कैलाली प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
रासंसा/कैलाली, कार्तिक २३,
मुलुकमा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १६ घसिँटाका ३१ वर्षीय कृष्णबहादुर सेटीको मृत्यु भएको हो । कृष्णको मृत्यु शङ्कास्पद भएको भन्दै छानविन गर्न मृतकका दाजु गणेश सेटीले माग गरेका छन् । उनले आफ्नो भाइमा कुनै दीर्घकालीन रोग नभएको बताए । बुधबार (कात्तिक २२ गते) थुनुवा कक्षमा रहेका कृष्णलाई कपडा समेत दिएर गएको थियौ गणेशले भने आज २३ गते (बिहीवार) मृत्यु भएको भनेर प्रहरीबाट जानकारी थाहा पायौं । सेटीलाई स्थानीय लालबहादुर थापाको कुटपिटबाट हत्या भएको अभियोगमा सोमबार (कात्तिक २० गते) प्रहरीले पक्राउ गरी थुनुवा कक्षमा राखी अनुसन्धान गरिरहेको थियो । बिरामी भएपछि अस्पतालमा लगिएको पछि उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी प्रबक्ता डीएसपी कुलदिप चन्दले बताए । थुनुवा कक्षमा मृत्युकोमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता चन्दले बताए । मृतक कृष्णको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्राविधिक अस्पतालमा राखिएको छ ।