सरकार समाजवादी मोर्चाले चलाउँछ कांग्रेसका मन्त्री फिर्ता बोलाऊँ, गगन थापाको प्रस्ताव

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १४,

मुलुकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन्। कांग्रेस रुपान्तरण अभियानले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’नेतृत्वमा रहेका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाएर समाजवादी मोर्चालाई सरकार चलाउन दिन प्रस्ताव गरेका हुन्। ‘यो दुई अढाई वर्ष उहाँहरुले सरकार चलाउने भन्ने सहमति भएको छ। पहिला प्रचण्ड जी, त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ। उहाँहरु एउटै मोर्चा पार्टी पनि एउटै बनाउने भन्नुभएको छ। पार्टी एउटै बनाउने भन्ने छ। मलाई लाग्छ कांग्रेसको सबै मन्त्रीहरु फिर्ता बोलाऔं। दुई अढाई वर्ष उहाँहरुलाई एक्लै चलाउन दिऔं। हामी बाहिर बसेर समर्थन गरौं।’ थापाले भने,‘प्रधानमन्त्री को कति समय बन्ने प्रधानमन्त्री प्रचण्डजी र माधवजीहरु आफैँ तय गर्नुहुन्छ।’ उनले गठबन्धनभित्र नयाँ बहस चलाउनुपर्ने धारणा राखे। थापाले गठबन्धनमा सहमति भए अनुरुप प्रचण्ड पछि बन्ने माधवकुमार नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने तर कांग्रेस उक्त सरकारमा नजाने प्रस्ताव गरेका छन्। थापाले नेपालपछि कांग्रेसले नेतृत्व गर्ने अढाई वर्षको समयमा कांग्रेस एक्लैले सरकार चलाउन पाउनुपर्ने सर्त राखे। थापाले राष्ट्रपतिले आममाफी कानुनको दुरुपयोग भइरहेको भन्दै आपत्ति जनाए। उनले सबै पार्टीको सरकार हुँदा जस–अपजसको भागीदार कोही नहुने अवस्था आएको दाबी गरे।‘साढे दुई वर्ष कांग्रेस एक्लैले सरकार चलाउँछ। त्यसपछि मात्र जसअपजसको कुरा आउँछ। नयाँ संस्कार बसाऔं। बाहिरबाट असहमति जनाउने ठाउँमा अहसमति र सहमतिको ठाउँमा सहमति जनाउँ तर सरकार एक्ला–एक्लै चलाउँ।’ ८४ सालको चुनावमा गठबन्धन नहुने बताउँदै थापाले कसैले गठबन्धन गर्छु भन्यो भनेर बहस गर्नु नपर्ने धारणा राखे। थापाले अहिलेको तरिकाले कसैले पनि सरकारले गरेका गलत कदम र निर्णयको जिम्मा सरकारमा सहभागी अर्को दलले बोकेर हिड्न नसक्ने बताए। प्रदेशमा पनि यहि ढंगले सरकार चलाउँदा राम्रो हुने थापाको तर्क थियो। समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा समावेश छन्।

Like