यो तरिकाबाट अर्थतन्त्र कसरी सबल हुनसक्छ ? ओलीको प्रश्न

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ९,

मुलुकमा ‘म प्रधानमन्त्री हुँदा ९ लाख मानिसहरूको जीवनमा परिवर्तन आएको थियो र निरपेक्ष गरिबीको रेखामुनिबाट माथि उठेका थिए, बाहिर जाने श्रमशक्ति १८ प्रतिशतले घटेको थियो ।’ प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको तर त्यसमा सुधारका लागि सरकारले कदम नचालेको बताएका छन् । अर्थतन्त्र उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको बताउँदै उनले यस्तो अवस्थाले कसरी अर्थतन्त्र सबल हुन्छ भन्ने प्रश्न गरेका छन् । काठमाडौंमा मंगलबार ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रिया कार्यक्रममा ओलीले अर्थतन्त्रको अवस्थाबारे बुझ्न सरकारको नेतृत्वलाई फुर्सद नै नभएको बताए । एमालेले आगामी दिनमा अर्थतन्त्रको अवस्थाबारे बहस र छलफल गर्ने पनि उनले बताए । ओलीको प्रश्न : यो तरिकाबाट अर्थतन्त्र कसरी सबल हुनसक्छ ? ‘हामी सरकार, राष्ट्र बैंकसँग पनि कुरा गर्छौं । राष्ट्र बैंकले बैंकहरूलाई निर्मम साहुजी बनाउने होइन । उद्यम, विकासका सहयोगी संस्थाका रुपमा विकास गर्नुपर्छ, परिचालन गर्नुपर्छ । उचित ब्याजदर कहिले-कहिले कुनै कारणले ब्याजदर बढ्छ भने पनि सधैँ त्यसलाई आधार बनाएर लैजान सकिँदैन । ब्याजदर फेरि घटाउनुपर्छ । १५ प्रतिशत ब्याजमा ऋण लिएर तीन-तीन महिनामा मिटरब्याजी, त्यति चर्को ब्याजमा पैसा लिएर कुनै काम कसैले सुरु गर्‍यो भने के प्रतिफल आउँछ ? पाँच वर्षसम्म काम गर्नुपर्छ । त्यतिबेलासम्म तिर्नै नसक्ने गरी ढाड सेकाइएको हुन्छ । उत्पादन सुरु नै भएको हुँदैन । उत्पादन नभई रिटर्न कहाँबाट गर्छ ?,’ उनले भने, ‘त्यस्ता कुरामा व्यवहारिक ढंगले लैजानु पर्दछ । पहिलो कुरा त सरकार यी सबै कुरा बुझ्ने हैसियतमा हुनुपर्‍यो । त्यो बुझ्ने ल्याकत सरकारमा छैन । सरकारमा त्यो प्रतिबद्धता हुनुपर्‍यो । चिल-चिल भन्दै गर्ने, यतापट्टै कुखुरा चोर्दै गर्ने प्रवृत्तिबाट, भ्रष्टाचार कसैको पनि भए सहन्न भनेर यतातिर उफ्रियो, यतातिर तस्करीको लाइन चलाएर, यो तरिकाबाट अर्थतन्त्र कसरी सवल हुनसक्छ ?’ आफू पछिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकको अर्थतन्त्रमा सुधार रहेको ओलीको दाबी थियो । उनले आफ्नो कार्यकालमा आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुगेको बताए । उनले २०७६ मा निर्यात बढेको र आयात घटेको बताए । ‘म प्रधानमन्त्री हुँदा ९ लाख मानिसहरूको जीवनमा परिवर्तन आएको थियो र निरपेक्ष गरिबीको रेखामुनिबाट माथि उठेका थिए । बाहिर जाने श्रमशक्ति १८ प्रतिशतले घटेको थियो । यही मान्छेहरू आफ्नो व्यवसाय गर्न थालेका थिए । रेमिटेन्स बढेको थियो । यस्ता थुप्रै कामहरू हामीले गरेका थियौं ।’ अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभए पनि २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने हो कि भन्ने चिन्ता लागेको पनि बताए । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उनले दाबी थियो । ‘कतिपयलाई फेरी लाग्छ सक्छ एमालेलाई सरकारमा जान हतार भएछ कि क्या हो ! हतार होइन । एमालेलाई सरकारपट्टी वास्ता पनि छैन, चिन्ता पनि छैन,’ उनले भने, ‘हामी मिसन २०८४ मा लागेका छौं । चुनावकै हिसाबले, सरकारकै हिसाबले भन्नुहुन्छ भने मिसन २०८४ मा लागेका छौं । तर हामी के देखिरहेका छौं भने २०८४ को चुनावसम्म पुग्दाखेरी देशमा कुनै उद्योग भन्ने चिज रहन्छ ? रहँदैन ।’

Like