मुख्यमन्त्री कार्की विश्वासको मत लिने तयारीमा, कोशी प्रदेश सभा बैठक बस्दै
रासंसा/मोरङ, कार्तिक १,
मुलुकमा कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्। आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्। कोशी प्रदेशको आठौं मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेसका सांसद कार्की असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका थिए। प्रदेश सभाको बैठक आज बिहान ११ बजेका लागि बस्ने बताइएको छ। आजको बैठकमा विश्वासका मत लिनका लागि मुख्यमन्त्री कार्की निरन्तर छलफलमा थिए। नेपाली काँग्रेसलगायतको चार दलिय गठबन्धनको निर्णयविरुद्ध कार्कीले विद्रोह गरी काँग्रेसका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गठबन्धन दलहरूले नेकपा माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए।