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन्। प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भनिएको छ। प्रसाईंनिकट व्यक्तिहरूले मंसिर ७ गतेको प्रदर्शनमा देश भरीबाट १० देखि १५ लाख व्यक्ति काठमाडौं उत्रिने दाबी गरेका छन्। ‘डेढ लाख हिजोआज नै काठमाडौं भित्रिसके, ७ गतेसम्म १५ लाख मान्छे काठमाडौँमा उत्रिसक्छन्,’ प्रसाईंका नातेदार समेत रहेका झापाका दिपेश प्रसाईंले भने, ‘हाम्रो अभियानसँग भारतमा रहेका नेपाली समेत आएर सहभागी हुँदै छन्।’ जसका लागि अहिले फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटकलगायत सबैतिर दर्जनौँ एकाउन्टमार्फत प्रसाईंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्। दिपेशले अभियानसँग ४ लाखभन्दा बढीले सदस्यता लिइसकेको पनि दाबी गरे । यस विषयमा हामीले व्यवसायी प्रसाईंसँग पनि सम्पर्क गर्ने कोशिस गर्दा उनी केही दिन ‘भ्वाइस रेस्ट’मा रहेको निकटस्थहरूले बताएका छन्। झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर यसअघि पनि अभियानको सुरुवात गरेका उनले हिन्दु राष्ट्र र सङ्घीयताको विपक्षमा उभिएका छन्। राजतन्त्रको पुनः स्थापनाका विषयमा भने उनले बेलाबेला बोली फेर्दै आएका छन्। यसबाहेक उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता, नेताका परिवार र केही ठूला व्यापारिक घरानाविरुद्ध विवादित बयानहरू दिँदै आएका छन्। जसमा उनले भ्रष्टाचार बढ्नु र मुलुकको आर्थिक मन्दीको कारक भन्दै ती व्यापारिक घराना र नेता रहेको दाबी गर्दै आएका छन्। प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित विभिन्न प्रदर्शन गरिरहेका छन्। जसलाई उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नाम दिएका छन्। मंसिर ७ गतेको प्रदर्शनका लागि प्रसाईंको सचिवालयद्वारा जारी प्रचार सामग्रीहरूमा यही कुराहरू उल्लेख गरेर प्रचार–प्रसार गरिएको छ। जसमा ‘गणतन्त्रको विकल्प सहितको भुइमान्छे, सर्वहारा वर्ग तथा नेपाली नागरिकको मुक्तिको लागि अन्तिम लडाई’ भनिएको छ। ती सामग्रीहरूमा ‘अब यो देशको राजा, प्रधानमन्त्री र मन्त्री को बन्छन् भनेर थाहा नभएको’ भन्दै १६ जना तस्कर माडकारीहरू, १० जना लुटेरा व्यापारीहरू र ३० जना भ्रष्ट नेताहरू कि त भाग्छन्, कि त सकिन्छन, कि त जेल जान्छन्’ भनेर प्रचार गरिएको छ। विवादित पृष्ठभूमिका प्रसाईं विगतमा नेकपा माओवादी केन्द्रमा रहँदा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र त्यसपछि नेकपा एमालेमा रहँदा एमाले अध्यक्ष केपी ओलीसँग निकट थिए। दुबै पार्टी एकीकरण हुँदा प्रसाईंले दाहाल र ओलीलाई आफ्नै घरमा बोलाएर चरेसको थालमा मार्सी भात खुवाएको तस्बिर भाइरल बनेको थियो। प्रसाईंले उठाएका अन्य एजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्म सापेक्ष मुलुक, सङ्घीयताको विकल्पहरू समेटिएका छन्। पछिल्लो समय दुबै पार्टी र नेतासँग असन्तुष्ट हुँदै प्रसाईं सडकमा आएका छन्। उनीमाथि विभिन्न बैङ्कबाट अर्बौँ ऋण लिएर नतिरेको पनि आरोप लाग्ने गरेको छ।

Like