राष्ट्रपति रामचन्द्र पौडेलको भनाई सामाजिक सञ्जालबाट सिर्जना हुने अन्योल प्रेसले चिर्नुपर्छ

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ६,

मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिलले निष्पक्ष र स्वतन्त्र रहँदै सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। प्रेस काउन्सिल नेपालको ५४औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौँ कष्टले बितेको बताए। निष्पक्ष, स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि प्रेस स्वतन्त्रताका पक्षमा अटल विश्वास र समर्पण सधैँ रहँदै आएको उनको भनाइ थियो । ‘सामाजिक सञ्जालको तिव्र विकास र प्रयोगसँगै नागरिकलाई दिग्भ्रमित पार्ने विषयवस्तुले कतिपय बेला अन्योल सृजना भइरहेको भन्ने गुनासो सरोकारवालाले गरेको पाइन्छ’, राष्ट्रपति पौडेलले भने, ‘यस्तो अवस्थामा सामाजिक सञ्जालबाट सृजना हुने अन्योल समेत प्रेसजगत्ले चिर्ने गरी सूचना प्रवाह गर्नुपर्ने दायित्व थपिएको छ ।’ उनले राम्रो काम गर्ने पत्रकारलाई पुरस्कृत, सम्मान गर्ने र गर्न नसक्नेलाई राम्रो गर्नेतर्फ उत्प्रेरित गर्ने स्वायत्त संस्था प्रेस काउन्सिल भएकाले आगामी दिनमा थप सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गरे। ‘समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता तथा मर्यादा कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग होस् भनेर लोकतन्त्रमा काउन्सिलजस्ता निकाय स्थापना गरी आचारसंहिता तोक्ने, कार्यान्वयन भए/नभएको अनुगमन गर्नेलगायत जिम्मेवारी बहन गर्दै आइरहेका छन्’, राष्ट्रपति पौडेलले भने। प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिलले निष्पक्ष र स्वतन्त्र रहँदै सृजनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सृजना गरी यस क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन स्थापित काउन्सिलले आज स्थापना दिवस मनाइरहेकामा राष्ट्रपति पौडेलले खुसी व्यक्त गर्नुभयो । ‘लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रूपमा लिइन्छ, कुनै पनि मुलुकको लोकतन्त्र कति सुदृढ छ भन्ने विषय त्यस देशको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाले निर्धारण गरेको हुन्छ’, उनले भने, ‘तसर्थ हाम्रो संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रुपले प्रत्याभूत गर्ने व्यवस्था गरिएको हो ।’

Like