नेपाली सेनाद्वारा बडादसैँका अवसरमा जेष्ठ नागरिकलाई भोजन

Share to:

रासंसा/बाँके, कार्तिक ८,

मुलुकमा बडादसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो । चाडबाडको अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताए । कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । “चाडपर्व भनेको आफन्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्त नभएकाहरुलाई आफन्तको कमी महसुस नहोस् भन्ने उद्देश्यले हामीले बडासैंका दिन भोजन गराएर आफ्नोपनको अनुभूति गराएका मात्र हौँ, उनले भने । उनले फजुल खर्च गरेर मनाइने जन्मदिन र वैवाहिक वर्ष गाँठबाट केही रकम छुट्टयाएर उक्त आश्रमलाई सहयोग गर्न नगरबासीलाई आग्रह गरे । कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुबेदीले आश्रम सञ्चालन गर्नु राज्यको दायित्व भए पनि यो काम नीलसागर आश्रमले निःस्वार्थ भावले गरेकाले उक्त संस्थालाई नगरपालिकाले पनि सहयोग गर्ने बताए ।बाँकेमा केन्द्रीय कार्यालयको रूपमा स्थापना भएको नीलसागर आश्रमका शाखाहरू काठमाण्डौ, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ्ग गरेर आठ जिल्लामा सञ्चालित छन् । कोहलपुर शाखामा रहेका २८ जना जेष्ठ नगरिकलाई नेपाली सेनाले बडा दसैंको दिन भोजन खुवाउनाका साथै राप्तिसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जयवागेश्वरी आश्रमका १२ बालबालिकालाई पनि भोजन गराएको थियो।

Like