नेपाल भोकमरी सूचीमा सुधारिँदै

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २७,

मुलुकमा विश्व भोकमरी सूचकांक ‍(ग्लोबल हंगर इन्डेक्स)–२०२३ मा नेपाल ६९औं स्थानमा छ। शुक्रबार सार्वजनिक भएको ग्लोबल हंगर इन्डेक्सको १६औं संस्करणमा समेटिएका १ सय २५ देशमध्ये विश्वव्यापी भोकमरीको स्थिति जनाउने सूचकांकमा नेपाल सुधारिएर उक्त स्थानमा पुगेको हो। गत वर्षको तुलनामा नेपाल ११ तहमाथि उठेको छ । किनभने ग्लोबल हंगर इन्डेक्स–२०२२ मा १ सय २१ देशमध्ये नेपाल ८१औं स्थानमा थियो। अझ यसअघि सन् २०२१ मा नेपाल ११६ देशमध्ये ७६औं स्थानमा थियो। यो प्रतिवेदन सन् २००० देखि नियमित प्रकाशन गरिँदै आएको छ। यसले नेपालले बितेका वर्षमा भोकमरीको स्थितिमा ठूलो सुधार गरेको देखिन्छ। सन् २००० मा ३७ अंकसहित नेपालको भोकमरीको स्थिति गम्भीर थियो। यो अहिलेसम्म आइपुग्दा १५.० अंकमा ओर्लिएको छ। यस वर्षको तथ्यांकमा नेपालले पाएको यो अंकले भोकमरीको स्तर मध्यम छ भन्ने उल्लेख गर्छ। बालबालिकाको पोषणसम्बन्धी तथ्यांकमा आधारित भएर देशको स्तर निर्धारण हुन्छ। अल्पपोषित वा न्यूनपोषित दर, कुपोषण, बालबालिकाको उमेरअनुसार तथा उचाइअनुसार तौल नहुने र बालमृत्युदरमा आधारित तथ्यांकका आधारमा यस्तो सूची तयार पारिएको उल्लेख छ। यसअघि सन् २००२ मा नेपालको अवस्था जोखिमपूर्ण थियो। नेपालले जोखिमपूर्ण अवस्थाबाट निरन्तर सुधार गर्दै आएको तथ्यांकमा उल्लेख छ। किनभने नेपाल सन् २०१५ मा ७८औं स्थानमा थियो। जबकि अहिले यो सूचीमा पहिलो स्थानमा नामिबिया छ। नेपालपछि दक्षिण एसियाअन्तर्गत बंगलादेश ८१औं स्थानमा, पाकिस्तान १०२औं स्थान, भारत १११, अफगानिस्तान ११४औं स्थानमा छन्। भोकमरी सूचकांक ० देखि १०० को बीचमा हुन्छ। यो अंक जति कम भयो उति भोकमरी कम रहेको जनाउँछ। अंक बढ्दै जाँदा भोकमरीको स्थिति गम्भीर रहेको बुझिन्छ। अर्थात्, जसको अंक धेरै हुन्छ, त्यो देशमा भोकमरीको अवस्था खराब रहेको मानिन्छ। ग्लोबल हंगर इन्डेक्स अलायन्सनामक एक समूहले तयार पारेर उल्लेख गरेकोे तथ्यांकअनुसार नेपाल भारतभन्दा मजबुत स्थानमा देखिएको हो। भारत १११औं स्थानमा देखिनु भनेको भोकमरीले आक्रान्त मुलुकमध्येमा परेको औंल्याइएको छ। तर छिमेकी मुलुकको भन्दा कमजोर स्थान परेको यो प्रतिवेदन सार्वजनिक भएपछि भारतीय सरकारले वास्तविक तथ्यांक नआएको भन्दै आपत्ति जनाएको विभिन्न भारतीय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको छ। उनले प्रशंसा गर्दै भने, ‘गत साल मात्र भोक सूचकांको तहमा बिश्वका देशहरूको तुलनामा ८१औं स्थानमा रहेको नेपाल यस बर्ष सुधार गरेर ६९औंमा पुगेको छ।’ कृषि तथा खाद्य विज्ञ शर्माकाअनुसार खाद्यको अपर्‍याप्तता, ५ बर्ष मुनिका बच्चामा पोषणको कमि र बच्चाको मृत्यु दर गरी तीन पक्षलाई आधार मानेर गणना हुने भोक सूचकांकमा नेपालले २० भन्दा तलको स्केल पाउनुको अर्थ १० मध्यम स्तरको भोकको अवस्थामा छ भन्ने बुझिन्छ। नेपालले भोक सूचकांकमा सुधार गर्नुको अर्थ खाद्य उपलब्धता, बच्चामा कुपोषण दर वा बाल मृत्युदरमध्ये कुनैमा वा सबैमा सुधार गरेको भनेर बुझिने कृषि तथा खाद्यविज्ञ जीवनाथ शर्मा बताउँछन्। यस हिसाबले दक्षिण एसियामा यस वर्ष तुलनात्मक हिसाबले राम्रो अवस्थामा देखिएको उनको भनाइ छ। कृषि तथा खाद्यविज्ञ शर्मा नेपालले गत २३ वर्षमा विश्व भोक सूचकांकमा निरन्तर प्रगति गरिरहेको औंल्याउँछन्। शुन्यदेखि सयको स्केलमा गणना हुने भोक सूचकांकमा शुन्यको अर्थ पर्याप्त खाध्य उपलब्ध र भोकको अवस्था नभएको बुझिन्छ भने १०० स्केलको अर्थ उच्च स्तरको भोकमरी भन्ने हुन्छ,’ उनले जानकारी दिए।

Like